Comments Add Comment

बालापनबारे राष्ट्रकवि भन्थे : अहिले पनि मभित्र बालकत्व छ

३ भदौ, काठमाडौं । संवत् २०६६ भाद १५ गते दिउँसो करिब १२ बजेतिर मैले जीवनमा सधैँ सम्झिरहने समय हो । अघिल्लो दिन वरिष्ठ साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’को सहयोगमा मैले राष्ट्रकवि माधवप्रसाद घिमिरेलार्ई फोन गरेको थिएँ ।

हुन त मलाई अर्कै कामका लागि उहाँलाई भेट्नु थियो, तर पनि मौकामा उनीसँग लामै कुराकानी गर्न मन थियो । त्यति बेला म ‘हाम्रो आँगन’नामक एक बाल पत्रिकामा फाट्टफुट्ट लेख्थेँ । त्यसैले मैले उनीसँग उनको बालापनबारे कुराकानी गरेको थिएँ ।

मैले पढेअनुसार र जानेअनुसार आदरणीय कविजीको बाल्यकालको सन्दर्भ उल्लेख गर्दै मैले उनलाई त्यो बेलाको र अहिलेको बालापनबीच उनले देखेको फरक सोधेँ । “पढ्ने विषय थोरै थिए, उमेरअनुसारको भार थियो, तर पहिले हामी प्रकृति पढ्थ्यौँ, उन्मुक्त भएर सिक्न सक्थ्यौँ” कविले कुरा सुरु गरे ।

“आजको समयका बालकहरू बेन्चमा पढ्छन् । उनीहरू प्रकृतिको नगिचमा रमाउँदै, खेल्दै, सिक्दै पढ्नबाट वञ्चित छन् ।” यो मैले नसोचेको उत्तर थियो । अझ उनका अनुसार त्यसबाट वञ्चित हुनुपर्दा बालबालिकाको मनमा पीडा हुन्छ रे । “मन र शरीरभरि पीडा बोकेको बेलामा ज्ञान कसरी आउँछ ?” उनको यो प्रश्नले भने मलाई पनि गम्भीर बनाएको थियो ।

शिक्षा औपचारिक मात्र भयो भने, अथवा कक्षाकोठाभित्रको शिक्षाले मात्र बालबालिकाको विकास गर्न सक्दैन भन्ने उनको सार थियो । “बालकका लागि पाठशाला मुख्य गरी तीन ओटा छन् : घर, विद्यालय र समाज” उनले आफ्नो तर्क राखे, “घरमा आमाबाबु गुरु हुन्छन् । नैतिकता र संस्कृतिको शिक्षाको मूल स्रोत नै घर हो । मानिसको जीवनशैली र सोचाइ पनि उसले घरमा पाएको शिक्षाअनुसार हुन्छ ।”

दोस्रो विद्यालयबारे व्याख्या गर्नु उनले आवश्यक ठानेनन् क्यारे, मात्र “विद्यालयको औपचारिक शिक्षा पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ” भने । तेस्रो विद्यालय, समाजको कुरा गर्दा उनले आफूले बच्चामा साथीहरूसँग पौडी र गुच्चा खेल्दै नैतिकता र इमान्दारिताको पाठ सिकेको सम्झिए । “चरित्र निर्माण किताबमा लेखेर मात्र हुँदैन”, उनले बोलेको यो वाक्य मलाई अत्यन्त महत्त्वपूर्ण र गम्भीर तथा शिक्षाप्रद लाग्यो ।

मैले कविजीलाई आफ्नो बालापन सम्झन आग्रह गरेँ । “मलाई बालापनका दुई कुरा असाध्यै मन पर्छन् ः निर्दोषपना र उत्सुकता”, सायद् आजका बालबालिका अङ्ग्रेजी पदावलीमा बानी परेका छन् भन्ने सम्झेर होला, उनले आफ्ना कुराहरूको शाब्दिक अनुवाद पनि गरे । “सच्चा मनुष्यका लक्षण यिनै हुन् । एउटा बालकको निर्दोष मनले नकारात्मक केही सोच्दैन । उत्सुकताबाट मौलिक विज्ञान जन्मन सक्छ । एउटा बालकले सोध्ने ‘पात किन हरियो हुन्छ ?’ अथवा ‘नदी किन बहिरहन्छ ?’ भन्ने प्रश्नमा कति ठुलो विज्ञान लुकेको हुन्छ ?आफूमा भएको उन्सुकतालाई मारेको भए न्युटन र ग्यालिलियो आज विश्वविज्ञानका जन्मदाता बन्ने थिएनन् ।”

यसै प्रसङ्गमा उनेले आफूलाई ‘ठुला’ भन्नेहरूले बालबालिकाको उत्सुकतालाई ‘वाहियात् !’ भनेर मार्ने गरेकोमा आक्रोश पोखे । बालबालिकालाई निर्दोषपना र उत्सुकता फस्टाउने गरी शिक्षा दिनुपर्ने उनको विचार थियो ।

अब मैले उनलाई “बालापन सकिएपछि पनि बालबालिकाहरूसँग कत्तिको नजिक हुनुहुन्छ ?’ भनेर सोधेँ । उत्तरमा मैले पाएको वाक्य हो, “अहिले पनि मभित्र बालकत्व छ” । “अहिले पनि म बालक नै छु, बालसाहित्य लेख्दा मभित्रको बालक बोलेको हुन्छ” सिधै बुझ्दा सरासर झुट लाग्ने यो सत्यतालाई उनले प्रष्ट पारे, “फरक यति हो, म बालक छु, र पनि आज मभित्रको बालक आफैँ हेर्न र अनुभव गर्न सक्छु ।”

अब मलाई ‘टालाटुली बटुली’देखि ‘लाग्दछ मलाई रमाइलो’जस्ता बालबालिकाहरूबीच अत्यन्त प्रिय गीत र कविताहरू रचेका यी महापुरुषलाई बालसाहित्यबारे सोध्ने इच्छा भयो । “बालसाहित्य केका लागि ?” बडो उत्साहित भएर मैले वाक्यको बनौट पनि विचार नगरी प्रश्न सोधेँ । उनको पनि छोटो र सिधा उत्तर थियो “बालबालिकाको विकास र मनोरञ्जनका लागि ।”

उनका अनुसार बालबालिकाको विकासमा मात्र सहयोग पु¥याउने तर मनोरञ्जन दिन नसक्ने र रमाइलो मात्र गराउने तर विकासका लागि केही योगदान नदिने साहित्य बालसाहित्य हुन सक्दैन ।

“बालसाहित्यको लेखाइ वयष्कहरूका लागि लेखिने साहित्यको लेखाइभन्दा के फरक हुन्छ त ?”, मेरो जिज्ञासा अझै शान्त भइसकेको थिएन । यसमा पनि उनको उत्तर बुँदागत नै थियो ः “शब्दज्ञान र अवधारणा ः बालबालिकामा सम्बन्धित विषयको शब्दज्ञान र अवधारबारेको ज्ञान कति छ, त्यो विचार गरिएन भने त्यो बालबालिकाका लागि पाच्य हुँदैन ।” उनकै शब्दमा उमेरअनुसारको शब्दज्ञान र अवधारणाको विकास विचार नगरी ‘बालसाहित्य’को नाममा कसैले केही लेख्छ भने, त्यो ‘खचडापचडा’ मात्र हुन्छ । “साथै बालसाहित्य लेख्नका लागि बालबालिकाको सामान्य मनोविज्ञान बुझेकै हुनुपर्छ । गहिराइमा मनोविज्ञान बुझेको भए झन् राम्रो हुन्छ”, उनले बालसाहित्यकारका लागि लक्ष्मणरेखा कोरिदिए ।

अबको चरणमा हामी कविज्यूको आफ्नै साहित्यिक यात्रामा केन्द्रित भयौँ । आजका राष्ट्रकविको कविता–यात्रा ‘बालकवि’का रूपमा सुरु भएको रहेछ, १४–१५ वर्षको उमेरमा । त्यतिबेलाका चल्तीका कविहरूको सिको गरेर उनले गोरखापत्रमा ‘वैराग्य पुष्प’ नामको कविता छपाएका रहेछन् ।

“साहित्यकार कुनै पनि सिद्धान्तमा बाँधिनुहुन्न, स्वतन्त्र भएर आफ्नो बोली लेख्न सक्नुपर्छ” भन्ने धारणा राख्ने कवि आफ्ना सबै कृतिहरूमा आफ्नै मौलिकता लेखिएको दाबी गर्थे ।

मैले उनलाई ‘तपाईँको साहित्यमा लाग्नुको उद्देश्य के थियो ? आजसम्म आइपुग्दा कत्तिको पूरा भयो ?’ भनेर पनि सोधेको थिएँ । एक वाक्यको उनको जवाफ थियो, “जीवन र संसारलाई कविले आफ्नै दृष्टिले हेर्न सकूँ ।”

‘छन्द कविताका वकिल’, ‘छन्दवादी’ तथा ‘गद्य कविताका विरोधी’ भनेर कसैकसैले भनेका कविलाई मलाई “साहित्यमा धेरै विधामध्ये कविता नै किन रोज्नुभयो ? अनि त्यसमा पनि छन्दमा मात्र लेख्नुहुन्छ ?”भनेर सोध्ने पुरानो इच्छा थियो । कविजी रिसाउनुहोला कि भन्ने कुनै पनि डर नमानी मैले फ्याट्टै सोधिहालेँ । “भाव र विचारलाई एक–अर्कासँग पु¥याउन शब्दको साथ सङ्गीत भयो भए बढी प्रभावकारी रूपमा काम गर्छ । त्यो सङ्गीत कविता र गीतमा हुन्छ, अझ छन्दमा त्योभन्दा पनि बढी हुन्छ”, उनको प्रष्ट उत्तर थियो । “लय त ‘लेफ्ट–राइट’मा पनि हुन्छ । तर त्यसमा माधुर्य छैन” उनले थपे । साथै आफ्नो कविताप्रेम र छन्दमोहका लागि लेखनाथ, देवकोटाले सिकाएको संस्कार पनि जिम्मेवार रहेको बताए ।

अन्तर्वाताका लागि मैले मागेको समय सकिन लागिसकेको थियो । म निष्कर्षात्मक प्रश्न सोध्ने तरखर गर्न लागेँ । “बालबालिकामा बालापनदेखि नै लेख्ने बानीको विकास गर्न के गर्नुपर्ला ?“, मैले सोधेँ । “सबभन्दा पहिला उसको रुचि हेनुप¥यो । ऊ कविता–गीतमा रमाउन चाहान्छ कि रेखाहरू कोर्न र यन्त्रहरू चलाउन ? त्यसपछि परिवारले वातावरण बनाइदिनुपर्छ । उसलाई प्रोत्साहन दिनुपर्छ । उसको उत्सुकतालाई मार्नुहुन्न,” एक पटक पनि नरोकिई उनले कुरा टुङ्ग्याए । “जबर्जस्त प्रतिभा छ भने सबै बाधाहरूलाई छलेर ऊ अगाडि बढ्न सक्छ”, गाउँमा पढ्ने वातावरण नभएपछि भागेर काठमाडौँ आएको आफ्नो बालापन सम्झिदै उनले भने ।

हुन त मलाई “मभित्र आज पनि बालकत्व छ” भन्ने व्यक्तित्वलाई यो प्रश्न सोध्ने कि नसोध्ने द्विविधा थियो, तैपनि सोधेँ, “फेरि बालक बन्न पाए………….?” कविजी एकाएक गम्भीर देखिए र भने, “आमाको अनुहार सम्झन पाइएन । आमाको माया र आमाको काखमा रमाउन मन लाग्थ्यो होला ।”

आफ्नो पूर्वयोजनाअनुसार नै मैले अन्तिम प्रश्न सोधेँ, “आजका बालबालिका कस्ता बनून् ?” सायद् उनलाई पनि यो सवाल मन प¥यो होला । र त, बडो उत्साहका साथ उत्तर दिए, “आइन्स्टाइनजस्ता बनून् । शङ्कराचार्यजस्ता बनून् । गान्धीजस्ता बनून् । लिङ्कनजस्ता बनून् । देवकोटाजस्ता बनून् ।” साह्रै मिठो उत्तर पाएर म दङ्ग परिसकेको थिएँ, तर उनले अझै थपे, “जोजस्तो बने पनि आफू बनून् । अरूबाट त प्रेरणा मात्र लिने हो ।” आखिर अन्तर्वार्ताभरि उनले आफ्नो मौलिक अस्तित्वमा जोड दिएका छन् ।

लैनचौरस्थित राष्ट्रकविको रमणीय घरको बैठककोठामा बिताएको डेढ घण्टा मेरो लागि अविस्मरणीय रह्यो । “टालाटुली बटुली” र “गाउँछ गीत नेपाली”देखि आज “विशाल नेपाल म रच्छु–रच्छु, कहाँ छ मृत्युञ्जयलाई मृत्यु ?” पढ्दासम्म यसका रचनाकार कवि माधवप्रसाद घिमिरेलाई भेट्नु एउटा साँचेको सपना थियो ।

भौतिकरूपमा जीवनको दसौँ दशक टेक्न लागेका, तर मनले बालापन र युवा जोस व्यक्त गर्न सक्षम राष्ट्रकविलाई एकानब्बेऔँ जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना दिएर म निस्किने तरखरमा थिएँ । कविले आफ्नै कविताको यो प्रेरणादायी श्लोकमा भनेजस्तै गरी जीवन बाँच्न आशीर्वाद दिँदै मलाई बिदाइ गरे ः

“कल्ले टेक्यो यस शिखरमा पाइला यो चुमूँ कि

खोजी–खोजीकन हिमचुली सात फेरा घुमूँ कि ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment