Comments Add Comment

लज्जास्पद हारपछि बार्सिलोनाका अध्यक्षले भने- यो निर्णय लिने बेला हो र केही निर्णय भइसकेका छन्

३१ साउन, काठमाडौं । च्याम्पियन्स लिगको क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हारपछि स्पानिस क्लब बार्सिलोनाका अध्यक्षले टिममा अब केही परिवर्तन गर्नुपर्ने संकेत गरेका छन् ।

जनवरीमा किके सेटिएन प्रशिक्षक बनेर आएपछि स्पानिस महारथी बार्सिलोनाले आफ्नो लय अनुसारको प्रदर्शन देखाउन सकेको छैन ।

ला लिगाको उपाधि रक्षा गर्न असफल हुनु च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिनु र सिजनमा उपाधि विहीन हुनुपरेपछि अब क्लबमा परिवर्तन हुनुपर्ने धेरैले भनेका छन् ।

क्लबका अध्यक्षले जोसेफ मारिया बार्तामेउले पनि यस हारपछि अब क्लबमा केही परिवर्तन हुने बताएका हुन् । उनले बायर्नले राम्रो खेलेको र बार्सिलोना राम्रो नरहेको बताएका छन् । ‘यो वास्तवमै ठूलो पराजय हो,’ खेलपछि बार्तामेउले भने, ‘म उत्कृष्ट खेल खेल्ने बायर्नलाई बधाई दिन चाहन्छु । उनीहरू सेमिफाइनलमा खेल्न योग्य छन् । हामी हाम्रो राम्रो लयमा थिएनौँ र त्यसको नजिक पनि रहेनौँ ।’

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बार्सिलोनाले अब सेटिएनलाई बर्खास्त गर्ने जनाएका छन्

उनले अब निर्णय लिनुपर्ने बेला आएको बताए । ‘आज एउटा विपत्ति थियो र अब हामीले निर्णयहरू लिनुपर्नेछ । हामीले तीमध्ये केहीको बारेमा विचार गरिसकेका छौं,’ बार्तामेउले भने, ‘आज निर्णय गर्ने दिन होइन । हामी फ्यानहरू, सदस्यहरू र बार्सिलोनिस्टाससँग माफी माग्न चाहन्छौँ ।’

बार्तामेउले कस्ता निर्णयहरु भइसकेका छन् भन्ने खुलाउन चाहेनन् । ‘म के निर्णय भएको छ भन्नेबारे भन्न चाहन्नँ किनकी तिनीहरूमध्ये केही निर्णय भइसकेका छन् र अरू पनि हुनेछन्,’ उनले भने, ‘आज प्रतिबिम्बित गर्ने दिन हो । भोलिदेखि, हामी सबै बार्सिलोना प्रशंसकहरूको हौसला बढाउने प्रयास गर्नेछौं र हामी अर्को हप्ताबाट निर्णय लिनेछौं ।’

यस्तै बायर्नसँग पराजित भएपछि प्रशिक्षक किके सेटिएनले पनि बार्सिलोनाले अब निष्कर्ष निकाल्नुपर्ने र निर्णय गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने बार्सिलोनाले अब सेटिएनलाई बर्खास्त गर्ने जनाएका छन् ।

यस्तै क्लबका डिफेण्डर जेरार्ड पिकेले पनि क्लबमा परिवर्तनको आवश्यकता रहेको बताएका छन् ।

ला लिगा च्याम्पियन्स लिगा कोपा डेल रे सबैमा खराब प्रदर्शन गर्दै यस सिजन उपाधि जित्न असफल भएपछि क्लबका कप्तान तथा वर्तमान विश्व फुटबलका स्टार खेलाडी लिओनल मेसीको भविष्य पनि क हुने भन्ने अन्योल बनेको छ । पछिल्लो समयमा बार्सिलोना उनै मेसीमाथि धेरै निर्भर रहँदा क्लबले नतिजा हात पार्न सकेको छ । अब मेसीको धैर्य कतिसम्म टिक्न सक्छ भन्ने मुख्य विषय बनेको छ ।

केही समयअघि क्लबका अध्यक्ष बार्तामेउले मेसी अझै बार्सिलोनामा रहने र उनले सम्झौता नवीकरण गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment