Comments Add Comment

खेलकुद क्षेत्रमा भित्रियो कोरोना, पदाधिकारी सम्मान थाप्नमै व्यस्त

२६ साउन, काठमाडौं । एक दिनअघिसम्म खेलकुद क्षेत्रलाई कोरोनाले छुँदैन भन्ने प्रश्न थियो । आइतवार स्क्वास प्रशिक्षक हिरा थापालाई कोरोना संक्रमण देखिएपछि अब खेलकुद क्षेत्र पनि कोरोनाबाट जोगिन सकेन ।

कोरोना महामारीले गर्दा नेपाली खेलकुद क्षेत्र मैदानभित्र ठप्प रहेको बेला मैदानबाहिर भने निकै चलमलाएको थियो । नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि राष्ट्रिय खेलकद परिषदको उपाध्यक्ष र सदस्य सचिव नियुक्तिदेखि केही सदस्यको मनोनयनसमेत भइसकेको छ ।

अनि अहिले उनीहरु सम्मान थाप्ने कार्यक्रममा सरिक हुन थालेका छन् । के खेलकुदलाई कोरोनाले छुँदैन ? भनेजस्तै उनीहरु कोरोनालाई नै च्यालेन्ज गर्दै सामूहिक कार्यक्रममा जमघट हुन थालेका छन् ।

आइतबारै मात्र नेपाल बक्सिङ संघले राखेपको नवनियुक्त उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव रमेश सिलवाल लगायतलाई बधाई र सम्मान गर्न कार्यक्रम आयोजना गर्यो । त्यही दिन बेलुका उता स्क्वास प्रशिक्षक हिरा थापालाई भने कोरोना संक्रमण भएको पुष्टि भयो ।

आफ्नै संघको उपाध्यक्षसँग हिरा स्क्वास खेलिरहन्थे । उपाध्यक्षलाई कोरोना संक्रमण भएपछि अरु ८–९ जनाले परीक्षण गराउँदा आफूमा कोरोना पोजेटिभ देखिएको हिराले बताए । यसअघि परिवारसँग बस्दै आएका हिरा अब भने छुट्टै आइसोलेसनमा बस्न थालेका छन् । अभ्यास गर्ने क्रममै हिरालाई कोरोना भयो ।

तर खेल क्षेत्रका ठूला पदाधिकारीहरु भने अहिले कोरोनालाई च्यालेन्ज गर्दै सार्वजनिक कार्यक्रमहरुमा उपस्थित भएर भाषण गर्ने गरिरहेका छन् । फेरि भाषणमा यस्तो गर्छु, यस्तो गर्छु, भन्न पनि छुटाउँदैनन् । कोरोना संक्रमण फैलिन नदिन नेपाल सरकारले विश्व स्वास्थ्य संगठनले सामाजिक दूरी कायम गर्न र मास्क लगाउन बारम्बार भनिरहेको छ । तर कतिपय कार्यक्रममा खेल पदाधिकारीहरु मास्क नै लगाउँदैनन् । सामाजिक दूरी कायम त परेको कुरा ।

राखेप उपाध्यक्ष, सदस्य सचिव र सदस्यहरुलाई बधाई तथा सम्मान गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले साउन १९ गते एन्फा कम्प्लेक्स सातदोबाटोमै कार्यक्रम आयोजना गरेको थियो । जहाँ बाक्लो संख्यामा खेल पदाधिकारी र एन्फा पदाधिकारीको उपस्थिति थियो । सदस्य सचिव रमेश सिलवालले उक्त कार्यक्रममा करिब २० मिनेट भाषण गरे । त्यहाँ सामूहिक फोटो खिचाउनेहरुको पनि ठूलै भिड थियो ।

त्यसको अघिल्लो दिन मात्र नेपाल भलिबल संघले सदस्य सचिव सिलवाल लगायत सदस्यहरुलाई नक्सालस्थित क्राउन प्लाजा होटलमा सम्मान गर्यो । त्यहाँ पनि खेल पदाधिकारीको भिड थियो । फोटो खिचाउने बेला पनि सामाजिक दूरी कायम गरिएन ।

साउन १९ गते नै नेपाल ब्याडमिन्टन संघले राखेप सदस्यमा मनोनित भएका आफ्ना उपाध्यक्ष सुवास श्रेष्ठलगायतलाई बधाई दिन त्रिपुरेश्वरस्थित राखेप हलमा कार्यक्रम आयोजना गरेको थियो ।

यस्तै साउन २२ गते नेपाल अटोमोबाइल्स संघले पनि राखेप पदाधिकारीलाई सम्मान गरेको थियो । त्यहाँ पनि सामाजिक दूरी कायम थिएन । २२ गते नै आइटिएफ तेक्वान्दोले आफ्नो वार्षिकोत्सव मनाउने क्रममा विभिन्न खेलाडी प्रशिक्षकलाई सम्मान गर्यो ।

नेपाल सरकारले साउन १२ गते शिव कोइरालालाई राखेप उपाध्यक्ष र रमेश सिलवाललाई राखेप सदस्य सचिव नियुक्त गरेपछि खेलकुद क्षेत्र मैदान बाहिर चलायमान देखिन थालेको हो । नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि अहिले कार्यकारी निकाय राखेपमा पदाधिकारी नियुक्ति हुने क्रम चलिरहेको छ ।

साउन १४ गते राखेप उपाध्यक्ष र सदस्य सचिवले सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा पद तथा गोपनियताको सपथ लिने कार्यक्रममा पनि खेल पदाधिकारीको बाक्लै उपस्थिति थियो ।

त्यही दिन त्रिपुरेश्वरस्थित राखेप परिसरका उपाध्यक्ष र सदस्य सचिवलाई माला र खादा लगाइदिएर स्वागत गर्नेको भिड नै थियो । सयौँको संख्यामा त्यहाँ राखेप कर्मचारी र कार्यकर्ताहरु थिए । उनीहरुले पदभार ग्रहण गरेपछि पत्रकार सम्मेलनमा पनि बाक्लो संख्यामा उपस्थिति थियो ।

यस्तै साउन १६ गते नेपाली कांग्रेसको खेलकुद विभागले सानेपास्थित पार्टी कार्यालयमा १३औं सागको स्वर्ण पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गर्यो । स्वर्ण जित्ने खेलाडी नै ८० को हाराहारीमा रहेकाले त्यहाँ खेलाडीहरु पनि धेरै उपस्थित थिए । यस्तै पार्टीका नेता कार्यकर्ता र खेल पदाधिकारीहरु पनि त्यहाँ पुगेका थिए ।

अहिले कोरोना संक्रमण काठमाडौंमा झन् व्यापक रुपमा फैलिरहेको छ । यस्तो अवस्थामा खेल पदाधिकारी भने विभिन्न सम्मान कार्यक्रम गर्दै नियम तोड्दै सामूहिक रुपमा फोटो खिचाउँदै हिँडेका छन् । अझ उनीहरु त्यस फोटो सगौरव फेसबुकमा पोष्ट गर्न पछि पर्दैनन् ।

खेल संघहरुलाई नियम सिकाउने राखेपका पदाधिकारीहरु नै अहिले त्यही संघले आयोजना गरेको सम्मान कार्यक्रममा जान हौसिरहेका छन् । सम्मान थाप्ने र केही मिनेट भाषण गर्नेहरुले कोरोना संक्रमणबाट जोगिन सजग हुनुपर्छ भन्ने विषयलाई खासै चासो दिएको देखिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment