Comments Add Comment
प्रदेश ५ का कोरोना अस्पताल :

बुटवलमा जनशक्ति अभाव, भैरहवामा आईसीयू वेड अलपत्र

८ भदौ, बुटवल । २५० बेड आईसीयू र १०० वटा भेन्टिलेटर थप्ने सामाजिक विकास मन्त्रालयको प्रस्ताव प्रदेश ५ को मन्त्रिपरिषदमा विचाराधीन छ । तर दक्ष जनशक्तिकै अभावमा कोरोना विशेष अस्पतालहरुमा भएका आईसीयू र भेन्टिलेटर प्रयोगमा आउन सकेको छैन । आईसीयू र भेल्टिलेटर चलाइरहेका अस्पतालमा पनि जनशक्ति अभाव देखिएको छ ।

लक्षण भएका र स्वास्थ्यमा समस्या भएका संक्रमितको संख्या भने दिन प्रतिदिन बढ्दो छ ।

प्रदेश ५ का ४ वटा कोरोना अस्पतालमा ३१ आईसीयू बेड छन् भने १३ भेन्टिलेटर । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा बनाइएको कोरोना अस्पतालमा आईसीयूू कक्षमा १६ बेड छन् । सबै बेडमा लक्षणसहितका गम्भीर स्वास्थ्य समस्या देखिएका बिरामी छन् ।

तर जनशक्तिको अभाव छ । एकजना नर्सले आईसीयूमा रहेका ७ जना बिरामीलाई हेर्नुपर्ने वाध्यता छ । शुरुमा आईसीयूमा ८ बेड हुँदा जति मेडिकल अफिसर र नर्स थिए, अहिले १६ पुर्‍याउँदा पनि उनीहरुले काम गरिरहेका छन् ।

‘अति आवश्यक माग अनुसार नर्सिङ स्टाफ नहुँदा एकजना नर्सले सातजनासम्म बिरामी हेर्नुपर्ने वाध्यता छ, जबकी एकजना बिरामीका लागि एकजना नर्सको व्यवस्था हुनुपर्ने हो’ अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले भने, ‘बेड संख्या र भरिभराउ बिरामीको तुलनामा जनशक्ति एकदमै कम छ । तैपनि एकजनाले दुई सिफ्ट काम गरेर भएपनि बिरामीको उपचारमा कमी हुन दिएका छैनौं ।’

अस्पतालका लागि कम्तीमा ३० जना नर्सको व्यवस्था हुनुपर्ने उनी बताउँछन् । अस्पतालमा ४ वटा भेन्टिलेटर छन् । बिरामीलाई सहज रुपमा चौबिसै घण्टा सेवा दिन नर्स, मेडिकल अफिसर, कन्सल्टेन्ट डाक्टरसहित कम्तीमा ५० जना स्वास्थ्यकर्मी तत्काल आवश्यक रहेको डा. थापा बताउँछन् ।

भीम अस्पतालमा शुरु भएन आईसीयू

प्रदेश सरकारले भैरहवाको भीम अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गर्ने बताएको छ । अस्पतालले २७ बेड कोरोना संक्रमितको उपचारका लागि व्यवस्था गरेको छ, जसमध्ये ५ बेडमा आईसीयू राख्ने गरी पुर्वाधार छ । अस्पतालमा ४ वटा भेन्टिलेटर पनि जडान छन् ।

तर दक्ष जनशक्ति नहुँदा आईसीयू सञ्चालनमा छैन । ‘आईसीयूका उपकरण छन्, तर चलाएर सेवा दिने जनशक्ति नहुँदा त्यतिकै थन्किएका छन्’ अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले भने । आईसीयू सञ्चालनमा आउन नसकेपछि कोरोना संक्रमितलाई भर्ना दिन छाडिएको छ ।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालमा ५ वटा आईसीयू बेड र ३ वटा भेन्टिलेटर छन् ।

दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पतालमा बनाइएको कोरोना अस्पतालमा पनि ५ वटा आईसीयू बेड र २ वटा भेन्टिलेटर रहेका प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले बताए । भीम अस्पतालमा जनशक्ति व्यवस्था गर्ने बाँके र बुटवलमा बिरामी बढ्दै गए नेपालगञ्ज र दाङमा लैजान सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment