Comments Add Comment

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

२६ साउन, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।

मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

योसँगै साउनमा मात्रै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा ४५ वर्षीया महिलाको मृत्यु भएको थियो । आइतबार उनको स्वाब निकालेर पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

पहिलेदेखि नै उच्च रक्तचाप र थाइराइडको विरामी उनलाई श्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो । गम्भिर अवस्थामा अस्पताल ल्याइएकाले विरामीलाई बचाउन नसकिएको डा. सिंह बताउँछन् ।

‘अवस्था बिग्रेपछि अन्तिम अवस्थामा मात्रै अस्पताल ल्याउने क्रम बढेको छ । राम्रोसँग उपचार गर्न नपाउँदै विरामीको मृत्यु भइसक्छ,’ उनले भने, ‘समयमै अस्पतालमा ल्याएको खण्डमा आईसीयु र भेन्टिलेटरमा राखेर भए पनि ज्यान जोगाउन प्रयास गर्न सकिन्थ्यो ।’

अस्थायी कोभिड विशेष अस्पतालमा शंकास्पद केसका लागि ६ वेड क्षमताको आकस्मिक कक्ष बनाइएको छ । श्वास प्रश्वासमा समस्या देखिएपछि विरामीलाई वीरगञ्जका अन्य निजी अस्पतालले भर्ना लिने गरेका छैनन् । अन्त्यमा कोभिड अस्पतालमा पुगेर विरामीले प्राण त्याग गर्ने गरेका छन् ।

४५ वर्षीया महिलाको मृत्यु भएसँगै वीरगञ्जमा साउन महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १८ पुगेको छ । वीरगञ्जमा फेला परेको एउटा बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । बाराका २ जना र रौतहटका १ जनाको पनि उपचारको क्रममा वीरगञ्जमै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment