Comments Add Comment

जनकपुरमा बेड छैन, बाटैमा जान्छ कोरोना संक्रमितको प्राण

मेसु भन्छन्–अहिलेसम्म सरुवा रोग अस्पताल बनाउन सकिन्थ्यो

८ भदौ, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका–३ फुलगाका श्याम साहलाई श्वासप्रश्वासमा समस्या भएपछि परिवारका सदस्यले ४ भदौमा प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा पुर्‍याए । उनलाई अक्सिजन दिनुपर्ने, तर आईसीयू कक्ष खाली नभएको भन्दै चिकित्सकले अयन्त्र लैजान रिफर गरे ।

परिवारले काठमाडौं लैजाने निर्णय गरे, तर सिन्धुलीको खुर्काेट पुग्दा निधन भयो । मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोनाको लक्षण बोकेर प्रादेशिक अस्पताल पुगेको तर त्यहाँ उपचार नपाएर अन्यत्र लैजाने क्रममा ज्यान गुमाउनु परेको घटना न यो पहिलो हो, न अन्तिम ।

साउन ११ मा शहीद नगर नगरपालिका ८ डुमरियाका ३६ बर्षीय पुरुष ज्वरो आउनुका साथै खोकी र श्वास प्रश्वासको समस्या लिएर प्रादेशिक अस्पतालमा भर्ना भए । उनलाई तत्काल भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने देखियो । तर प्रादेशिक अस्पतालको आईसीयू कक्षमा रहेका ४ भेन्टिलेटर खाली थिएन ।

उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइयो तर बाटैमा उनको मृत्यु भयो । ११ साउनको दिउँसो मृत्यु भएका उनलाई कोरोना संक्रमण रहेको रिपोर्ट त्यही दिन साँझतिर आयो ।

जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० बर्षीय पुरुषलाई प्रादेशिक अस्पतालले ३० साउनमा काठमाडौं रिफर गरियो । तर उनको बाटोमै प्राण गयो । उनको स्वाब भने २९ साउनमै लिइएको थियो र रिपोर्ट पोजेटिभ आएको छ ।

जिल्लामा पछिल्लो समय ज्वरो र खोकीका साथै श्वास प्रश्वासमा समस्या भएका कोरोना संक्रमितको संख्या बढ्दो छ । तर तीमध्ये  कतिपयले उपचार अभावमा ज्यान गुमाएका  छन् ।

तर केन्द्रसँगै प्रदेश सरकारले न कोरोना संक्रमितको उपचारका लागि उचित प्रवन्ध मिलाएका छन्, न प्रदेशिक राजधानी जनकपुरमा प्रादेशिक अस्पतालको अवस्था सुधारेका छन् ।

प्रादेशिक अस्पतालमा आईसीयू १८ बेड र चार वटा भेन्टिलेटर छन्, जसमध्ये ८ आईसीयू वेड र एउटा भेल्टिलेटर कोभिडका बिरामीका लागि छुट्याइएको छ ।

जानकी मेडिकल कलेजमा पनि ६ वटा भेन्टिलेटर छ । तर त्यहाँ पनि बेड पाउन गाह्रो छ । धनुषा कोभिड–१९ का संयोजक डा. जामुन सिंह लक्षण भएका विरामीहरु आउन थालेको र भेन्टिलेटर नथपिए समस्या हुने बताउँछन् ।

अहिलेसम्म त अस्पताल बनिसक्थ्यो

प्रदेश सरकारले ८ वैशाखमा ५० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको थियो, जस अनुसार ६ जिल्लालाई ५/५ वटा र जनकपुरधाम तथा वीरगञ्जको अस्पताललाई १०/१० वटा उपलब्ध गराउने बताइएको थियो ।

स्वास्थ्य उपकरण खरिदको छोटो प्रक्रिया पूरा गर्न ऐनमा संशोधन गर्दै ३ दिनभित्रै समान खरिद गरिसक्ने प्रावधान ल्याएको प्रदेश सरकारले निर्णय गरेको झण्डै दुई महिनापछि ११ असारमा ३० वटा भेन्टिलेटर खरिदका लागि टेण्डर आह्वान गर्‍यो ।

तर आवेदन नै नपरेको सामाजिक विकास मन्त्रालयले बताएको छ । दुई साताअघि प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले टेण्डर गरेको र एक साताभित्र खरिद गरिने सामाजिक विकासमन्त्री नवलकिशोर साहले बताए ।

तर अस्पतालसम्बन्धी पूर्वाधारमा कुनै पनि सरकारले ध्यान नदिएको स्वास्थ्यकर्मीको गुनासो छ ।

कोरोना संक्रमण शुरु भएयता जुन किसिमले पूर्वतयारी गर्नुपर्थ्यो, त्यो नगरिएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादव पनि बताउँछन् । ‘जनशक्ति, मेसिन, भौतिक विकासमा गम्भीर बन्नुपर्थ्यो, त्यो देखिँदैन’ उनले भने, ‘अहिलेसम्म त सरुवा रोग अस्पताल नै बनिसक्थ्यो ।’

उनका अनसार अस्पतालमा आईसीयू र भेन्टिलेटर मात्र होइन, त्यहाँ भर्ना हुने बिरामीहरुको उपचारका लागि चाहिने दक्ष जनशक्तिको पनि अभाव छ । त्यसमाथि स्वास्थ्यकर्मी संक्रमित हुने क्रम बढेकाले समस्या थपिएको छ ।

‘साधन स्रोतसँगै जनशक्तिको पनि अभाव छ’ उनले अनलाइनखबरसँग भने, ‘संख्यात्मक रुपमा भएको जनशक्ति ठीकै देखिए पनि गुणात्मक रुपको त्यो पनि अभाव छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment