Comments Add Comment

संक्रमितको ज्वरो नाप्न सफाइ कर्मचारी आइसोलेसनमा गएपछि…

७ भदौ, जनकपुरधाम । शरीर पीपीईले ढाकिएको छ । आँखामा चश्मासहित कोरोना संक्रमणबाट बच्न हरेक उपाय अबलम्बन गरिएको छ । कोरोना संक्रमण नहोस् भन्ने पूरै सतर्कताका साथ हातमा थर्मल गन लिएर एक व्यक्ति कोरोना संक्रमितको ज्वरो नाप्न आइसोलेसनमा आउँछन् ।

केहीको ज्वरो नाप्छन् पनि उनी । तर, एक जनाले उनलाई चिन्छन् । उनी कुनै चिकित्सक अथवा स्वास्थ्यकर्मी नभई सरसफाइ गर्ने एक जना कर्मचारी रहेछन् ।

‘तपाईं त सरसफाइ गर्ने कर्मचारी होइन ?’ एक जना कोरोना संक्रमितले राखेको जिज्ञासामा उनले ‘हो’ भन्छन् ।

‘थर्मल गनमा तापक्रम कति देखिएको छ ?’ संक्रमित युवकको प्रश्नमा उनी भन्छन्– मलाई के थाहा ?’

‘अनि कसरी आउनुभयो ज्वरो नाप्न ?

‘डाक्टरले पठाएपछि आएको हुँ’ ती सरसफाइ कर्मचारीले भने ।

यो दृश्य र संवाद धनुषाको नगराइन नगरपालिकास्थित गांगुली आइसोलेसनको हो । कोरोना संक्रमितको उपचार गर्न बनाइएको यो आइसोलेसनमा चिकित्सक वा स्वास्थ्यकर्मी आउँदै, आउँदैनन् । यहाँ थर्मल गन बोकाएर सरसफाई कर्मचारीलाई नै तापक्रम जाँच्न पठाइँदोरहेछ ।

यसअघि पनि यहीँ स्वास्थ्यकर्मी भनेर एक व्यक्तिलाई तापक्रम नाप्न पठाइने गरेको आइसोलेसनमा बसेकाहरु बताउँछन् ।

जनकपुरधामका एक जना सञ्चारकर्मी संक्रमित भएर यहाँ पुगेपछि यस्तो भेद खुलेको हो । ती सञ्चारकर्मीले सरसफाई कर्मचारीलाई चिनेका रहेछन् । शनिबार उनी थर्मल गन लिएर जाने वित्तिकै सञ्चारकर्मीले उनलाई चिनेपछि स्वास्थ्यकर्मीका भेषमा उनलाई नै अधिकांस दिन पठाइने गरेको यसअघि आइसोलेसनमा बस्दै आएकाहरुले बताए ।

आइसोलेसन संयोजक सन्तोष ठाकुरका अनुसार शनिबार यहाँ डा. दीपु यादवको ड्यूटी रहेको बताए । यद्यपि आफू तत्काल बाहिर रहेकाले त्यहाँ गएपछि यथार्थ कुरा थाहा हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment