Comments Add Comment

होम आइसोलेसनको सकस : कोरोनाभन्दा समाजको डर

३० साउन, काठमाडौं । देशमा कोभिड १९ संक्रमितहरुको सङख्या बढ्दै गएपछि उनीहरुको व्यावस्थापन गर्न गाह्रो बन्दै गएको छ । अस्पतालमा बेडको अभाव हुँदै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लक्षणविहीन संक्रमितलाई घरैमा, होम आइसोलेसनमा बस्न भनेको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, ललितपुरस्थित पाटन अस्पताल, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगायत कोरोना विशेष अस्पतालको कोभिड युनिट संगालिरहेका चिकित्सकहरुको एउटै स्वर छ, ‘संक्रमित बढेर सम्हालिन नसक्ने भयो, संक्रमित राख्ने अन्य अस्पतालको विकल्प सोच्नुपर्छ।’

सोही कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी तथा सार्वजानिक अस्पताललाई कोभिड १९ का लागि आफ्ना कुल बेडमध्ये २० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको छ भने लक्षण भएका संक्रमितलाई बेड जोगाउनका लागि लक्षणविहीन संक्रमितलाई होम आइसोलेसनमा राखेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार बिहीबारसम्म देशभर ८ हजार २५ जना सक्रिय संक्रमित थिए, जसमध्ये ४ सय ४१ जना होम आइसोलेसनमा बसेका थिए ।

प्रदेश १ मा ७२, प्रदेश २ मा ९८ बागमती प्रदेशमा ७५, प्रदेश ५ मा ८१, कर्णाली प्रदेशमा ८ र सुदुरपश्चिम प्रदेशमा १०७ जना संक्रमित होम आइसोलेसनमा छन् ।

अहिलेसम्म आईसीयूमा ९६ जना र भेन्टिलेटरमा ५ जना संक्रमित उपचाररत रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध दिएको तथ्यांक र महानगरले उपलब्ध गराएको तथ्याकंसँग मेल खाँदैन । जस्तो कि मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार बागमती प्रदेशभरिमा ७५ जना मात्रै संक्रमित आइसोलेसनमा छन् । तर, काठमाडौं महानगरपालिकाको तथ्यांकअनुसार काठमाडौं महानगरमा मात्रै १ सय ७५ संक्रमित होम आइसोलेसनमा छन् ।

भक्तपुरमा २४ जना संक्रमित होम आइसोलेसनमा छन् । यही उदाहरणले मन्त्रालयले कोभिड १९ रोकथाम र नियन्त्रण गर्न जुटेका विभिन्न संस्थाहरुसँग समन्वय नगरेको प्रष्ट हुन्छ ।

होम आइसोलेसनमा रोगको भन्दा समाजको पीर

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेको होम आइसोलेसनको बेग्लै अनुभव छ। संक्रमण पुष्टि भएको ८ औ दिनमा मात्रै उनलाई ईपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाले (ईडीसीडी) ले सम्पर्क गरेको थियो। त्यतिञ्जेल उनी घरमै छुट्टै कोठामा सुरक्षित तरिकाले बसेका थिए। बारम्बार फोन गरेपछि ११ औ दिनमा ईडीसीडीको टोली आएर परिवारको कन्ट्याक ट्रेसिङ गरेको उनी बताउँछन्।

‘लक्षण नभएकाहरुलाई होम आइसोलेसनमा बस्नु त राम्रो हो, तर फलोअप गर्नुपर्ने निकायले सम्पर्क ढिलो गर्ने रहेछन्’ पाण्डेले भने, ‘कन्ट्याक ट्रेसिङ गर्न ढिलो गरेपछि हामीलाई धेरै मानशिक तनाव भएको थियो।’

संक्रमण पुष्टि भएको तीन दिनसम्म ज्वरो, पखाला लाग्ने र जिउ दुख्ने भएको पाण्डे बताउँछन्। ‘त्यस्तो हुँदा सिटामोल खाएँ, अलिपछि गुर्जोको झोल र प्रशस्त पानी खाएँ’ पाण्डेले भने।

ईडीसीडीले केस म्यानेजमेन्टको जिम्मा वडालाई दिएकाले समस्या आएको पाण्डे बताउँछन् । उनका अनुसार वडामा केस म्यानेजमेण्ट गर्ने एकमात्र टोली भएकाले सम्पर्क गर्न ढिलो भएको थियो । त्यसैले उनले सिधै ईडीडीडीको टोली बोलाएका थिए। ‘सुरुमा ईडीसीडीले त केस म्यानेजमेण्टको सबै काम वडाले गर्छ भनेको थियो । तर, उनीहरु नआएपछि आफैं आएर कन्ट्याक ट्रेसिङ गरे।’

ईडीसीडीका केस म्यानेजमेण्ट युनिटका एक कर्मचारीका अनुसार होम आइसोलेसनमा बस्ने कतिपय संक्रमितहरुलाई संक्रमण छ भन्ने थाहा पाएपछि समाजले तनावसमेत दिने गरेका छन् । टोल सिल गर्ने र संक्रमित भेटिएको घरका मानिसलाई नानाभाती आरोप लगाउने भएकाले कतिपय संक्रमितहरु होम आइसोलेसनमा बस्न सम्भव हुँदा पनि बस्न मान्दैनन् । ती कर्मचारीले भने, ‘त्यस्ता संक्रमितलाई हामीले अस्पतालमा नै सिफ्ट गरेका छौं ।’

ईडीसीडीका कर्मचारीले भनेजस्तै चितवन रत्ननगर अस्पतालका डा. विश्वबन्धु बगालेले पनि समाजबाट मानसिक तनाव भोगे । श्रीमती र उनलाई संक्रमण पुष्टि भएपछि उनीहरु आफ्नै घरमा होम आइसोलेसनमा बसेका थिए । तर, टोलका एक हुल मानिसहरु आएर कोरोना संक्रमितको घर लेखेको फ्लेक्स टाँग्ने प्रयास गरे। यो घटनाले आफूलाई मानसिक तनाव भएको डाक्टर बगाले बताउँछन्।

यो पनि पढ्नुहोस ‘संक्रमित हुँदा मैले ठूलो अपराध गरेजस्तो गरियो’

यस्तो मानसिकता भएका मानिसहरु बसेको समाजमा कसरी होम आइसोलेसन सम्भव होला ? घर नभएकाहरु कोठामा होम आइसोलेसनमा बस्नुपर्यो भने के के भोग्नुपर्ला ?’ बगालेले अनलाइनखबरसँग भने, ‘यस्ता व्यवहारले निम्त्याउने दुर्घटना के होला ? मानसिक समस्याले कस्तो रुप लेला ? आम मानिसलाई यस्तो पर्यो भने त कोभिडले होइन, समाजको डरले नै मानिस मर्छ।’

संसदका प्रवक्ता पाण्डे पनि होम आइसोलेसनमा बस्दा मानसिक तनाव भोग्नुपरेको बताउँछन् । टोल छरछिमेकले अर्कै नजरले हेर्ने र परिवारसँगै टाढिएकाले पनि मानसिक तनाव भोगेको उनले बताए ।

‘रोगले भन्दा पनि मानसिक तनावले चाहिँ गारो हुने रहेछ’ पाण्डेले भने, ‘परिवारका सदस्यहरु पसलमा जादाँसमेत अर्कै व्यवहार गरेछन्, आफूलाई पनि घरमै बसिरहँदा धेरै तनाब हुँदोरहेछ ।

परिवारका एकजना संक्रमित हुँदा घरका सबै मानिसले मानसिक तनाव भोग्नुपर्ने बताउँदै उनी भन्छन्, ‘समाजले संक्रमित र उसको परिवारलाई अर्कै व्यवहार नगरे र ईडीसीडीले राम्रो फलोअप गरे लक्षणविहीन संक्रमितलाई होम आइसोलेसन नै ठीक हुन्छ ।’

अस्पतालमा भन्दा घरमा हेरचार, माया र खानपिन राम्रो हुने उनको अनुभव छ ।

होम आइसोलेसनमा बस्नेको हेरचाह कसरी हुन्छ ?

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले होम आइसोलेसनमा बसेका संक्रमितहरु लक्षणविहीन भएकाले स्वास्थ्यमा धेरै समस्या नहुने बताएको छ। ईडीसीडीका अनुसार होम आइसोलेसनमा बसेका संक्रमितले स्वास्थ्यमा समस्या आएको भन्दै फोन गरे अस्पतालमा नै भर्ना गर्ने नीति पनि छ । त्यसैगरी लक्षणविहीन सबै संक्रमितलाई अनिवार्य होम आइसोलेसनमा राखिँदैन ।

‘लक्षणविहीन, तर होम आइसोलेसनमा बस्न सम्भव नहुनेहरुलाई हामीले अस्पतालमा नै राखेका छौं’ ईडीसीडीका एक कर्मचारी भन्छन्, ‘ संक्रमितको इच्छाअनुसार मात्रै होम आइसोलेसनमा राखेका छौं ।’

होम आइसोलेसनमा बसेर स्वास्थ्यमा समस्या आएकाहरु ७ जनाभन्दा बढीलाई यो साता अस्पतालमै सिफ्ट गरेको ईडीसीडीका एक कर्मचारी बताउँछन् । उनी भन्छन्, ‘फोन आउनासाथ हाम्रो केस म्यानेजमेण्टको टोलीले उहाँहरुलाई अस्पतालमा सिफ्ट गर्छ ।’

काठमाडौं महानगरपालिका कोभिड संयोजक ज्ञान वली होम आइसोलेसनमा बस्नेहरुलाई महानगरले दैनिक फोन गरेर स्वास्थ्यको जानकारी लिने बताउँछन् ।

उनका अनुसार महानगरका कर्मचारीले होम आइसोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्यका जानकारी लिन्छन् । वलीले भने, ‘प्राय होम आइसोलेसनमा बस्नेहरु आफ्नै घर भएका छन्, सोही कारण उहाँहरुलाई केही समस्या आएको सुनिएको छैन ।’

भक्तपुर जिल्ला जनस्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारले होम आइसोलेसनमा बस्ने केही संक्रमितले स्वास्थ्यमा समस्या आएको जानकारी दिनासाथ अस्पताल सिफ्ट गरेको बताए । उनले भने, ‘हामीले दिनहुँ सम्पर्क गरेर स्वास्थ्यको जानकारी लिदाँ खासै समस्या नआएको सुनाउनुहुन्छ ।’

संक्रमितको इच्छाकै आधारमा होम आइसोलेसनमा राखेकाले पनि समस्या नदेखिएको मिजार बताउँछन् ।

काठमाडौं महानगरपालिकाको निरीक्षण अन्तर्गत होम आइसोलेसनमा बसिरहेका एक संक्रमित आइसोलेसनमा कुनै समस्या नआएको बताउँछन् । उनको अनुसार महानगरले हरेक २ दिनमा फोन गरेर स्वास्थ्य अवस्थाको जानकारी लिने गरेको छ भने इडिसिडीले पनि दिन बिराएर स्वास्थ्य अवस्था सोध्ने गर्छ ।

‘केही समस्या भएर अस्पताल सिफ्ट गर्छौ भनेर महानगर र ईडीसीडीबाट फोन दिन बिराएर आउँछ’ डंगोलले भने, ‘समस्या भयो भने आफै फोन गर्नु पनि भन्नु भएको छ त्यसैले हामीलाई चाही समस्या छैन ।’

तर, संसद सचिवालयका प्रवक्ता पाण्डे भन्छन्, , ‘अस्पतालमा घरको सुविधा नपाइने भएकाले होम आइसोलेसन नै ठीक हो । तर, सरोकारवालाले संक्रमण पुष्टि भएको थाहा दिनासाथ अब के गर्ने कहाँ र कसरी राख्ने भन्ने जानकारी दिन सम्पर्कचाहिँ छिट्टै गर्नुपर्छ, धेरै तनाव हुने भनेको संक्रमण हुनासाथ ईडीसीडीले कन्ट्याक नगरेर हो ।’

संक्रमित रिफर नगर्नू

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो अनुमति विना कोरोना संक्रमितलाई रिफर नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले हालै मात्र निजी तथा सामुदायिक अस्पतालहरुले कुल बेडको २० प्रतिशत कोभिडका बिरामीका लागि छुट्याउन निर्देशन दिएको थियो । तर अस्पतालहरुले उपचारका लागि भर्ना भएका वा उपचाररत बिरामीमा संक्रमण पुष्टि भए कोभिड अस्पतालहरुमा रिफर गर्ने गरेका छन् ।

मन्त्रालयले शुक्रबार सबै अस्पताललाई संक्रमितलाई हब अस्पतालको संयोजनमा उपचार गर्न र मन्त्रालयको निर्देशनमा मात्र गर्न हब अस्पतालहरुमा रिफर गर्न भनेको छ ।

यो पनि पढ्नुहोस ईडीसीडीको दृश्य, जसले कोरोना नियन्त्रणमा कसरी चुक्दैछौं भन्ने छर्लङ्ग पार्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment