Comments Add Comment

कोरोना संक्रमितको औषधिमा कालोबजारी !

२९ साउन, काठमाडौं । ‘हेलो सरकार ! कोरोना संक्रमितको उपचारमा सबैभन्दा प्रभावकारी औषाधि ‘रेमडिसिभिर’ को कालोबजारी मौलाइसक्यो । बिरामीको ज्यान बचाउन भारु. ५००० पर्ने औषधि तस्करहरूबाट रु.४० हजारदेखि ५० हजारसम्ममा किनेर गैरकानूनी काम गर्न चिकित्सकहरु बाध्य भइरहेका छन् ।’

कोरोना संक्रमितको उपचारमा खटिएका वीरगञ्जका डा. निरज सिंहले सामाजिक सञ्जालमै आक्रोश पोखेका छन्, ‘औषधि व्यवस्था विभागमा दर्ता गरेर आयात गर्न दिने हो भने रु.८००० सम्ममा रेमडिसिभिर किनेर बिरामीले आफ्नो ज्यान जोगाउन सक्छन् । यस्तो सानो कुरा पनि वीरगञ्जबाट मैले भन्नुपर्छ ?’

नारायणी अस्पताल अन्तरगतको गण्डक कोभिड अस्पतालमा कार्यरत डा. सिंहजस्तै कोभिड-१९ संक्रमितहरुको उपचारमा खटिएका चिकित्सकहरुको पनि यही गुनासो छ ।

‘रेमडिसिभिर’ इन्जेक्सनको विभिन्न देशमा तेस्रो चरणको क्लिनिकल ट्रायल चलिरहेको छ । तर, कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा रहेकाहरुमा प्रभावकारी देखिएको छ ।

नेपाल मेडिकल काउन्सिलले गत मेमा जारी गरेको ‘इन्टरिम क्लिनिकल गाइडेन्स फर कोभिड-१९‘ मा पनि कोरोना संक्रमितलाई रेमडेसिभिर चलाउन पाइने उल्लेख छ ।

चिकित्सकहरुका अनुसार पछिल्लो समय भेटिएका लक्षण भएका संक्रमित मध्ये कतिपयको स्वास्थ्य जटिल बनेकाले ‘क्रिटिकल केयर’सहित उपचार गर्नुपर्ने अवस्था छ । र, उनीहरुको उपचारमा प्रभावकारी हुनसक्ने औषधि रेमडिसिभिर नै हो ।

तर, संक्रमितका आफन्तले व्यक्तिगत रुपमा ल्याएर रेमडिसिभिर प्रयोग गरेका छन् । साउन ७  गते संक्रमण पुष्टि भएका विराट मेडिकल कलेज तथा नर्सिङ होमका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीलाई पनि रेमडिसिभर औषधि चलाइएको थियो ।

निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या आएपछि ९ गते  त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका उनका लागि रेमडिसिभर कोलकत्ताबाट मगाइएको थियो । ११ भाइल औषधि ल्याउन भारतको कोलकाताबाट बिराटनगरसम्म प्लेन चार्टर गरिएको थियो भने त्यहाँबाट हेलिकप्टरमा काठमाडौं ल्याइयो ।

डा. कार्कीले जस्तै केही संक्रमितले व्यक्तिगत पहलमै रेमडिसिभिर मगाएर प्रयोग गर्दै आएका छन् । अहिले विभिन्न अस्पतालमा गरेर डेढ दर्जनभन्दा बढी संक्रमितलाई रेमडिसिभिएर दिइएको त्यहाँ कार्यरत चिकित्सकहरु बताउँछन् ।

वीर अस्पतालका चिकित्सक डाक्टर ध्रुव गैरे पनि कोरोना संक्रमणले सिकिस्त छन् । ५ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत उनलाई पनि रेमडिसिभिर चलाइएको छ ।

हृयाम्स अस्पतालका एक चिकित्सकको अनुसार त्यहाँ रहेका संक्रमितका लागि पनि  रेमडिसिभिर मगाइएको छ । मेडसिटी अस्पतालमा उपचाररत एक संक्रमित सिकिस्त भएपछि रेमडिसिभिर चलाइएको छ भने ग्राण्डी अस्पतालमा रहेका संक्रमितका लागि रेमडिसिभिर मगाइएको त्यहाँ कार्यरत एक चिकित्सक बताउँछन् ।

उपत्यका बाहिर नेपालगञ्ज र वीरगञ्ज लगायतका स्थानमा पैसा तिर्न सक्नेहरुले रेमडिसिभिर ल्याएर उपचार गराइरहेका छन् । ८ हजार रुपैयाँ पर्ने एक डोज औषधिलाई ब्लाक मार्केटमा २० हजारदेखि १ लाख तिर्नेहरु समेत भेटिएका छन् ।

पछिल्लो समय ‘ब्लाक मार्केट’बाट मगाउँदा पनि पाउन छाडेको गुनासो संक्रमितका आफन्तहरुले क्रिटिकल केयरमा कार्यरत चिकित्सकहरु गरेका छन् । उपत्यकाको एक कोभिड अस्पतालमा क्रिटिकल केयर हेरिरहेका एक चिकित्सक भन्छन्, ‘आईसीयूमा उपचाररत संक्रमित सिकिस्त हुनासाथ रेमडिसिभिर चाहिन्छ, तर बास्तविक मूल्यभन्दा धेरै बढी पैसा तिर्छु भन्दा पनि पाइन्न ।’

वीरगञ्जको गण्डक कोभिड अस्पतालमा संक्रमितको उपचारमा गरिरहेका डा. निरज सिंहका अनुसार त्यहाँ भर्ना भएका ५ संक्रमितलाई रेमडिसिभिर प्रयोग गरिएको छ । उनीहरुमध्ये ४ जनाको अवस्था सुधार आयो भने एक जनालाई बचाउन सकिएन ।

साउन महिनामा मात्र वीरगञ्जमा १८ जना संक्रमितको ज्यान गयो, जसमध्ये १३ जनाको अस्पतालमा थिए । ‘उनीहरुका आफन्तले पनि रेमडिसिभिर ल्याउन सकेको भए केहीलाई बचाउन सकिन्थ्यो’ डाक्टर सिंह भन्छन्, ‘सबैको परिवारले यो औषधि ल्याउन सक्दैनन् । त्यसैले सरकारले औषधि ल्याउन ढिला गर्नु भएन ।’

इमर्जेन्सी फिजिसियन डाक्टर विश्वराज दवाडीका अनुसार संक्रमणको कारण गम्भीर अवस्थामा पुगेका कयौं बिरामीलाई रेमडिसिभिरले पुनर्जीवन दिएको छ । ‘भन्दाभन्दै सरकारले यो औषधि ल्याउन एकदम ढिलो गरेको छ, जसको कारण मर्नु नपर्ने मानिस मरिरहेका छन्’ डाक्टर दवाडी भन्छन्, ‘नियमित बेलामा जस्तो टेण्डर गरेर लामो प्रकिया अपनाउँदा औषधि आउन ढिलो यो र कालोबजारी मौलाउँछ र  पैसा नहुने गरीबहरु मर्न बाध्य हुन्छन् ।’

दिनहुँ संक्रमितको मृत्यु भएको तथा आईसीयू र भेण्टिलेटरमा राख्नुपर्ने केस बढिरहँदा सरकारले रेमडिसिभिएर ल्याउन ढिलो गर्दा संक्रमितको मृत्युदर झनै बढ्ने उनी बताउँछन् ।

डाक्टर दवाडी भन्छन्, ‘सरकारले नल्याएपछि व्यापारीले लुकाएर ल्याएपछि पैसा बढी लिने नै भए । त्यो पनि लाख रुपैयाँ तिर्छु भन्दा पनि नपाउने अवस्था आइसक्यो ।’

क्लिनिकल ट्रायलका मात्र ल्याउने तयारी

ढिलै भए पनि औषधि व्यवस्था विभागले रेमडिसिभिर खरिदका लागि मंगलबार टेण्डर निकालेको छ । बिहीबारसम्म ३ वटा कम्पनीले औषधि ल्याउन निवेदन दिएका छन् ।

तर, विभागले क्लिनिकल ट्रायलका लागि यो औषधि खरिद गर्न लागेको विभागका महानिर्देशक नारायण ढकाल बताउँछन् । युरोपियन देशहरुमा पनि क्लिनिकल ट्रायल भएकाले नेपालमा पनि त्यसकै लागि ल्याउन लागिएको उनले बताए । ‘ट्रायलमै रहेकाले यसलाई अहिले कोरोनाको औषधि भन्न मिल्दैन’ उनले भने, ‘ट्रायल भन्दैमा बिरामीले उपचार नपाउने भन्ने हुँदैन ।’

क्लिनिकल ट्रायलको प्रभाव र असरबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषदले अध्ययन गर्नेछ । ‘हामीले अनुमति दिएपछि परिषदले औषधिको परिमाण खरिदकर्ता कम्पनीहरुसँग माग गर्छ, त्यसपछि हामीले भन्सारका लागि पत्र लेख्छौं’ ढकाल भन्छन्, ‘हाम्रो तर्फबाट काम रोकिन्न, तर खरिदकर्ताले कति समय लाउलान् ?’

संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारी भने अरु देशमा प्रभावकारी देखिएको औषधिलाई क्लिनिकल ट्रायल भनेर लामो प्रकिया अपनाउँदा आईसीयूमा उपचाररत रेमडिसिभिर आवश्यकता पर्ने बिरामीले उपचार नपाउने त होइन भन्ने शंका गर्छन् ।

उनको अनुसार यो औषधि अमेरिका, जापान कोरिया लगायतका देशमा आईसीयूमा उपचाररत कोरोना संक्रमितहरुमा प्रयोग गरिएको छ र यसको प्रभाव राम्रो छ । नेपालले पनि फास्ट ट्रयाकबाट औषधि ल्याएर आवश्यक बिरामीमा प्रयोग गर्नुपर्ने उनको तर्क छ । डाक्टर अधिकारी सोध्छन्, ‘सरकारले ढिला गर्दा बचाउन सकिने नागरिकको मृत्यु भयो भने त्यसको जिम्मेवार को हुन्छ ?’

संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी विश्वले नै प्रभावकारी मानेको औषधिलाई नेपालमा प्रयोग गर्न ढिलोसुस्ती गर्नु राज्यको गैरजिम्मेवारी भएको बताउँछन् ।

उनका अनुसार औषधि ल्याउन ढिलासुस्ती गर्दा कालोबजारी त मौलाउँछ नै, पैसा तिर्न नसक्नेहरुले पनि उपचार पाउँदैनन् । ‘स्वास्थ्य मन्त्रालयका हाकिमहरु, मन्त्रिपरिषदका सदस्यहरु अथवा प्रधानमन्त्री नै संक्रमित भएर यो औषधि प्रयोग गर्नुपर्ने भयो भने उनीहरुले जसरी पनि प्रयोग गरेरै छाड्छन्, ब्लाकमै ल्याएर भए पनि आफू बाँच्छन्’ डाक्टर सुवेदी भन्छन्, ‘उनीहरुलाई आवश्यक नपर्दा उनीहरुको लापरवाहीको कारण पैसा नहुने जनताहरु मर्ने भए ।’

आईसीयूमा बस्नुपर्ने संक्रमितसँगै मृत्युदर बढिरहेको बेला यो औषधि फास्ट ट्रयाकमा ल्याएर प्रयोग गर्नुपर्ने डाक्टर सुवेदीको तर्क छ । औषधि ल्याउन ढिलासुस्ती गर्दा बचाउन सकिने मानिसको पनि मृत्युदर बढ्दै जाने उनी बताउँछन् । ‘पदमा बस्नेहरुले महामारीको संवेदनशीलता बुझेनन्, उनीहरुले पेशागत जिम्मेवारी नबुझ्दा कालोबजारी त मौलायो नै बाँच्न सक्ने तर आर्थिक अवस्था कमजोर भएका संक्रमितहरुले अकालमा ज्यान गुमाउनु पर्नेभयो’ डाक्टर सुवेदी भन्छन्, ‘तर राज्य गम्भिर हुने हो भने अझै  पनि समय छ ।’

के हो  रेमडिसिभिर ?

कोरोना संक्रमित बिरामीलाई सामान्य औषधि उपचार र अक्सिजनले नभ्याएपछि आईसीयूमा राखेर उपचार गर्ने क्रममा सुईमार्फत रेमडिसिभिर औषधि दिइन्छ । अमेरिकाको जिलिड फर्मासिटिकल्सले उत्पादन गरेको रेमडिसिभिरलाई अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले कोभिड-१९ का संक्रमितहरूमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको छ ।

यो एन्टिभाइरल इबोलाका बिरामीमा पनि प्रयोग गरिएको थियो । नेसनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिज (एनआईएआईडी)का अनुसार अमेरिकाका अस्पतालमा भर्ना भएका एक हजार ६३ कोरोना संक्रमितमा गरेको अध्ययनमा अरु औषधिभन्दा यो एन्टिभाइरल प्रयोग गरेकाहरूमा प्रभावकारिता राम्रो भएको र चाँडो निको भएको छ  । यो परीक्षणलाई ‘एडप्टेड कोभिड-१९ टि्रटमेन्ट ट्रायल’ (एसीटीटी) नाम दिइएको थियो ।

पहिलो एसीटीटी ट्रायलको रुपमा कोभिड-१९ संक्रमित भएको ‘डाइमण्ड प्रिन्सेस’ नामक पानी जहाजबाट यात्रा गरेर क्वारेन्टिनमा बसेकाहरुमा यो एन्टिभाइरल प्रयोग गरिएको थियो ।

विभिन्न क्लिनिकल ट्रायलको निष्कर्षअनुसार रेमडिसिभिर औषधिले जटिल अवस्थामा पुगेका बिरामीको स्वास्थ्यमा आंशिक सुधार ल्याउँछ, तर पूर्ण निको भने पार्दैन । त्यसैले गम्भीर अवस्थाका कोरोना संक्रमितलाई रेमडिसिभिर प्रयोग गर्न थालिएको छ ।

एकजना कोरोना संक्रमित बिरामीलाई पाँच दिनसम्म कम्तिमा ६ डोजमा रेमडिसिभिर औषधि दिनुपर्ने चिकित्सकहरु बताउँछन् । सुईको माध्यमबाट ६ डोज रेमडिसिभिर औषधि दिँदा झण्डै एक लाख खर्च लाग्छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक डा. नारायणप्रसाद ढकालका अनुसार अहिलेसम्म कुनै पनि नेपाली कम्पनीले रेमडिसिभिर औषधि उत्पादन गरेका छैनन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment