+
+
Shares

‘संक्रमित छौं, तर बिरामी भएको अनुभूति छैन’

श्रवण देव श्रवण देव
२०७७ साउन ३२ गते १७:३७

३२ साउन, सप्तरी । ‘हामी जुन बैठकमा सहभागी भएका थियौं, त्यहाँ उपस्थित तीन जना कोरोना संक्रमण भएछ, तपाई पनि पीसीआर जाँच गराउनुस् है’ पूर्व क्रिकेटर पवन दासलाई साउन तेस्रो साता फोनमा एक जनाले सुनाउँछन् ।

उनी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुगे र, आफूसँगै आमा र बुवाको पनि स्वाब दिए । स्वाब दिए पनि रिपोर्ट के आउने हो भनेर तनानव भइरह्यो । ‘रिपोर्ट नेगेटिभ आओस् भन्ने कामना गरिरह्यौं’ उनले भने, ‘तर रिपोर्ट पोजेटिभ आयो ।’ २४ साउनमा आएको रिपोर्टमा ३४ बर्षका उनीसहित उनका ६२ बर्षीय बुवा र ६१ बर्षीया आमा पनि पोजेटिभ देखिए ।

०००

राजविराज दासले सन् २००२ मा दक्षिण एसियाको यू–१५ ड्रिम टिममा नेपालको प्रतिनिधित्व गर्दै खेलेका थिए । तर पछिल्लो समय जिल्लास्तरीयमा सिमित भएका उनले उद्योग वाणिज्य संघ, सप्तरीको कार्यालयमा काम गर्न शुरु गरेका थिए । साउन दोस्रो साता महोत्तरीको बर्दिवासमा आयोजित प्रदेशस्तरीय बैठक सहभागी हुन गएका थिए । दुई दिनको बैठक सकेर उनी राजविराज फर्किए ।

निषेधाज्ञा भएकाले घरमा परिवारसँगै थिए । बर्दिवासबाट फर्किएको एक सातापछि बैठकमा सहभागीमध्ये एक जनाले फोनमा सुनाएको सहभागीमध्ये तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको भन्दै परीक्षण गराउन आग्रह गरे ।

त्यही आग्रह अनुसार परीक्षण गराउँदा उनीसँगै आमा र बुबामा पनि संक्रमण देखिएको थियो । त्यसपछि उनकी श्रीमती, ६ वर्षकी छोरी र डेढ बर्षका छोराको स्वाब संकलन भयो । ३० साउनमा आएको रिपोर्टमा श्रीमतीमा कोरोना संक्रमण देखिएन तर छोराछोरीमा देखियो । दासले अनलाइनखबरसँग भने, ‘छोराछोरीसमेत संक्रमित देखिएपछि धेरै डर लाग्यो ।’

तर उनीमा लक्षण थिएन । दासका अनुसार उनलाई शुरुमा टाउको दुःखेको थियो, अहिले अवस्था सामान्य छ । उनले भने, ‘हामी संक्रमित छौं, तर बिरामी भएको अनुभूति छैन । केही दिन खानाको सुगन्ध हराउनुबाहेक अरु परिवर्तन देखिएन ।’

सबै होम आइसोलेसनमा

एकसाथ तीन जनामा संक्रमण पुष्टि भएपछि स्वास्थ्य कार्यालयसँग सल्लाह लिएर उनी घरभित्रै आइसोलेट भए । बच्चा पनि पोजेटिभ देखिएपछि सबै घरमै बसे । सबैको रेखदेख भने संक्रमण नभएकी पवनकी श्रीमतीले गर्दै आएकी छन् ।

सबैका लागि खाना पकाउने, समयमा तातो पानी दिनलगायतका सबै काम उनी एक्लै गर्दै आएको दास बताउँछन् । ‘अहिले उनी मेरो श्रीमती मात्र नभई आइसोलेसनमा रेखदेख गर्ने नर्सको भूमिकासमेत निर्वाह गरिरहेका छन्’ उनी भन्छन्, ‘हामी चाँडो नै कोरोना संक्रमणमुक्त हुने विश्वास छ ।’

सामाजिक दूरी कायम राख्न, मास्क लगाउन, आवश्यक पर्दा मात्रै घरबाट बाहिर जान आग्रह गर्दै उनले भने, ‘संक्रमित भइहाले पनि डराउने काम नगरौं ।’

लेखक
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?