Comments Add Comment

आफन्त र छिमेकी परै बसे, २२ घण्टापछि सेनाले उठायो शव

वृद्धाको घर ।

३२ साउन, विराटनगर । शनिबार राति घरमै मृत्यु भएकी विराटनगर– ३ कि ८७ वर्षकी वृद्धाको नेपाली सेनाले अन्त्येष्टि गरेको छ । मृतकको घरमा रहेका बुहारी र नातीलाई कोरोना संक्रमण पुष्टि भएका कारण आफन्त र छिमेकीले वृद्धाको अन्त्येष्टिमा सहभागी हुन नमानेका हुन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आफन्त र परिवारका सदस्यसँगै छिमेकीले पनि अन्त्येष्टिमा सहभागी हुन नमानेपछि व्यवस्थापनका लागि सेनालाई जिम्मा दिएको बताए । आफन्त र छिमेकी मृतकको घरमा जानै नमानेपछि २२ घण्टापछि सेनाले मोरङको कानेपोखरी जंगल लगेर शव व्यवस्थापन गरेको हो ।

मृतक महिलाका ५६ वर्षीय छोरा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबारदेखि मारवाडी सेवा सदनको आइसोलेसनमा छन् । घरमा वृद्धा आमासँगै ५० वर्षकी बुहारी र २८ वर्षका नाती थिए । बुधबार उनीहरु तीनैजनाको स्वाब संकलन गरिएको थियो ।

घरबाहिर जम्मा भएका आफन्त र छिमेकी

शनिबार राति ९ बजे वृद्धाको घरमै मृत्यु भयो । साँझ नै बुहारीमा कोरोना संक्रमण पुष्टि भयो भने नातीमा संक्रमण देखिएन । आइतबार विहान भने नातीमा पनि कोरोना संक्रमण देखियो । मृतक वृद्धाको भने रिपोर्ट नेगेटिभ आयो ।

वृद्धामा संक्रमण नदेखिए पनि घरका सदस्यमा संक्रमण देखिएका कारण आफन्त र छिमेकी शव व्यवस्थापनमा सहभागी हुन डराएका हुन् । गेटबाहिरै बसेर शव व्यवस्थापनका लागि स्थानीय प्रशासनसँग सहयोग मागिएको आफन्त कुलमणि बरालले बताए ।

कोरोना पोजेटिभ देखिएका मृतकको मात्रै शव नेपाली सेनाले व्यवस्थापन गर्छ । नेगेटिभ देखिए शव आफन्तलाई जिम्मा लगाइन्छ । तर नेगेटिभ रिपोर्ट आएकी वृद्धाको शव व्यवस्थापनमा आफन्तले नमानेपछि सेना खटिएको हो ।

वडाअध्यक्ष विनोद बस्नेतले संक्रमणको जोखिमका कारण आफन्त र छिमेकी घरभित्र पस्न नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment