Comments Add Comment

देउवालाई निधिको प्रस्ताव : म सभापतिमा उठ्छु, सहयोग गर्नुस्

फेरि उपसभाति नउठ्ने निधिको बटमलाइन

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई भेटेर १४ औं महाधिवेशनमा आफू सभापतिमा उठ्ने जानकारी गराएका छन् ।

लामो समयदेखि देउवालाई साथ दिँदै आएका निधिले योपटक सभापतिको आकांक्षा राखेका छन् । अरु आकांक्षीहरु शशांक कोइराला, प्रकाशमान सिंहलगायतलाई पालैपालो भेटेका निधि सभापति देउवालाई भेट्न बिहीबार बूढानीलकण्ठ पुगेका थिए ।

भेटमा निधिले १४ औं महाधिवेशनमा आफू सभापति उठ्ने भन्दै सहयोग गर्न देउवालाई आग्रह गरेका छन् । ‘तपाईको साथ र सहयोगमा सभापति उठ्न चाहन्छु’ निधिले भनेका थिए ।

तर, सभापति देउवाले भने योपटक आफूलाई सहयोग गर्न र १५औं महाधिवेशनमा सभापति बन्न आग्रह गरेका छन् । स्रोतले भन्यो, ‘नेतृत्व छाड्नुस् भन्दा उहाँले सुन्नुभयो र, योपटक मलाई सहयोग गर्नुस् भन्नुभयो ।’

निधिले भने १३ औं महाधिवेशनको ताका आफूलाई दिएको बचन देउवालाई सम्झाएका छन् । त्यसबेला तत्कालीन संस्थापन पक्षबाट नेतृत्व हातमा लिनुपर्ने भन्दै देउवाले आफूलाई सहयोग गर्न र अर्को महाधिवेशनमा नेतृत्व दिने आश्वासन दिएका थिए । तर रामचन्द्र पौडेललाई पराजित गर्दै सभापति बनेका देउवाले आसन्न १४औं महाधिवेशनमा पनि सभापति उठ्ने तयारीमा छन् ।

उपभापति निधिले भने १५औं महाधिवेशनमा युवा पुस्ता नेतृत्वमा आउने भएकाले पर्खिन नसक्ने बताए । बरु आफैं सभापतिको उम्मेदवार बन्ने निर्णय पुनर्विचार गर्न देउवालाई आग्रह गर्दै उनी त्यहाँबाट बाहिरिएको स्रोतले बताएको छ ।

निधि निकट स्रोतका अनुसार देउवाले साथ नदिए के गर्ने भन्ने यसै भन्न सकिन्न । तर कम्तिमा फेरि उपसभापतिको उम्मेदवार नबन्नेमा उनी दृढ देखिन्छन् ।

निधिका तीन विकल्प

सभापतिको आकांक्षा राखेका निधिसामू तीन विकल्प रहेको उनी निकट नेताहरुले बताएका छन् ।

पहिलो : देउवालाई मनाएर संस्थापन समूहको उम्मेदवार बन्ने ।

यो सहज छैन । किनभने देउवा आफैं सभापतिमा दोहोरिन चाहन्छन्, जुन उनले निधिलाई नै भनेका छन् ।

दोस्रो : देउवा समूहबाट विद्रोह गर्ने ।

संस्थापन समूहबाट देउवा आफैं सभापतिको उम्मेदवार हुने भएपछि सभापतिकै उम्मेदवार बन्न पनि निधिले त्यो समूहबाट विद्रोह गर्नुपर्ने हुन्छ । यसरी सभापतिको उम्ोदवार बन्ने जोमिखपूर्ण विकल्प भएको उनी निकट नेताहरु बताउँछन् । ‘संस्थापन समूह छाडेर अर्को समूहको नेतृत्व गर्ने अवस्था छैन, त्यसैले सभापतिको उम्मेदवार हुने हो भने उहाँले तेस्रो समूह बनाउनुपर्छ’ एक नेताले भने ।

तेस्रो : मौन बस्ने ।

संस्थापन समूहले सभापतिको उम्मेदवार नबनाउने र विद्रोह गरेर उम्मेदवारी पनि दिन नसक्ने अवस्थामा निधिसामू तेस्रो विकल्प भनेको मौन बस्नु हुनेछ । ‘फेरि उपसभापतिमा उठ्दा जित्न पनि गाह्रो छ’ उनी निकट एक नेता भन्छन्, ‘उहाँले पनि फेरि उपसभातिमा नउठ्ने मुड बनाउनु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment