Comments Add Comment

विषयगत समितिलाई जथाभावी बैठक नराख्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन

२७ साउन, काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विषयगत समितिलाई जथाभावी बैठक नराख्न निर्देशन दिएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेको भन्दै राष्ट्रियसभाका चारवटै समितिका सभापतिलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन् ।

‘राष्ट्रिय सभा अध्यक्षबाट अत्याअवश्यक हुँदा मात्रै पूर्ण सावधानी अपनाएर बैठक राख्नू, अन्यथा नराख्नू भन्ने निर्देशन भएको छ’ विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले अनलाइनखबरसँग भने ।

प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति सदस्य प्रदीप यादवलाई कोरोना संक्रमण भएको छ । वैज्ञानिक वन व्यवस्थापनबारे अनुगमनमा गएका यादवसहित संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलाई पनि कोरोना संक्रमण भएको छ ।

‘यो बेला त्यस्तो अनुगमनमा निस्कनु हुँदैनथ्यो । राष्ट्रिय सभाका समितिहरु पनि जालान् भनेर राष्ट्रिय सभाका अध्यक्षले बेलैमा सचेत गराउनुभएको हो’ एक सभापतिले भने ।

विधायन समितिलाई छुट दिने प्रस्ताव 

चारवटै समिति सभापतिहरुसँगको भेटमा राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले विधायन व्यवस्थापन समितिलाई बैठक राख्न दिने र अरु समिति केही समयका लागि बस्दै नबस्ने प्रस्ताव राखेका थिए ।

स्रोतका अनुसार राष्ट्रियसभा अध्ययक्षको यस्तो प्रस्ताव विभेदकारी रहेको भन्दै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीलगायतले विरोध गरे ।

‘कि सबैलाई नबस भन्न पर्यो कि सबैलाई अत्यावश्यक भए मात्रै बस भन्न पर्यो, एउटालाई छुट दिने अरुलाई नदिने ? विधायन समितिलाई कोरोना नलाग्ने अरुलाई लाग्ने ?’ भन्दै बिडारीले विरोध गरे ।

त्यसपछि अध्यक्ष तिमल्सिनाले चारवटै समितिलाई अत्यावश्यक भए मात्रै बैठक राख्न निर्देशन दिएको जनाइएको छ । यसअघि, लकडाउनको अवधिमा पनि विधायन समितिको बैठक नियमित, एकै दिनमा दुई वटासम्म बसेको थियो ।

पछिल्लो समय ऐन कार्यान्वयन मापन, कोरोना सम्बन्धी छुट्टै कानुन निर्माण लगायतका विषयमा विधायन व्यवस्थापन समितिको चासो छ । योगमाया विश्व विद्यालय विधेयकमाथि पनि समितिले लामो समयदेखि नियमित छलफल चलाइरहेको छ ।

तय भएको बैठक स्थगित

राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले जथाभावी बैठक नराख्न निर्देशन दिएपछि मंगलबारका लागि तय भएको दिगो विकास तथा सुशासन समिति बैठक स्थगित भएको छ ।

बार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूचीमा दिगो विकास तथा सुशासन समिति बैठक बोलाएको थियो । तर, विशेष कारणवश भन्दै समितिले बैठक स्थगित भएको सूचना जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment