+
+
Shares

काममा नजाने वीरगञ्जका निजी अस्पतालका डाक्टरको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ८ गते २०:५१

८ भदौ, वीरगञ्ज । वीरगञ्जका विभिन्न निजी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत एमबीबीएस डाक्टरले काममा नजाने निर्णय गरेका छन् ।

५ बुँदे माग पूरा नभएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिने चेतावनीसहित काममा नजाने निर्णय गरेका हुन् ।

यसअघि उनीहरु आवद्ध निजी अस्पताल, चिकित्सक संघ, जिल्ला प्रशासनलगायत सरोकारवाला निकायमा विभिन्न ५ बुँदे मागसहित ७ दिने अल्टिमेटम दिएका थिए । ७ दिने अल्टिमेटमसहित ध्यानाकर्षण गराए पनि कतैबाट मागको सुनुवाइ नभएकोले मंगलबारबाट काममा नजाने निर्णय गरेको मेडिकल अफिसर एसोसिएसन अफ वीरगञ्जका सदस्य डा. अनुप उपाध्यायले बताए ।

‘५ बुँदे मागसहित ७ दिने अल्टिमेटम दिएका थियौं । कतैबाट सुनुवाइ भएन’ उनले भने ‘एउटा पीपीई दिन्छन् । त्यसैलाई धोएर प्रयोग गर्नुपर्ने बाध्यता छ । त्यसैले काममा नजाने निर्णय गरेका छौं ।’

उनीहरुले यसअघि न्युनतम तलब ६५ हजार कायम गर्नुपर्ने, २५ लाख बराबरको स्वास्थ्य तथा जीवन बिमा गरिदिनुपर्ने, काम गरिसकेपछि क्वारेन्टिन बस्नका लागि अस्पतालले नै व्यवस्था गरिदिनुपर्ने, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराउनुपर्नेलगायतका माग उनीहरुले राखेका छन् ।

कोरोना भाइरसको महामारीको समयमा अग्रपंक्तिमा रहेर कार्यरत डाक्टरहरुको मागप्रति सरोकारवाला उदासिन बनेकोले सामूहिक राजीनामा दिनुपर्ने बाध्यात्मक अवस्था बनेका एसोसिएसन अफ वीरगञ्जका महासचिव डा. राम एकवाल राय चौधरीले बताए ।

विगतमा पनि कम पारिश्रमिकमा काम गर्दै आएको र विषम परिस्थितिमा जोखिम मोलेर काम गर्दा पनि सम्बन्धित निकायले योगदानको मूल्यांकन नगरेको गुनासो उनीहरुको छ । एसोसिएसनमा वीरगञ्जका विभिन्न निजी अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत १ सय ५० जना चिकित्सक आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?