Comments Add Comment

अमेरिकाको आणविक बम आक्रमणबाट बचेको जापानको सहर

काठमाडौं । अहिले जापानको कोकुरा सहर अस्तित्वमा छैन । यो सहर सन् १९६३ मा अन्य सहरसँग मिलाएर किटाक्युसु सहर बनेको छ । यहाँको जनसंख्या १० लाखभन्दा केही कम छ । यो सहर किटाक्युसु सहरमा परिणत हुनुभन्दा दुई दशक पहिला नै अस्तित्व मेटिन सक्ने त्रासादीपूर्ण घटनाबाट बचेको थियो । अहिले पनि यहाँका मानिसहरुको मानस्पलटमा उक्त अवस्था ताजै छ ।

कोकुरा सन् १९४५ मा जापान परमाणु बम विष्फोटको लागि अमेरिकाले छानेको सहरमध्येको एक थियो । तर, यो सहर चामत्कारिक ढङ्गले दोस्रो विश्वयुद्धको क्रममा ध्वस्त हुनबाट बचेको थियो । अगष्ट ९ मा कोकुरामा बम खसाल्ने तयारी भइरहेको थियो । त्यसको ठीक तीन दिन पहिला हिरोसिमामा पनि सोही किसिमको पारमाणविक बम खसालिएको थियो ।

केही कारणले उक्त विनाशकारी बम कोकुरामा खसालिएन । त्यसैले यो बम खसाल्नका लागि वैकल्पिक स्थानको रुपमा नागासाकीलाई रोजियो । अनुमान गरिएअनुसार हिरोसिमामा गरिएको बम विष्फोटमा एक लाख ४० हजार र नागासाकीमा गराइएको विष्फोटमा ७४ हजार मानिसको मृत्यु भएको थियो । साथै हजारौं मानिसहरुले त्यसपछिको लामो समयसम्म उक्त बमबाट उत्पन्न भएको रेडिएशनको असरको सामना गरेका थिए ।

‘लक अफ कोकुरा’ अहिले जापानको लागि एक किंवदन्ती बनेको छ । यद्यपि त्यतिबेला निकै ठूलो नराम्रो समयबाट कोकुरा बचेको थियो ।

कोकुरामा के भएको थियो ?

बादल र धुवाँ

सन् १९४५ को जुलाईको मध्यमा अमेरिकी सेनाका अधिकारीहरुले परमाणु बम खसाल्न सकिने केही सहर छानेका थिए । यी सहरमा कारखाना र सैन्य अड्डा थिए । प्राथिमकतामा कोकुरा हिरोसिमाभन्दा पछि थियो । अर्थात् हिरोसिमामा परमाणु बम खसालिएपछिको पालो कोकुराको थियो ।

कोकुरा हतियार उत्पादनको ठूलो केन्द्र थियो । यहाँ जापानको ठूला र धेरै गोला–बारुद बनाउने कारखाना थियो । कोकुरामा जापानको सेनाको ठूलो स्टोर पनि थियो ।

६ अगष्टमा नै ‘फ्याट म्यान’ नामक परमाणु बम तयार पारिएको थियो । हिरोसिमामा खसालिएको ‘स्मल ब्वाई’ नामक परमाणविक बम विष्फोटको प्रयास असफल भए यसको प्रयोग गर्ने गरी यो बम तयार पारिएको थियो ।

त्यसको तीन दिनपछि बी–२९ बमवर्षक बिहानै कोकुरामा बम खसाल्न उडेको थियो । यो बमवर्षक विमानमा ‘फ्याट म्यान’ नामको परमाणविक बम थियो । यो प्लुटोनियम बम हिरोसिमामा खसालिएको युरेनियम बमभन्दा पनि शक्तिशाली थियो । तर, कोकुरामा बादल लागेको थियो । धुँवा पनि प्रशस्तै देखिएको थियो । एक दिनअघि छिमेकी क्षेत्रमा भएको बमबारीको कारण उक्त क्षेत्र धुँवाले ढाकिएको थियो ।

केही इतिहासकारले भने जापानमा निरन्तर हवाई आक्रमण भइरहेको कारण कोकुराले जानेरै कोइला बालेको थियो । सहरलाई धुवाँले ढाकोस् र आक्रमणबाट बच्न सकियोस् भन्ने उनीहरुको उद्देश्य थियो ।

अमेरिकी सैन्य दस्तावेज र विमानमा बसेका न्युयोर्कका पत्रकार विलियम लोरेन्सको प्रतिवेदन अनुसार बी–२९ बमवर्षकले तीनपटक कोकुरालाई घुमेको थियो । तर पनि बम खसाल्न भने सकेन । धेरैभन्दा धेरै क्षति गराउन सकियोस् भन्ने ध्येयको कारण लक्ष्य देखिए मात्र बम खसाल्ने आदेश थियो ।

अर्को समस्या जमिनमा रहेका सेनाले विमान देखिसकेका थिए र उनीहरुले विमानमा गोली हान्न शुरु गरेका थिए । त्यसपछि विमान उडाइरहेका मेजर चाल्र्स स्वीनीले नागासाकीतर्फ जाने निर्णय गरे र कोकुरा आक्रमणबाट बच्यो ।

यसअघि पनि बचेको थियो कोकुरा

अमेरिकाका विमानले सन् १९४५ को मार्चदेखि नै जापानमा निरन्तर आक्रमण गरिरहेका थिए । उनीहरुले विमानबाट आगो फैलाउने बम फ्याँकिरहेका थिए । एक अनुमानका अनुसार मार्च ९ मा टोकियोमा गरिएको आक्रमणमा एकैरात ८३ हजारभन्दा धेरै मानिसको मृत्यु भएको थियो र १० लाखभन्दा धेरै मानिसहरु घरबारविहीन भएका थिए ।

यद्यपि बी–२९ बमवर्षक कोकुरा पुग्दा यो सहरमा त्यस किसिमको कुनै आक्रमण त्यसअघि भएको थिएन । परमाणु बमको सम्भावित लक्ष्यमा आगो लगाउने आक्रमण गरिएको थिएन । त्यसैले कोकुरालाई यसअघि पनि बचाएर राखिएको थियो ।

यी सहरहरुलाई बचाउनुको कारण पारमाणविक हतियारबाट हुने क्षतिको आकलन राम्रोसँग गर्न सकियोस् भन्ने थियो ।

राहत पनि दुःख पनि

अगष्ट १५ मा सम्राट हिरोहितोले विना कुनै शर्त जापानको आत्मसमर्पणको घोषणा गरे । कोकुरा विनाशबाट बचेको थियो । तर, मानिसहरुमा भने डर अझै पनि थियो ।

नागासाकीमा खसालिएको बम पहिला कोकुरामा खसाल्ने प्रयास गरिएको थियो भन्ने समाचार आउँदा त्यहाँका मानिसहरुलाई राहत महसुस भएको थियो । तर, राहतका साथै नागासाकी ध्वस्त हुँदाको दुःख र सहानुभूति पनि थियो ।

अहिले किटाक्युसुमा एक नागासाकी परमाणु बम स्मारक छ । यो स्मारक पहिलाको स्टोरस्थित मैदानमा बनाइएको पार्कमा छ । स्मारकमा बमबाट बच्ने सहरको भाग्य र नागासाकीको दुर्दशा दुवैको वर्णन गरिएको छ ।

दुवै सहरको बीचमा दशकौँदेखि मैत्रीपूर्ण सम्ब्न्ध रहँदै आएको छ । साथै यी दुवै सहरका मानिसहरु आफूहरुको भाग्य कतै न कतै जोडिएको मान्दै आएका छन् । गत वर्ष किटाक्युसु सहरका प्रवक्ताले कोकुरामा खसालिनुपर्ने बम नागासाकीमा खसालिएको तथ्य रहेको उल्लेख गरेका थिए ।

यद्यपि किटाक्युसुले आफ्नो भविष्यमा पनि ध्यान दिएको थियो । जापानको पुनर्निर्माणको क्रममा यो औद्योगिक सहर अत्यधिक प्रदूषित भएको थियो । तर, अहिले यो सहर एसियाको सबैभन्दा हरिभराउ भएको सहरमध्येको एक हो ।

स्रोत : बीबीसी    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment