News Summary
Generated by OK AI. Editorially reviewed.- राजस्थान रोयल्सले आईपीएल क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै मुम्बईलाई २७ रनले पराजित गरेको छ।
- वर्षाका कारण खेल ११ ओभरमा घटाइएको थियो र राजस्थानले १५१ रनको लक्ष्य दिएको थियो।
- राजस्थानले ३ खेलमा ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ भने मुम्बई २ अंकसहित सातौं स्थानमा छ।
२५ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार तेस्रो जित निकालेको छ । मंगलबार राति ढिला सुरु भएर मध्यरातपछि सम्पन्न खेलमा राजस्थानले मुम्बईलाई २७ रनले पराजित गरेको हो ।
वर्षाका कारण टस नै समयमा हुन सकेको थिएन । त्यही कारण खेल पनि ११ ओभरमा घटाइएको थियो । ११ ओभरको खेलमा राजस्थानले दिएको १५१ रनको बलियो लक्ष्य पछ्याएको मुम्बईले ९ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो ।
नमन धिर र शेरफन रदरफर्डले सर्वाधिक समान २५ रन बनाए । तिलक वर्माले १४ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
राजस्थानका लागि नान्द्रे बर्गर, रवि विश्नोई र सन्दीप शर्माले २-२ विकेट लिँदा जोफ्रा आर्चर र तुषार देशपान्डेले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित ११ ओभरमा ३ विकेट गुमाएर १५० रन बनाएको थियो । ओपनर यशश्वी जैसवाल र वैभव सूर्यवंशीले शानदार सुरुवात दिलाए ।
जैसवाल ३२ बलमा ७९ रनमा अविजत रहे । उनले १० चौका र ४ छक्का प्रहार गरे । वैभवले १४ बलमा ३९ रन बनाएर आउट भए । कप्तान रियान परागले २० रन बनाए ।
मुम्बईका अलाह गजनफरले २ विकेट लिँदा शार्दुल ठाकुरले १ विकेट लिए ।
लगातार तेस्रो जितसँगै ३ खेलमा ६ अंक जोडेको राजस्थान शीर्षस्थानमा उक्लिएको छ । ३ खेलमा २ अंक भएको मुम्बई सातौं स्थानमा छ ।
प्रतिक्रिया 4