Comments Add Comment

कोभिड असर : विस्थापनको संघारमा चार लाख घरेलु उद्योग

फाइल तस्वीर

४ भदौ, काठमाडौं । कोभिड–१९ नियन्त्रणका लागि सुरु भएको लकडाउन पछिका पाँच महिनामा देशभरका चार लाख घरेलु तथा लघु उद्यम विस्थापनको संघारमा पुगेका छन् ।

थोरै सञ्चालन पुँजी, मानवीय श्रममा निर्भर उत्पादन र साँघुरिएको बजारका कारण यी उद्योग धरासायी बनेका छन् ।

उद्योग वाणिज्य महासंघ अन्तर्गतको उद्योग तथा व्यवसाय काउन्सिलका अनुसार, यी उद्यम चल्नै नसक्ने भएपछि ९० प्रतिशत सञ्चालक पलायनको अवस्थामा पुगेका छन् । काउन्सिलका अध्यक्ष किशोर कुमार प्रधान भन्छन्, ‘रु.२० लाखसम्म चालु पुँजी भएका ९० प्रतिशत उद्योग बन्द नै भए ।’

उनका अनुसार, गएको पाँच महिनामा साना, घरेलु, लघुसहित सेवा, खाद्यान्न उत्पादन र नवप्रवर्तनका उद्योग–व्यवसाय महासंकटमा फसेका छन् । महासंघको अध्ययनमा अधिकांश साना तथा घरेलु उद्योग बन्द भएको, मझौला उद्योगको क्षमता ३० प्रतिशतमा झरेको र ठूला उद्योगहरु संकट निकटमा पुगेको प्रधानले बताए ।

कोभिड-१९ बाट परेको असरको यकिन विवरण आइनसके पनि लघु, घरेलु र साना उद्योगको अवस्था नाजुक भएको उद्योग विभागले जनाएको छ

महिला उद्यमी महासंघका अध्यक्ष रिता सिंह उद्योग–व्यवसायले भाडा र बैंकको ब्याज तिर्नै नसकेको बताइन् । उनका अनुसार ९० प्रतिशत उद्योग यस्ता समस्यामा छन् । ‘शहरका एकाध उद्योगले समय–परिस्थिति अनुसार आफूलाई परिस्कृत गरे पनि मोफसलका लगभग सबै उद्यम समस्याहरुको भूमरीमा परेका छन्’, उनी भन्छिन् ।

साउन मसान्तसम्म उद्योग विभागमा एक हजार एक सय ७७ ठूला, एक हजार ८६१ मझौला र पाँच हजार दुई सय ३५ वटा साना उद्योग दर्ता भएका थिए । यी उद्योगहरुमा रु.१० करोडभन्दा बढी सञ्चालन पुँजी रहेको विभागले जनाएको छ ।

आर्थिक गणना २०७५ अनुसार देशभर हाल ९ लाख २३ हजार ३५६ वटा उद्योग तथा व्यवसायजन्य प्रतिष्ठान सञ्चालनमा छन् । यीमध्ये चार लाखभन्दा बढी घरेलु तथा लघु उद्योग हुन् ।

उद्योग विभागका निर्देशक विनोद खड्का कोरोना संक्रमणमा सुरक्षा प्रबन्ध गर्न, उत्पादन शैली बदल्न र बजारमा उपस्थिति जनाउन नसकेका उद्यम गम्भीर संकटमा परेको बताउँछन् । पाँच महिनादेखिको संकट अझ बढ्दै जाँदा उद्योगहरु धरासायी बनेको उनले बताए ।

उद्योग बचाउन सहयोग जरुरी 

कोभिड-१९ बाट परेको असरको यकिन विवरण आइनसके पनि लघु, घरेलु र साना उद्योगको अवस्था नाजुक भएको उद्योग विभागले जनाएको छ । ठूला उद्योगहरुले भने जेनतेन धानेको विभागका महानिर्देशक जीवलाल भुसाल बताउँछन् ।

कोभिड संकटले आफूहरु पहिलेको अवस्थामा फर्कन नसक्ने गुनासो उद्योगीहरुबाट आउने गरेको उनले बताए । उनी भन्छन्, ‘उद्योगमा फर्किन बैंक किस्ता, पुनरकर्जा, दर्ता, नवीकरण जस्ता कुरामा सरकारको सहयोग रहोस् भन्ने उद्योगीहरुको आशा छ ।’

हालको अवस्था अन्त्य भएपछि पनि थप स्कीम चाहिनसक्ने विभागको ठम्याइ छ ।

देशका कुल उद्योगमध्ये एक प्रतिशत जतिले आफूलाई संकट अनुसार बदलेको विभागको भनाइ छ । महानिर्देशक भुसाल होम डेलिभरी, मास्क तथा स्यानिटाइजर उत्पादन कोभिड संकटकै बेला फैलिएको बताउँछन् ।

महिला उद्यामी महासंघकी अध्यक्ष सिंह कतिपय उद्यमीको यस्तो प्रयास सकारात्मक भएपनि पर्याप्त नभएको बताउँछिन् । त्यसमाथि चैत्र ११ देखि साउन मसान्तसम्मको लकडाउन पुनः दोहोरिनुले संकटको अनिश्चितता बढाएको उनको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment