Comments Add Comment

तरकारीको भाउ घट्यो, १५ दिनमा किलोको ८२ प्रतिशतसम्म सस्तो

२९ साउन, काठमाडौं । १५ दिन अघिसम्म आकाशिएको तरकारीको मूल्य केही दिनयता ओरालो लागेको छ छ । दुई साताको अन्तरालमा ८२ प्रतिशतसम्म मूल्य घटेको व्यवसायी तथा उपभोक्ताले बताएका छन् ।

बाढी र पहिरोका कारण काठमाडौं आउने बाटो अवरुद्ध हुँदा तरकारीको मूल्य बढेको थियो । बाटो सहज भएसँगै मूल्य पनि सस्तो भएको व्यवसायीको भनाइ छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो दुई सातामा तीन दर्जन तरकारीको मूल्य घटेको छ ।

साउन १६ गते घिरौलाको प्रतिकिलो थोक मूल्य ९८ रुपैयाँ थियो । यसमा अहिले ८२ प्रतिशतले कमि आएर साउन २९ मा १८ रुपैयाँ प्रतिकिलोमा झरेको छ । यस्तै तीन सय ६० रुपैयाँ प्रतिकिलोको हरियो धनिया ७३ प्रतिशतले सस्तिएर ९५ रुपैयाँ प्रतिकिलो कायम भएको छ । यस अवधिमा तिते करेला, गाजर, तने बोडी, टनेल तथा सानो गोलभेडाको मूल्यमा पनि उच्च गिरावट आएको बजार विकास समितिले जनाएको छ ।

भारतीय रातो आलुमा दुई प्रतिशत र टनेल गोलभेडामा ४५ र सानो गोलभेडामा ३३ प्रतिशतको मूल्य गिरावट भएको व्यवसायी गीता आचार्यले बताए । घिउसीमी, तितेकरेला, भण्टा, प्याजको लगायत तरकारीको भाउ घट्दा मुडेको रातो आलु, हरियो र अकबरे खुर्सानीको मूल्य भने थोकमा बढेको छ । यस अवधिमा स्थानीय रातो आलु, मुला, हाईब्रीड घिउसीमी र च्याउका उत्पादनको मूल्य भने स्थिर छ ।

थोकमै सस्तो भएपछि खुद्रामा पनि तरकारीको भाउ सस्तो हुने काली तरकारी बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठ बताउँछन् ।  भाउ आकाशिँदा बजारमा तरकारीको किनबेच नै कम भएको उनको भनाइ छ ।

‘बिक्री कम भएपछि मूल्य त स्वभाविकरुपमा घट्ने नै भयो,’ श्रेष्ठले भने ।

पहिले बाढी र पहिरोका कारण बाटो अवरुद्ध हुँदा प्रभावित भएको तरकारीको आयात पुनः सूचारु हुँदा बजार सस्तिएको उनको भनाई छ ।

बिक्री घट्यो

बजारमा तरकारी धेरै आएको र खरिद गर्ने उपभोक्ता भने घटेको तरकारी फलफूल थोक बजार व्यवसायी संस्थाका अध्यक्ष गीता आचार्यले बताए ।

‘कोरोनाको महामारी बढेसँगै उपभोक्ता तथा होटलहरुमा तरकारीको माग घटेको छ,’ आचार्यले भने ।

पछिल्लो एक महिनामा बजारमा एक करोड २९ लाख २२ हजार किलो तरकारी भित्रिएको बजार विकास समितिले जनाएको छ । सुरुआती साता प्रतिदिन साढे तीन लाख किलोका दरले हरियो तरकारी भित्रिने गरेकोमा साउन अन्तिम साता औसत साढे चार लाख किलोसम्म भित्रिएको छ ।

मंगलबार र बुधबार बजारमा पाँच लाख किलोभन्दा धेरै तरकारी आएको थियो भने बिहीबार मध्यान्नसम्म एक लाख ३३ हजार किलो आएको छ । कोभिडअघि सामान्य अवस्थामा कालीमाटीमा दैनिक औसत ६ लाख किलो तरकारी भित्रिने गरेको थियो ।

कोभिड र लकडाउनका कारण बजार बन्दु हुनु तथा मानिसहरु गाउँ फर्केका कारण बजारमा तरकारीको खपत निकै घटेको थियो । साउन १ गतेदेखि लकडाउन खुकुलो हुँदा केही बढेको तरकारीको भाउ संक्रमण बढेसंगै गरिएको कडाईले पुनः घट्न थालेको व्यवसायीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment