
२८ साउन, काठमाडौं । भारतको उत्तर प्रदेशमा रामको मन्दिरको शिलान्यास गरिएको केही दिनमा नै ‘परशुराम’को मुद्दाले चर्चा पाएको छ ।
भारतीय कांग्रेसले दुई वर्षपछि हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै परशुरामको मुद्दामा आफ्नो अडान राखेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । कांग्रेसले परशुरामजयन्तीको अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ । विशेषगरी उत्तर प्रदेशका ब्राह्मण समुदायको भोट तान्नका लागि कांग्रेसले परशुरामको मुद्दालाई आफ्नो राजनीतिक अस्त्र बनाएको हो ।
उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टीको मुख्य मतदाताहरु ब्राम्हण समुदायका छन् । उक्त मतदाताहरुलाई आफ्नो पक्षमा पार्न कांग्रेसले भागवान विष्णुको छैटौं अवतारबारे नयाँ चाल चलेको हो ।
उत्तर प्रदेशका समाजवादी पार्टी र बहुजन समाज पार्टीले परशुरामको मुद्दालाई उठाएसँगै यो विवादमा कांग्रेस पनि होमिएको हो ।
यसअघि बहुजन पार्टीकी मायावतीले आगामी निर्वाचनमा आफ्नो पार्टीले जित हासिल गरे परशुरामको नाममा अस्पताल र अन्य संरचनाहरु निर्माण गर्ने घोषणा गरेकी थिइन् । साथै उनले परशुरामको मूर्ति पनि स्थापना गरिने बताएकी छिन् ।
त्यस्तै समाजवादी पार्टीका नेता अखिलेश यादवले पनि परशुरामको १०८ फिट अग्लो मूर्ति स्थापना गरिने बताएका थिए । उत्तर प्रदेशमा ब्राह्मण समुदायको भोट १२–१४ प्रतिशतको हाराहारीमा रहने गरेको छ ।
स्रोत : फाइनान्सियल एक्सप्रेस
प्रतिक्रिया 4