Comments Add Comment

सुदूरपश्चिममा आत्महत्या गर्नेको संख्या बर्सेनि बढ्दो

पाँच वर्षमा २,३८८ ले गरे आत्महत्या

२६ साउन, डोटी । आर्थिक वर्ष २०७६/०७७ को तथ्यांक हेर्दा सुदूरपश्चिम प्रदेशमा ५ सय ५१ जनाले आत्महत्या गरेका छन् । यो संख्या अघिल्लो वर्षको भन्दा ७३ ले बढी हो ।

प्रहरीसँग रहेको बिगत पाँच वर्षको तथ्यांक अनुसार यस प्रदेशमा आत्महत्या गर्नेको संख्या बर्सेनि बढ्दै गएको छ ।

झुण्डिएर आत्महत्या गर्नेको संख्या झण्डै ७५ प्रतिशत अर्थात चार सय १३ छ । यस्तै विष सेवन गरेर एक सय २३, हाम फालेर ९, पानीमा हाम फालेर ५ र हातहतियार तथा औजारको प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा दुई सय ६३ जना महिला र दुई सय ८८ जना पुरुष छन् । जसमा ६७ बालबालिकाहरु समेत रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

आत्महत्या गर्नेहरुमा सबैभन्दा बढी कैलाली जिल्लाका छन् । यस जिल्लामा एक वर्षमा २ सय २३ जनाले आत्महत्या गरेका छन् । कैलालीमा झुण्डिएर एक सय ७९ र विष सेवन गरेर ४४ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७५/०७६ मा यस जिल्लामा एक सय ९८ जनाले आत्महत्या गरेका थिए ।

यस्तै कञ्चनपुरमा एक सय ५८ जनाले आत्महत्या गरेका छन् । यस जिल्लामा झुण्डिएर ९६ र विष सेवन गरेर ६२ जनाले आत्महत्या गरेका छन् । २०७५/०७६ मा यो जिल्लामा एक सय ३३ जनाले आत्महत्या गरेका थिए ।

प्रदेशका सात पहाडी जिल्लाहरुमध्ये आत्महत्याका घटना सबैभन्दा बढी डोटीमा भएका छन् । यस अवधिमा डोटीमा २० पुरुष र ११ महिला गरी ३१ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा चार बालबालिका समेत छन् । २०७५/०७६ मा डोटीमा २८ जनाले आत्महत्या गरेका थिए ।

यस्तै बझाङ जिल्लामा १७ महिला र १० पुरुष गरी २७ जनाले आत्महत्या गरेका छन् । २०७५/०७६ मा यस जिल्लामा आत्महत्या गर्नेको संख्या १२ मात्रै थियो ।

डडेल्धुरामा १४ पुरुष र ९ महिला गरी २३ जनाले आत्महत्या गरेका छन् । डडेल्धुरामा २०७५/०७६ को भन्दा गत वर्ष आत्महत्याका घटना कम भएका छन् । २०७५/०७६ मा ३२ जनाले आत्महत्या गरेका थिए ।

अछाममा १२ पुरुष र ११ महिला गरी २३ जनाले, दार्चुलामा ११ पुरुष र १२ महिला गरी २३ जनाले, बाजुरामा २१ जनाले र बैतडीमा ७ पुरुष र १५ महिला गरी २२ जनाले आत्महत्या गरेका छन् ।

पाँच वर्षमा २,३८८ ले गरे आत्महत्या

सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७२/०७३ देखि ०७६/०७७ सम्म दुई हजार तीन सय ८८ जनाले आत्महत्या गरेका छन् ।

आर्थिक वर्ष ०७२/०७३ मा यस प्रदेशमा चार सय ५६ जनाले आत्महत्या गरेका थिए । ०७३/०७४ मा यो संख्यामा थोरै कमी आएको देखिन्छ । त्यस आर्थिक वर्षमा चार सय ३६ जनाले आत्महत्या गरेका थिए । ०७४/०७५ मा चार सय ७०, ०७५/०७६ मा चार सय ७५ र गत आर्थिक बर्षमा पाँच सय ५१ जनाले आत्महत्या गरेका छन् ।

किन बढ्दैछन् आत्महत्याका घटना ? प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंह भन्छन्, ‘आत्महत्याका घटना त पहिले पनि हुन्थे तर ती घटनाहरु प्रहरीसम्म नआउने भएका कारण अभिलेखीकरण हुन्थेनन् ।’ उनी सञ्चारका साधनहरुको विकाससँगै आत्महत्याका घटनाहरु पनि बाहिर आउन थालेकाले बिगतको भन्दा बढी देखिएको बताउँछन् ।

प्रहरी वरिष्ठ उपरीक्षक सिंह आत्महत्याका घटनाहरु वृद्धि भइरहेको भने स्वीकार गर्छन् । उनी सञ्चारका साधनहरुको दुरुपयोगले आत्महत्याका घटना बढेको बताउँछन् ।

अभिभावकहरुहरुले निगरानी गर्न नसक्दा पनि यस्तो समस्या आउने गरेको उनले बताए । उनी थप्छन्, ‘कतिपय आत्महत्याका घटनाहरु परिवारमा हुने हिंसाले पनि निम्त्याएको छ ।’

आत्महत्या र आपराधिक घटनाहरु रोकथामका लागि प्रहरीले बेलाबेलामा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको सिंहले जानकारी दिए । उनले अन्य सामाजिक संघसंस्थाहरुले पनि प्रभावकारी रुपमा समाजमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिदिनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment