Comments Add Comment

मलखाद्य कालोबजारी गरेको आरोपमा दुई जना पक्राउ

३० साउन, वीरगञ्ज । बाराबाट प्रहरीले मलखाद्यको कालोबजारी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले कलैया उपमहानगरपालिका–१७ बस्ने मुरारी साह तेली र महागढीमाई नगरपालिका–७ घर भई हाल कलैया–१ मा बस्ने धनञ्जयप्रसाद साह पक्राउ परेका हुन् । मुरारी कलैया–१ राजदेवी टोल स्थित कुशवाहा बीज भण्डारका सञ्चालक हुन् भने धनञ्जय श्री आसकामिनिमाई कृषि सहकारी संस्था लिमिटेड कलैयाका कर्मचारी हुन् ।

दुवैले मिलेर साल्ट ट्रेडिङ्ग वीरगञ्जबाट कृषि सहकारीको नाममा लिएको अनुदानको मल बढी मुल्यमा बिक्री गरेको दाबी प्रहरीले गरेको छ । अनुदानको मल सहकारीमार्फत सिधै किसानलाई सहुलियतमा बिक्री गर्नुपर्ने हुन्छ । तर उनीहरुले बीज भन्डारबाट महंगोमा बिक्री गरेर कालोबाजारी गरेको पाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले साल्ट ट्रेडिङ्ग वीरगञ्जबाट खरिद गरी पसलमा स्टोर गरी राखेको युरिया मल १९ बोरा, सल्फेट १४ बोरा र भारतीय युरिया मल २२ बोरा गरी जम्मा ५५ बोरा मल समेत बरामद गरेको छ । उनीहरु विरुद्ध कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

‘साल्ट ट्रेडिङबाट अनुदानको मल लिएपछि कृषि सहकारीले किसानलाई वितरण गर्नुपर्ने हो तर व्यापारी मार्फत बिक्री गरिएको रहेछ,’ उनले भने, ‘ हामीले अनुदानको मल व्यापारीको पसलबाट बरामद पनि गरेका छौं, थप अनुसन्धान र कारबाही प्रक्रिया सुरु गरेका छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment