४ भदौ, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले विपतमा परी ज्यान गुमाउनेको परिवारलाई जनही १ लाख रुपैयाँ दिने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विपतमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई १ लाख दिने निर्णय गरेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जनकारी दिए ।
पछिल्लो २ महिनामा सुदूरपश्चिममा विपतबाट ६४ जनाको मृत्यु भइसकेको छ । ‘उनीहरुका परिवारलाई १ लाख दिने निर्णय भएको छ’ मन्त्री सुवेदीले भने ‘प्रदेश सरकारले अन्य राहतका कार्यक्रम पनि ल्याउनेछ ।’
विपतबाट ज्यान गुमाउनेको परिवारलाई संघीय सरकारले भने जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ । एकै परिवारको एक जना भन्दा बढीको मृत्यु भएमा एक जनाको २ लाख र त्यसपछि अरु मृतकको हकमा प्रति मृतक १ लाख रुपैयाँ दिने बताएको छ ।
विपतबाट भएको क्षतिपूर्तिका लागि प्रदेश सरकारले १ करोड रकम समेत उपलब्ध गराउने निर्णय गरेको छ ।
‘घर विहीन भएकाहरू पूर्ण क्षति र आंशिक क्षति भएकाहरूलाई राहत दिन आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई १ करोड उपलब्ध गराउने निर्णय भएको छ’ उनले भने ।
बिहीबारको मन्त्रिपरिषद बैठकले रामारोशन पर्यटन बोर्ड गठन प्रक्रिया समेत अघि बढाउने निर्णय गरेको उनले जानकारी दिए ।
प्रतिक्रिया 4