
८ भदौ, पोखरा । बागलुङको बागलुङ नगरपालिकाको निषेधाज्ञा भदौ १५ गतेसम्म थपिएको छ । यसअघि भदौ २ गते जारी गरिएको निषेधाज्ञा ९ गते सकिँदै थियो ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले संक्रमणको जोखिम बढिरहेका कारण निषेधाज्ञा थप गरिएको बताए । बागलुङमा १९ जना संक्रमित ट्राभल हिस्ट्री नभएका संक्रमित देखिएका छन् ।
यसअघिको निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न दिए पनि अब भने बन्द गरिने भएको छ । मान्छेको बढी भीडभाड हुने क्षेत्र खुला हुँदा जोखिम अझै बढेको गुनासो आएको भन्दै प्रशासनले बैंक तथा वित्तीय संस्था पनि बन्द गर्ने निर्णय गरेको हो । बैंक तथा वित्तीय संस्थामा अनलाइनमार्फत काम गर्न प्रशासनले भनेको छ ।
बागलुङ बजारसँगै बागलुङ नगरपालिकाका १४ वटा वडामा अति आवश्यक खाद्य, तरकारी, दूध लगायत पसल दिनको १ पटक बिहान ७ देखि ९ बजेसम्म मात्र खुल्नेछ ।
बागलुङमा अहिलेसम्म २ सय ८३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये अहिले २२ जना आइसोलेसनमा छन् । कोरोना संक्रमणबाट १ जनाको ज्यान गएको छ ।
प्रतिक्रिया 4