
७ भदौ, रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले भदौ ७ सम्मको निषेधाज्ञा थप एक साताको लागि लम्ब्याएको छ ।
कोरोना संक्रमणको जोखिम कम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा संक्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम निषेधाज्ञालाई भदौ ८ देखि १५ गते सम्म एक साता थपेको हो ।
निषेधाज्ञामा खाद्यान्न, निर्माण सामग्रीका पसल तथा बैंकहरु बिहान ७ देखि ११ बजे सम्म संचालनको छुट दिएको छ । स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्ने शर्तमा सो सहुलियत प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
११ संक्रमित थपिए
रौतहटमा पछिल्लो २४ घण्टामा कोभिड १९ (कोरोना) का ११ संक्रमित थपिएका छन् । रौतहटको राजदेवी र बौधिमाई नगरपालिकाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
रौतहटको राजदेवी नगरपालिका ४ का ६ जना र बौधिमाई नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
संक्रमण पुष्टि भएका सबै संक्रमित स्थानीय संक्रमित रहेका जनस्वास्थ्य कार्यालयका प्रवक्ता हरेन्द्र गुप्ताले बताए ।
यो रौतहटमा संक्रमितको संख्या १ सय ६० पुगेको छ । रौतहटमा स्वाब संकलन गरिएकामध्ये ९ सय ८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
प्रतिक्रिया 4