Comments Add Comment

‘डान्सिङ विथ दि स्टार्स’ले मलाई नयाँ उचाइमा पुर्याउनेछः बुद्ध लामा(भिडियो रिपोर्ट)

हिमालय टेलिभिजनबाट चाडै नै प्रशारण आरम्भ हुन लागेको सेलिब्रिटी डान्स रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’का एक प्रतिस्पर्धी हुन्, बुद्ध लामा ।

‘नेपाल आइडल’को उपाधि विजेता बुद्ध अहिले कोरियोग्राफर केविका खत्रीसँग डान्सका नयाँ नयाँ स्टेप सिकिरहेका छन् । बुद्धका लागि यो विधा नयाँ हो, तर उनले यसलाई चुनौतीको रुपमा स्विकार गरेका छन् ।

बुद्ध र केबिकासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोलाः

अनलाइनखबरसँग बुद्धले भने–‘म गायन क्षेत्रमा छु, डान्सिङ विथ दि स्टार्सको प्लेटफर्म मेरा लागि नयाँ हो । यसले मलाई नयाँ स्थानमा पुर्याउनेछ । साथै, यो मेरा लागि नयाँ चुनौती पनि हो ।’

उनलाई सुरुवातमा त यो शोमा जाने कि नजाने भन्ने दुबिधा भयो । नजिकका मानिसहरुले पनि गाउन जन्मिएको मानिस, नाँच्न सक्दैनौं भनेर सल्लाहा दिए । तर, यो चुनौतीलाई स्विकार गरेर आफू भित्र रहेको प्रतिभा बाहिर ल्याउनुपर्छ भन्ने ठानेपछि बुद्धले यो रियालिटी शोमा सहभागीता जनाउने सोच बनाएका हुन् ।

बुद्धले भने–‘मलाई डर पनि लागिरहेको छ । पहिलो पटक स्टेजमा प्रस्तुत हुँदा दर्शकको ध्यान कसरी केन्द्रित गर्ने भन्ने चुनौती मसँग छ । म नाँच्दै ननाच्ने मान्छे, दर्शकले मलाई माया गर्नुहोला कि नहोला भन्ने डर लागिरहेको छ ।’

बुद्ध आफ्नो प्रस्तुतीबाट दर्शकहरु निराश नहुने बताउँछन् । भन्छन्–‘सायद म दर्शकलाई निराश हुन दिन्नँ । उहाँहरुले आशा गरे अनुसार नै म स्टेजमा प्रस्तुत हुन सक्छु भन्ने लागेको छ ।’

बुद्धले आफूलाई यसपटक पनि नेपाल आइडलमा जस्तै दर्शकको साथको आवश्यकता पर्ने भन्दै भोट गर्न आग्रह गरे ।

बुद्धलाई कोरियोग्राफी गरिरहेकी केविका खत्री आफूले सोचेको भन्दा सजिलोसँग बुद्धलाई डान्स सिकाइरहेको बताउँछिन् । उनले भनिन्–‘बुद्ध मिहिनेती छन् । मैले एउटा गायकलाई सिकाउन गाह्रो होला भन्ने सोचेकी थिएँ, तर त्यस्तो लागेन । उनीसँग जुन खालको स्वभाव छ, मैले सोही अनुसार नै सिकाइरहेकी छु ।’

बुद्धलाई कुनै पनि कुरा गाह्रो नलाग्ने तर्क केविकाको छ । केविकाको कुरा सुनेर मख्ख परेका बुद्धले आफ्नो प्रतिस्पर्धी आफै भएको बताए । भने–‘मेरो प्रतिस्पर्धी म आफै हो । मैले राम्रो गर्न सकिनँ भने मलाई कसले हेर्छ ?’

तस्वीर तथा भिडियोः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment