Comments Add Comment

एप्पलले रच्यो इतिहास, बन्यो २ ट्रिलियन डलरको पहिलो कम्पनी

अमेरिकी कम्पनी एप्पल २ ट्रिलियन डलर बजार मूल्य भएको पहिलो सार्वजनिक कम्पनी बन्न सफल भएको छ ।

बुधबार कम्पनीको शेयर मूल्य बढेर प्रतिशेयर ४६७.७७ डलर पुगेसँगै एप्पल कम्पनीको बजार मूल्य २ ट्रिलियन डलर पुगेको हो ।

गत जुलाई महिनामा सार्वजनिक भएको कम्पनीको उत्साहबर्धक वित्तीय प्रतिवेदन पछि एप्पलको शेयर मूल्यमा लगातार भइरहेको बढोत्तरी सँगै यसको बजार मूल्यले २ ट्रिलियन डलरको कोशेढुंगा पार गरेको छ ।

विगतमा आइफोनलगायतका ग्याजेटको बिक्रीमा बढी निर्भर रहेको एप्पलको आम्दानीको ठूलो हिस्सा पछिल्लो समय सफ्टवेयर तथा अन्य सेवामा समेत उल्लेख्य वृद्धि भएसँगै लगानीकर्ताहरुको विश्वासमा वृद्धि भएको बताइएको छ ।

साथै कोरोना भाइरसकालमा एप्पल कम्पनीमा ठूला संस्थागत लगानीकर्ताहरु समेत भित्रिएका र त्यसको सकारात्मक प्रभाव एप्पलको शेयर मूल्यमा परेको बताइएको छ ।

अमेजन, माइक्रोसफ्ट तथा गुगललगायतका प्रतिस्पर्धी कम्पनीहरुको मूल्य १ ट्रिलियन डलरको सेरोफेरोमा रहेको अवस्थामा एप्पलले आफूलाई दोब्बर मूल्यवान बनाउन सफल भएको छ । यो सँगै एप्पल, अमेजन, माइक्रोसफ्ट र गुगल कम्पनीको गरी कूल बजार मूल्य ६ ट्रिलियन डलर पुगेको छ ।

विश्वमा कोरोना भाइरस महामारीको लकडाउनका कारण धेरै देशमा एप्पल स्टोरहरु बन्द हुँदासमेत आइफोन, आइप्याड तथा म्याकको अनलाइन बिक्री उत्साहबर्धक रह्यो ।

सन् २०२० को दोश्रो त्रैमासिक अवधिमा एप्पल कम्पनीले वस्तु तथा सेवाका सबै क्षेत्रका साथै हरेक भौगोलिक क्षेत्रहरुमा आफ्नो आम्दानीमा वृद्धि गर्न सफल भएको भयो । महामारीका कारण विश्व अर्थतन्त्र तहसनहस भैरहँदा एप्पलले भने यो वर्ष सन् २०२० मा आफ्नो कम्पनीको मूल्यमा ५७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

सन् १९७६ मा स्टिभ जब्सले आफ्नो घरको ग्यारेजमा स्थापना गरेको एप्पल कम्पनीको मूल्य पहिलोपटक सन् २०१८ मा १ टि्रलियन डलर पुगेको थियो । जस अनुसार पछिल्लो दुुई वर्षमै एप्पलले आफ्नो मूल्य दोब्बरले बढाएको हो ।

गत जुलाई ३१ गते साउदी अरेबियाको सरकारी तेल कम्पनी अराम्कोलाई पछि पार्दै एप्पल विश्वको सबैभन्दा मूल्यवान सार्वजनिक कम्पनी बनेको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment