Comments Add Comment

संकटमा विराटनगर

कोभिड-१९ को महाव्याधि फैलिएसँगै करिब ४ लाख जनसंख्या र ७० हजार घरधुरी भएको विराटनगर संकटमा फसेको छ । प्रदेश-१ को राजधानी विराटनगर कोभिड-१९ को हटस्पट भएको छ । गत साउन ७ गतेबाट संघीय सरकारले लकडाउन खोलेसँगै विराटनगर महानगरपालिकासहित आसपासको क्षेत्रमा संक्रमितको संख्या हृवात्तै बढेको छ ।

सुरुका दिनमा विराटनगरमा देखिएका संक्रमितहरु भारत र तेस्रो मुलुकबाट फर्किएर क्वारेन्टिनमा बसेकाहरु थिए । ३० जना मात्र संक्रमित थिए । तर, आजको दिनसम्म विराटनगरमा संक्रमितको संख्या ५६६ र मृतकको संख्या ७ पुगेको छ । मृतक ६ पुरुष र १ महिला हुन् ।

संक्रमित हुनेहरु सर्वसाधारणदेखि डाक्टर, नर्स, प्रहरी, सफाइ कर्मचारी, प्राविधिक तथा प्रशाशनका कर्मचारी आदि रहेका छन् । हिजोआज दैनिक सरदर ६० जना संक्रमित बढदै छ । करिब एक सय संक्रमित उपचार पश्चात घर फर्किएका छन् ।

अधिकांश संक्रमितको ट्राभल हिस्ट्री देखिदैन । अहिले संक्रमण समुदायमा फैलिएको छ । संक्रमण माहानगरको १९ वटै वडामा फैलिएको छ । कोभिड-१९ नियन्त्रणका लागि भन्दै विराटनगर महानगरले साउन १६ गतेदेखि दुई साताका लागि लगाएको लकडाउन भदौ ५ गतेसम्म बढाएको छ ।

विराटनगरमा संक्रमण फैलिएसँगै प्रदेश-१ सरकार र विराटनगर महानगरपालिका अलमलमा देखिन्छन् । प्रदेश सरकार र महानगरपालिकाले संक्रमण नियन्त्रणको स्पष्ट खाका ल्याउन सकेका छैनन् । अत्यधिक संक्रमणका कारणले कोभिड अस्पतालहरु भरिएका छन् । संक्रमितहरु घरमै आइसोलेसन बनाएर बस्न बाध्य भएका छन् । संक्रमित करिव ९० प्रतिशत होम आइसोलेसन छन् ।

तर, सीमित कोठा हुने घर र डेरामा बस्नेहरुमा संक्रमण फैलिएसँगै व्यवस्थापनमा चुनौती थपिएको छ । प्रदेश सरकार र स्थानीय सरकार व्यवस्थापन गर्न चुकेका छन् । समयमै प्रदेश सरकार र विराटनगर महानगरले संक्रमितहरुलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था नगर्ने हो भने होम आइसोलेसनले झनै संक्रमण विस्तार गर्न सक्छ ।

प्रदेश-१ सरकारले कोभिड-१९ संक्रमितको उपचार गर्न विराटनगरमा कोभिड-१९ अस्पताल गत चैतमा निर्माण गरेको थियो । गत बैशाख ५ गतेबाट सञ्चालनमा छ । तर, अस्पतालका लागि आवश्यक पर्ने आधारभूत स्वास्थ्य सामाग्रीको अभावमा अस्पतालले संक्रमितहरुलाई सही ढंगले उपचार दिन सकेको छैन ।

अस्पतालमा ६ वटा भेन्टिलेटर भए पनि कुनै चालु छैन । सञ्चालन गर्न आवश्यक पर्ने न्यूनतम औषधि र प्राविधिकको कमी छ । अस्पतालमा ३० वटा अक्सिजन सिलिण्डर भए पनि त्यसलाई सञ्चालन गर्ने पाइप लाइन जोडिएको छैन । आईसीयु बेडको कमी देखिन्छ ।

प्रदेश सरकारले कमी कमजोरीलाई तत्काल सच्याएर संक्रमित नागरिकको जीवन रक्षा गर्नुपर्छ । भर्खरै प्रदेश सरकारले प्रदेश भरिका कोभिड-१९ संक्रमितको उपचारका लागि १ करोड ३० लाख छुट्याएर सकारात्मक काम गरेको छ । रकम सही ढंगले खर्च गर्नु पर्छ । भ्रष्टाचार हुन सक्छ । भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । यसलाई आईसीयू बेड निर्माणमा खर्च गर्नुपर्छ । भेन्टिलेटर थप खरिद गर्नुपर्छ । विज्ञ जनशक्ति थप्नुपर्छ । क्वारेन्टिन र आइसोलेसन थप निर्माण गर्नुपर्छ ।

विराटनगर महानगरले पनि आफूलाई सच्याउनुपर्छ । केही दिन अगाडि महानगरका प्रमुख भीम पराजुली प्रदेश सरकार र संघीय सरकारले महानगरलाई स्वाब परीक्षणमा विभेद गरेको भन्दै गुनासो गर्दै थिए । यो समय बिलौना गर्ने र एकअर्कालाई आक्षेप लगाउने समय होइन । विराटनगर महानगर आफैं स्थानीय सरकार हो ।

महानगरपालिकाका जनप्रतिनिधिहरुले आफ्नो क्षमता र योग्यता देखाउनुपर्छ । महानगरले रुवाबासी गर्नुभन्दा संक्रमितहरुको स्वाब परीक्षण गर्ने पीसीआर मेसिन र किट किन्नुपर्छ । भेन्टिलेटर खरिद गर्नुपर्छ । आईसीयु बेड निर्माण गर्नुपर्छ । क्वारेन्टाइन र आइसोलेसन निर्माण गर्नुपर्छ । स्वाब परीक्षण विज्ञ नियुक्त गर्नुपर्छ । संक्रमित नागरिकको सेवामा महानगर समर्पित हुनुपर्छ ।

यस्तो संकटका बेला सरकारको महत्वपूर्ण भूमिका हुनुपर्छ । संघीयताको भावना र मर्मअनुरुप सरकारहरु क्रियाशील हुनुपर्छ । नागरिकलाई कोभिड-१९ को महामारीबाट बचाउनुपर्छ । जनतालाई सरकार चाहिएको नै यस्तै संकटका बेला हो । सामान्य अवस्थामा त जनतालाई सरकार के काम ? जनताले कर तिरेका छैनन् र ?

सरकार जनताको मालिक हैन, सेवक हुनुपर्छ । तीनै तहका सरकारहरु, राजनीतिक दलहरु, नागरिक समाज सबै एक भएर महामारीलाई पराजित गर्नुपर्छ ।

संघीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई सही ढंगले यो महामारीविरुद्ध परिचालन गर्न सक्नुपर्छ । स्थानीय सरकारले आफूलाई खरो रुपमा प्रस्तुत गर्नुपर्छ । जनताको सच्चा प्रतिनिधि भएको भूमिका देखाउनुपर्छ । स्थानीय सरकार जनताको सरकार भन्ने प्रमाणित गर्नुपर्छ । स्थानीय सरकार जनताको सुख-दुःखको सरकार भन्ने प्रमाणित गर्नुपर्छ । यसको गरिमा र महत्वलाई बढाउनुपर्छ ।

तीनै तहका सरकारले संकटका बेला जनताको मन जित्ने काम गर्नुपर्छ । प्रदेश सरकारले आफूलाई जनताको समस्या समाधान गर्न बलियोरुपमा प्रस्तुत गर्नुपर्छ । संघीय सरकार र स्थानीय सरकारबीच रहेको खाडललाई पूरा गर्न प्रदेश सरकारले आफूलाई पुलका रुपमा प्रस्तुत गर्नुपर्छ ।

नेपालीमा एउटा कथन छ- अनिकालमा बीउ जोगाउनु आपतकालमा जीउ जोगाउनु । महामारीको कारणले जीउ र बीउ जोगाउनु आजको प्रमुख कार्य भएको छ । स्थानीय सरकारले जीउ र बीउ जोगाउन लकडाउन गरेको छ ।

जनता पनि कोभिड-१९ महामारीको संक्रमणबाट जीउ र बीउ जोगाउन लकडाउनलाई पूर्णरुपमा पालना गर्दैछन् । लामो समय लकडाउनमै बितेको छ । कोभिड-१९ को उपचारको औषधि पत्ता लागिसकेको छैन । विश्वका वैज्ञानिकहरु यसको उपचार पद्दति र औषधि पत्ता लगाउन व्यस्त देखिन्छन् ।

आशा गरौं औषधि चाँडैं पत्ता लाग्नेछ । रुसले औषधि पत्ता लगाको दाबी पनि गदैछ । यो महामारीबाट बच्न अहिलेको उपचार भनेको सामाजिक दुरी, लकडाउन, क्वारेन्टाइन र आइसोलेसन नै हो । सबैले यसको पालना गरौं र गराऔं ।

महामारीबाट बच्न अति आवश्यक कामबाहेक घरबाट बाहिर निक्लनु हुँदैन । निस्कनै परेमा मास्क अनिवार्यरुपमा लगाउनुपर्छ । कोरोना संक्रमण जहाँ र जुनसुकै अवस्थामा पनि हुन सक्ने भएकाले सजग र सर्तक हुनुपर्छ । कुनै चिज छोएपछि अनिवार्यरुपमा साबुनपानी वा स्यानिटाइजरले हात धुनुपर्छ । भीडभाड गर्नु हुँदैन । भीडभाडमा जानु हुँदैन ।

कोरोना भाइरस चीनको हुबेई प्रान्तको वुहान क्षेत्रमा गत डिसेम्बर ३१ मा पहिलोचोटि फेला परेको थियो । जंगली जीवजन्तुको मासु सेवनबाट यो भाइरस मानिसमा संक्रमित भएको आशंका गरियो । तर, अहिलेसम्म यसको स्रोतबारे स्पष्ट भएको छैन ।

कोरोना भाइरसको महामारीबाट सिंगो विश्व इतिहासकै सर्वाधिक कठिन मोडमा गुज्रिरहेको छ । विश्वका अधिकांश मुलुकहरु यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन् ।

विश्व नै महासंकटमा फसेको छ । विश्व मानव जीवन र मानव स्वास्थ्य अकल्पनीय संकटमा छ । एसियाका धेरै देशहरुले यो महामारीलाई नियन्त्रण गरेता पनि भारत र नेपालमा बढ्दो क्रममा छ ।

भारतमा संक्रमितको संख्या वृद्धि भएसँगै नेपालमा पनि संक्रमितको संख्या वृद्धि भएको छ । विराटनगर भारतसँग सिमाना जोडिएको शहर हो । सरकारले खुला सिमानालाई कडाइ गर्न नसक्दा विराटनगरमा भयाभव स्थिति सृजना भएको छ । सरकारले बोर्डरहरुलाई पूर्णरुपमा बन्द नगर्ने हो भने विराटनगर लगायत तराईका सबै स्थानहरुमा अकल्पनीय क्षति मुलुकले ब्यहोर्नु पर्छ ।

धेरै विश्वका शक्तिशाली भनिएका देशहरु पनि यो महामारीको चपेटामा नराम्ररी फसेका छन् । संक्रमितको संख्या र मृत्युदर बढिरहेको छ । मानिसहरु भय, त्रास र आतंकपूर्ण जीवन बाँचिरहेका छन् ।

कोरोना भाइरसले मानवजातिले आजसम्म गरेको प्रगति, अनुसन्धान विकास र प्रविधिलाई नै चुनौति दिएको छ । मानव सभ्यता र आधुनिक विज्ञानलाई नै कडा चुनौति दिएको छ । यो महामारिको कारणले विश्वको अर्थ राजनीति र विद्यमान शक्ति सन्तुलन नै खल्बलिने र नयाँ शक्ति सन्तुलन निर्माण हुने आकलन गर्न थालिएको छ । यो महामारीविरुद्ध चीन आक्रामक देखिन्छ । तर, अमेरिका रक्षात्मक भएको छ ।

कोभिड-१९ को फैलावटसँगै विराटनगरको जीवनशैली बदलिएको छ । एक किसिमको जेल जीवन मानव समाजले अनुभव गर्दैछन् । खानपिन, सुताइ, उठाइ, बसाइ, पढाइ, लेखाइ, खेलाइ, टीभी हेराइ, फेसबुक, युट्युब आदि दैनिकी भएको छ । मानिसहरु घरभित्र उकुस-मुकुसपूर्ण जीवन बिताइरहेका छन् । विराटनगरका बाहिरी वातावरण सुनसान छ । बजारका चोक गल्ली सबै सुनसान छन् । विराटनगरको वडा नं. ७ र ९ सिल गरिएको छ । अस्पतालहरु सिल गरिएका छन् । केही अस्पतालहरुले आकस्मिक सेवा सञ्चालन गरेका छन् ।

उत्पादन र वितरण सबै ठप्प छ । केही अत्यावश्यक सामाग्रीका पसलहरु बिहान बेलुका खुल्छन् । पसलहरुमा अत्यावश्यक सामानहरुको अभाव देखिन्छ । पसलहरुमा मानिसहरुको भीडभाड देखिन्छ । दिनभरि बाहिरी वातवरण सन्नाटापूर्ण छ । बजारमा अत्यावश्यक सामाग्रीको अभाव देखिन्छ । मूल्यवृद्धि अत्यधिक छ । कालोबजारीको कारण उपभोक्ताहरु मारमा परेका छन् । कालोबजारी नियन्त्रण गर्न सरकार असक्षम देखिन्छ ।

कालोबजारी नियन्त्रणको लागि कठोर कदम चाल्नुपर्दछ र कालोबजारी गर्नेविरुद्ध हदैसम्मको कारवाही गर्नुपर्दछ । सरकारले उपभोक्ताको समस्यालाई ध्यान दिई सहज र सुलभ पसलहरु यथाशीघ्र सञ्चालन गर्नुपर्दछ ।

आफ्ना नागरिकलाई कोभिड-१९ को महामारी रोगबाट मात्र हैन भोकबाट पनि बचाउने दायित्व सरकारको हो । स्थानीय सरकारहरुले महामारीविरुद्ध जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै राहत वितरण गर्नुपर्छ । सर्वोच्च अदालतले पनि श्रमिकको पहिचान गरी उनीहरुलाई खाने व्यवस्था मिलाउन सरकारका नाममा आदेश जारी गरिसकेको छ ।

नेपालको संविधान २०७२ को धारा ३६ ले पनि प्रत्येक नागरिकलाई खाद्य सम्प्रभुताको हकको व्यवस्था गरेको छ । खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित गरिएको छ । लकडाउनका कारणले विराटनगरमा दैनिक ज्यालादारी गरीखाने वर्ग यतिबेला रोगभन्दा चर्को भोकमा डुबेको छ । उनीहरुको काम मात्र हैन, माम पनि गुमेको छ । भोकमरीको चपेटामा फसेका छन् । धेरै मानिसहरु गरिबीको रेखामुनि पुगेका छन् । अन्नपानी र रुपैयाँ पैसा सकिएको छ । घरमा चुल्हो बल्न छाडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment