Comments Add Comment

कोरोनासँगै बाँच्ने हो भने

विज्ञहरु भनिरहेका छन्, ‘पूर्ण रुपमा कोरोना निर्मुल गर्न सकिनेछैन ।’ के त्यसो भए अब मानव समुदाय सधै कोरोनाको त्रासदीबीच बाँच्नेछ ? कोरोनाको संभावित संक्रमणबाट बच्न बेलामौकामा लकडाउन गरिरहनुपर्ने हो ? संक्रमित हुने, अस्पताल धाउने उपक्रममै मान्छेको दैनिकी बित्ने हो ?

यतिबेला हामी कोरोना संक्रमितको संख्या र मृत्युको गणना गरेर बस्न बाध्य छौं । जबकी हिजोको दिनमा हामी निर्धक्कसाथ भनिरहेका थियौं, नेपालीलाई कोरोनाले सताउनेछैन । सरकारले समेत यही भ्रममा रमाएर पूर्व तयारी गर्न आवश्यक ठानेन । आखिरमा कोरोना भाइरस नेपालमा पनि प्रवेश ग¥यो । दिनदिनै संक्रमितको दर बढ्यो । मृत्युको क्रम जारी रह्यो । अहिले अवस्था कतिसम्म भयावह छ भने, कोरोना संक्रमित भएर पनि अस्पताल र उपचारको स्थिति नाजुक छ । एकातिर कोरोनाका गंभिर संक्रमितले उपचार पाइरहेका छैनन् भने अर्कोतिर चिकित्सकहरु समेत धमाधम संक्रमित हुँदैछन् ।

त्यसो त खोप एवं औषधिबारे खोज भइरहेको छ वा परीक्षण गरिदैछ भनिन्छ, तर त्यसमा अझै ढुक्क हुने स्थिति देखिदैन । गर्मी महिना लागेपछि कोरोना भाइरस आफै नियन्त्रणमा आउँछ भनिए, तर यो अड्कलबाजी पनि मिलेन ।

कोरोनाले विश्व फन्को लगाइसकेको छ र यसले सर्वत्र उत्तिकै त्रासदी पैदा गरिदिएको छ । वैज्ञानिकहरुले के अनुमान गरेका थिए भने कोरोना संक्रमणपछि मान्छेको शरीरमा यस भाइरस बिरुद्धको एन्टीबडी विकास हुनेछ । तर, एन्टीबडीको प्रभाव पनि तीन÷चार महिना भन्दा बढी टिकेन । एक पटक कोरोना संक्रमण भैसकेको व्यक्तिलाई पुनः संक्रमण दोहोरिने खतरा यथावत रह्यो ।

यी पृष्टभूमीहरुले के देखााउँछ भने कोरोनाबाट मानव समुदाय सहजै र छिटै मुक्त हुनेवाला छैन । कोरोना लामो समय रहनेछ । र, हामीले पनि कोरोनासँगै बाँच्नुपर्नेछ ।

हिजोको दिनमा पनि कतिपय संक्रामक रोग वा अन्य रोगहरुले यसरी नै मानव समुदालयलाई अत्याएको थियो । रोगको संक्रमणबाट कैयौंले ज्यान गुमाएका थिए । समयक्रममा त्यस्ता रोग एवं संक्रमण केही हदसम्म नियन्त्रणमा आएपनि पूर्णत निर्मुल भएन । तर, मान्छेले उक्त संक्रमण वा रोग बिरुद्ध कसरी बाँच्ने भन्ने तयारी एवं अभ्यास गरे । त्यस्ता संक्रमण र रोगको खतरा अहिले पनि छ, यद्यपि त्यसबाट बाँच्नका लागि मान्छेले आवश्यक सावधानी अपनाइरहेका छन् । नतिजा, त्यस्ता संक्रमण र रोगबाट भयाभित हुनुपर्ने स्थिति रहेन ।

अबका दिनमा कोरोना पनि यसरी नै सामान्य हुँदै जान्छ होला ?

कोरोना भाइरस बिरुद्ध खोप बनाउन बैज्ञानिकहरु जुटिरहेकै छन् । औषधि–उपचारको खोजी भइरहेकै छ । यद्यपि कोरोनाबाट हामी त्यती सजिलै मुक्त हुने छाँट छैन । त्यसैले कोरोनासँगै बाँच्नु पर्ने नै छ । तर, कसरी ?

लकडाउन गरेर साध्य हुने छैन । बरु, हामीले आफ्नो जीवनशैली नै परिवर्तन गर्नु जरुरी हुनेछ ।

अहिलेको जस्तो हिँडडुल, जमघट, किमनेल, मनोरञ्जन, पर्व–उत्सव आदिको स्वरुप बदल्नुपर्नेछ । सिनेमा हेर्ने, किनमेल गर्ने, रेष्टुरेन्ट धाउने जस्ता गतिविधि नियन्त्रण गर्नुपर्नेछ । धेरै कामधन्दा अनलाइनमार्फत नै पुरा गर्न सुरक्षित र सहज हुनेछ । र, यो भन्दा बढी जरुरी हुनेछ व्यक्तिगत सर्तकता ।

शारीरिक दुरी कायम गर्ने, अनिवार्य मास्क लगाउने, हात धुने, सेनिटाइजर प्रयोग गर्ने जस्ता सुरक्षात्मक विधीहरु पालना गर्नुपर्नेछ । भलै भोलिका दिनमा कोरोनाको संक्रमण आजको जस्तो डरलाग्दो नहोला । तर, कोरोनाको उच्च जोखिम हुँदा त्यसबाट बाँच्न हामीले जुन अभ्यास गरिरहेका छौं, यो अभ्यास सधै नै उपयोगी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment