News Summary
Generated by OK AI. Editorially reviewed.- जापानस्थित नेपाली दूतावासले २७ असोजदेखि निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) मागपत्र प्रमाणीकरण सुरु गरेको छ।
- एसएसडब्लू अन्तर्गत १६ क्षेत्रमा सिपयुक्त श्रमिक लैजाने व्यवस्था रहेको छ जसमा नर्सिङ केयर, कन्स्ट्रक्सन र मत्स्यपालन समावेश छन्।
- नेपाल र जापानबीच सन् २०१९ मा एसएसडब्लू सम्झौता भए पनि मागपत्र प्रमाणीकरण सुरु नभएसम्म कामदार पठाउन सकिएको थिएन।
११ कात्तिक, काठमाडौं । जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु गरिएको छ ।
जापानस्थित नेपाली दूतावासले २७ असोजदेखि मागपत्र प्रमाणीकरण सुरु गरेको जनाएको हो ।
निश्चित सिपयुक्त श्रमिक ल्याउने सम्बन्धमा प्रचलित कानुन, नियमावली, निर्देशिका र अन्य सम्बन्धित कानुनी प्रावधान, विधि र प्रक्रिया बमोजिम मागपत्र प्रमाणीकरण गर्ने कार्य सुरु गरिएको दूतावासले जनाएको हो ।
मागपत्र प्रमाणीकरणका लागि आवश्यक कागजात दूतावासको वेबसाइटबाट लिन सकिने र सोही अनुसार निवेदन पेस गर्न दूतावासको अनुरोध थियो ।
एसएसडब्लू अन्तर्गत विभिन्न १६ क्षेत्रमा सिपयुक्त श्रमिक लैजाने गरिएको छ । नेपालबाट समेत लामो समयदेखि एसएसडब्लू अन्तर्गत श्रमिक पठाउने विषयमा पहल हुँदै आएको थियो ।
एसएसडब्लू अन्तर्गत नर्सिङ केयर, बिल्डिङ क्लिनिङ, इन्डस्ट्री मेसिनरी, कन्स्ट्रक्सन, सिपबिल्डिङ, एभिएसन, हस्पिटालिटी, एग्रिकल्चर तथा मत्स्यपालन, अटोमोबाइल, पेय पदार्थ उत्पादन उद्योग, खाद्य सेवा उद्योग लगायत क्षेत्रमा सिपयुक्त रोजगारी छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्ष भुवनसिंह गुरुङले पनि दूतावासले मागपत्र प्रमाणीकरण गर्न सुरुवात गरेको बताए । मागपत्र प्रमाणीकरण सुरु गरेसँगै जापान जाने कामदार ठगीमा पर्ने समस्याबाट बच्ने उनको भनाइ छ ।
जापानले एसएसडब्लू अन्तर्गत भारत, फिलिपिन्स लगायत देशबाट धेरै श्रमिक लैजाने गरेको छ । नेपाल र जापानबीच सन् २०१९ मा एसएसडब्लू मार्फत कामदार लैजाने विषयमा सम्झौता भएको थियो । तर, हालसम्म कामदार पठाउन सकिएको थिएन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माघ २०८१ मा कार्यविधि बनाएर स्वीकृत गरेको थियो । तर, मागपत्र प्रमाणीकरण हुन सकेको थिएन ।
अब मागपत्र प्रमाणीकरण सुरु भएसँगै नेपाली श्रमिकहरूले जापानमा राम्रो सेवा सुविधामा काम गर्न पाउने अध्यक्ष गुरूङको भनाइ छ ।
प्रतिक्रिया 4