Comments Add Comment

हामी युवा : कोही हनुमान, कोही बैरागी !

‘विद्यार्थीहरूले आफैँलाई स्कुलमार्फत ठूलो ऋणमा डुबाउने हुँदा समाज परिवर्तन गर्ने बारे सोच्न सक्दैनन्। जब तपाईं ऋण प्रणालीमा मानिसहरूलाई पासोमा पार्नुहुन्छ, तिनीहरू अरू कुरा सोच्नका लागि समय लिन सक्दैनन्।’ – भाषाविज्ञानका ज्ञाता नोम चोम्स्की

चोम्स्कीले यो भनाइ संयुक्त राज्य अमेरिकाका युवाहरूका लागि लेखेका अथवा भनेका हुन् । उनको यो भनाइ जति त्यहाँको अधिकांश युवाहरूका लागि सान्दर्भिक छ, त्यति नै नेपालका युवाहरूका लागि पनि सान्दर्भिक छ । फरक केवल हामीमाथि थापिएका पासोहरूको हो ।

हामी युवाहरू को हौं त ? उमेरको परिभाषालाई आधार मान्ने हो भने हामी १५ देखि ४५ वर्षका मानिसहरू हौं तर उत्पादनशीलतालाई आधार मान्ने हो भने १५ देखि ६० वर्ष उमेर समूहका मानिस नै युवा हुन् । नीतिगत परिभाषामा हामी देशको भविष्य हौँ र अर्थतन्त्रका हिसाबले रेमिट्यान्स भित्र्याउने जनशक्ति ।

हामीमध्ये केही आँखामा राजनीतिक पट्टी बाँधेका ‘हनुमान’हरू हौं भने अरू राजनीतिप्रति घृणा लाग्ने वा राजनीतिमा चासो नै नराख्ने बैरागी हौं ।

हामी परिवर्तन चाहने तर त्यो परिवर्तन कसरी ल्याउने भन्ने कुरामा दोधारे मानसिकता भएका व्यक्ति हौं । हामी परिवर्तन हुन्छ भन्ने सोच राख्ने तर आफैँमा केही पनि नगर्ने आशावादी पुस्ता हौं । हामी जहिले यस्तै हो भनेर सोच्ने निराशावादी पुस्ता पनि हौं । हामीलाई अरूले नबुझ्दा हामी अराजकतावादी, हुल्लडबाजहरू हौं अथवा मानसिक स्वास्थ्यको चेतना राखेर मनोवैज्ञानिक परामर्श लिँदा मनोदशा बिग्रेकाहरू हौं ।

अनि हामी कहिले वरिष्ठता त कहिले अरिपक्वताको बहानामा समाज, राजनीति र देशको अगुवाको रूपमा विश्वास नगरिएका जमात हौँ । जेजस्तो होस्, हामीलाई थापिएको पासो परिभाषाअनुसारको फरक र जटिल छ ।

नोम चोम्स्कीको सन्दर्भ र हाम्रो अवस्थाको अर्को फरक प्रणाली हो । अमेरिकामा प्रणाली छ, हाम्रोमा राज्य प्रणालीको अवशेष । कसरी नहोस्, उनीहरूको समाज जसरी विकास हुँदै गयो, उनीहरूका धेरै प्रणालीहरू त्यसरी नै परिवर्तन हुँदै गए। हाम्रोमा समाज परिवर्तन हुँदै गर्दा हाम्रो प्रणाली सोहीअनुसार विकास हुन सकेन ।

अब थोरै पासोको कुरा गरौँ। ‘शिक्षा नै शक्ति हो’ भन्ने विश्वव्यापी नारामा हामी रुमल्लिरहेका छौँ। तर हामीलाई शासन गर्ने शासक र नीतिनिर्माताहरूले ‘शक्ति नै शिक्षा हो’ भन्ने राम्ररी बुझेका छन् र यही नाराको आडमा आफू अनुकुल शिक्षा नीति निर्माण गरेर आफ्नो शासनसत्ता टिकाउने जालो थापेका छन्।

तसर्थ नेपालमा पठनपाठन हुने शिक्षा न परिपक्व र सान्दर्भिक छ, न त व्यावहारिक । स्नातकोत्तरसम्मै पढ्दा पनि हामी कुनै कुराको परिभाषा मात्रै सिक्छौं, त्यो कुरामा विवेचना, विश्लेषण गर्न सिक्दैनौँ । हामी विश्लेषण गर्न सिक्ने आफ्नै अन्तर्दृष्टिले हो, हामीलाई सिकाइँदैन।

शिक्षाको गुणस्तर सुधार्नेमा राज्यका नीतिनिर्माताहरूको ध्यान गएको देखिँदैन। पढाइका लागि विदेशिएका कुनै युवालाई सोध्नुहोस्, उनीहरूले शिक्षागुणस्तरीय नभएरै उता गएको हो भन्नेछन्।

जस्तो दयनीय अवस्था शिक्षाको छ, त्यस्तै अवस्था रोजगारीको पनि छ। रोजगारी सिर्जना गर्ने नीतिनियम जति नै बनाए पनि व्यवहारमा त्यो कार्यान्वयन हुँदैन । केही सीमितले मात्रै रोजगारी पाएका छन् अथवा सिर्जना गरेका छन्, अरूको गन्तव्य रोजगारदाता मुलुक हुन्छ । नेपालको लगभग ६५ प्रतिसत जनसङ्ख्या कृषिमा लागे पनि नेपालको अर्थतन्त्रको २७ प्रतिसत कुल गार्हस्थ्य उत्पादन गर्छ। रेमिट्यान्सबाट पनि नेपालले लगभग २७ प्रतिसत नै आम्दानी गर्छ ।

जो नेपालमै बसेर रोजगारीमा लागेका छन्, धेरैजसोलाई मुख्य चिन्ता भनेको पेट पाल्नु, घर पाल्नु नै हो। त्यसबाट माथि उठ्ने मौका थोरैले मात्र पाउँछन् । अरूलाई दैनिक ज्यालादारी वा मासिक तलबको लागि हड्डी र दिमाग घोट्नेबाहेक धेरै विकल्प छैन ।

अब थोरै राजनीतिको बारे कुरा गरौं । नेपालमा बहुसङ्ख्यक युवाहरू अल्पसङ्ख्यक बुढ्यौलीले छोइसकेकाहरूको अधीनमा हुन्छौं । माथि भने जस्तै उनीहरूले युवालाई कि परिपक्व भएन भनेर कि त सिनियारिटीको नाममा माथि उठ्न दिँदैनन् । अनि रचनात्मक आलोचना गरी प्रश्न उठाउँदा कि त उखानटुक्काले ती प्रश्नहरू निस्तेज पार्छन्, कि त ‘तपाईं बढी बोल्दै हुनुहुन्छ’ भनेर चुप लगाउँछन् ।

राजनीतिले हामीलाई समाज परिवर्तनको बारेमा सोच्न लगाउँदैनन् बरु ‘राष्ट्रियता’को जाली थाप्छन् । हामी पनि त्यसैमा अल्झिन्छौं र नागरिकको मुद्दा उठाउनुको साटो बुद्धको नागरिकता र सगरमाथा हाम्रो हो भन्ने मुद्दामा अल्झिन्छौँ। अनि हामीमाथि उल्लेखित जालोहरू देख्दैनौँ र पासो थाप्नेहरूसँग त्यति जुध्दैनौँ, बरु कसैले बुद्धमाथि वा सगरमाथामाथि प्रश्न उठायो कि त्यसैमाथि खनिन्छौं ।

राजनीतिसँग हाम्रो ग्लानी यतिमै सीमित छैन । शिक्षा, स्वास्थ्य, रोजगारी सबै कुरामा राजनीतिक हस्तक्षेप हुँदा हामी आजित छौं । राजनीति हाम्रो समस्या सुल्झाउनेमा कहिले पनि केन्द्रित छैन, बरु हाम्रा समस्याहरूको बहानामा स्टाटस क्वो मेन्टेन गर्नतर्फ र त्यसैमार्फत भ्रष्टाचार प्रोत्साहन गर्न लक्षित छ ।

हाम्रो उत्पादनशीलताबाट उठेको करमा रजाइँ गर्न पल्केको नेतृत्व र निजामती प्रणालीले हाम्रो पैसालाई आफ्नो ठान्छन् र विलासितामा खर्च गर्छन् । नेपालको बेरुजुमात्रै वर्षैपिच्छे एक खर्बको दरले बढ्छ अर्थात् त्यति पैसा वर्षेनी कता खर्च भएको छ भनेर लेखाजोखा हुँदैन ।

तर जब जनतालाई समस्या पर्दा सरकारसँग पैसा छैन भन्ने गुनासो सधैं सुन्नुपर्छ। अहिले कोभिडकै समस्यालाई उदाहरणका रूपमा हेर्नुहोस्। क्वारेन्टिन, आइसोलेसन र अस्पतालहरूलाई नै राम्रो व्यवस्था गर्नेमा कागजी रूपमा भनिए पनि व्यवहारमा भने उतार्न सकिएको छैन । तर यही समयमा भ्रष्टाचार र बेथिति भने मौलाएको छ।

राजनीतिले हामीलाई समाज परिवर्तनको बारेमा सोच्न लगाउँदैनन् बरु ‘राष्ट्रियता’को जाली थाप्छन् । हामी पनि त्यसैमा अल्झिन्छौं र नागरिकको मुद्दा उठाउनुको साटो बुद्धको नागरिकता र सगरमाथा हाम्रो हो भन्ने मुद्दामा अल्झिन्छौँ। अनि हामीमाथि उल्लेखित जालोहरू देख्दैनौँ र पासो थाप्नेहरूसँग त्यति जुध्दैनौँ, बरु कसैले बुद्धमाथि वा सगरमाथामाथि प्रश्न उठायो कि त्यसैमाथि खनिन्छौं ।

यसैकारण रुकुम काण्डजस्ता घटनाहरू भइरहन्छन्। परिवर्तनको नारा लिएर राज्यसत्ता हाक्न पुगेकाहरूले आफ्नै परिवर्तनको प्रकियालाई गलत्याएर आफैँ पासो थाप्ने षड्यन्त्रमा लाग्न थाल्दा नेपालमा सोचेकोजस्तो परिवर्तन नआएको हो र त्यही कारण रुकुम घटना, निर्मला पन्तको घटना र अरू त्यस्तै खाले घटनाहरू बारम्बार घटिरहने छन् भन्ने डर छ।

यी घटनाहरू केवल केही व्यक्तिमाथिको हमला थिएन, न मात्रै कुनै एउटा लिङ्ग, वर्ग र जातजातिमाथि भएको थियो । यो युवाहरूमाथि भएको विभत्स हो ।

हामी युवाहरूलाई प्रगति चाहिन्छ भने राजनीतिक व्यक्तित्वको हो मा हो मिलाउन र चाप्लुसी गर्न जरुरी देखिन्छ। यो पासोमा परेका कारण धेरै युवाहरू हनुमान वा अरिङ्गाल बन्नु परेको छ र त्यसरी अवसर सिर्जना गर्नुपरेको छ। आधुनिक कालमा दरबारिया र चौतारियालाई गर्ने चाकरीतन्त्र, पञ्चायतकालमा मण्डलेतन्त्र र अहिलेको हनुमानतन्त्रमा ज्यादै भिन्नता छैन।

तर यसोभन्दा राम्रो नेटवर्क बनाएर अवसर सिर्जना गरेका युवाहरूलाई डिस्क्रेडिट गर्न भने मिल्दैन। तर यसरी मेहेनत गर्नेहरू थोरै छन् र त्यो एउटा दुखको विषय हो।

यसरी केलाउँदै जाने हो भने युवाहरूसँग सम्बन्धित सबै विषयका पासोहरू छरपस्ट भेटिन्छन् तर ती पासोहरू हामीमध्ये थोरैले मात्रै देख्छौँ।

अब युवाहरूले के गर्ने त ?

युवाहरूले अब के गर्ने भन्ने प्रश्न एकदमै जटिल छ र उत्तर दिन पनि कठिन छ । तर यति भन्न सकिन्छ कि युवाले अब हाम्रो अवस्थामाथि खेलाँची गर्दै थापिएका पासोहरू तोड्न सुधारको प्रयत्न गर्नुपर्छ।

नेपालमा जुन तरिकाले पासो थापिएका छन्, यी पासोबाट उम्किनुछ भने कल्चरल रिभ्याम्प अर्थात सांस्कृतिक सुधार जरुरी छ। शक्तिले भ्रष्ट बनाउँछ र अहिलेको शक्ति भ्रष्ट भैसकेको छ। त्यसैले अहिलेको नेतृत्व सम्हालेको जमातबाट यस्तो सुधारको अपेक्षा राख्न सकिदैन।

युवाहरूले जहिले यस्तै हो भनेर नसोची यसरी थापिएका पासोहरूलाई च्यालेञ्ज गर्ने हो भने आफूले चाहेकोजस्तो परिवर्तन सम्भव छ। समालोचनात्मक प्रश्न उठाएर नेतृत्वलाई झक्झकाउने काम हाम्रो हो। तर यसरी समालोचना गर्दा प्रोयक्टिभ नभई रियाक्टिभ भए झनै यस्तै पासाहरूमा रुमल्लिरहन सक्ने सम्भावना झनै बढ्छ।

यसरी पासो थापेरै आफूलाई शक्तिशाली बनाउन पल्केकै कारण धेरै अध्येता तथा विश्लेषकहरूले राज्यको असफलता बारे लेखिसक्नु भएको छ। युवाहरूले चाहे भने उथलपुथल ल्याउन सक्छन् भन्ने उदाहरण हालैको इनफ इज इनफको सामाजिक अभ्यासले प्रस्तुत गरिसकेकाछन्।

यदि नेपालको नेतृत्व यथास्थितिवादी नै भइराखे र इनफ इज इनफजस्ता सामाजिक अभियानहरूलाई युवाहरू फेरि पनि इनफ इज इनफ भन्दै ठूलो राजनैतिक तथा सामाजिक आन्दोलनहरू उठाउन सक्नेछन् भन्नेमा म विश्वस्त छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment