Comments Add Comment

कोरोनाबाट मृत्यु हुनेको आफन्तलाई अन्तिम संस्कारबाट वञ्चित नगर्न आदेश

९ भदौ, विराटनगर । उच्च अदालत विराटनगरले कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको आफन्तले चाहेमा मृत्यु संस्कारमा सहभागी गराउन आदेश दिएको छ ।

कोरोना संक्रमणका कारण मृत्यु भएका विराटनगरका सीताराम दाहालकी छोरीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजसलाले मृत्यु संस्कारमा सहभागी हुन पाउनु आफन्तको अधिकार भएको बताएको छ ।

‘उपचारको क्रममा कुनै संक्रमितको मृत्यु भएमा निजको दाहसंस्कारमा आफन्त नातेदारको उपस्थित हुने अधिकार रहने हुँदा मृतकका आफन्तले चाहेमा सुरक्षाको मापदण्डको अधीनमा रहेर उपस्थीत हुने व्यवस्था मिलाउनू’ अदालतले सोमबार जारी गरेको अन्तरिम आदेशमा भनिएको छ ।

कोरोना संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिको अन्तिम संस्कार नेपाली सेनाले गर्दै आएको छ । त्यस्ता कतिपय शव व्यवस्थापनमा परिवारका सदस्य र आफन्तलाई सहभागी गराउने गरिएको छैन ।

कोभिड– १९ अस्पतालमा उपचाररत विराटनगर– ३ का ५७ वर्षीय सीताराम दाहालको २८ साउनमा मृत्यु भएपछि उनकी छोरी निलिमाले होम आइसोलेसनमा निगरानी नगरेको, उपचार प्रक्रियाबारे जानकारी नदिएको र मृत्यु संस्कारमा सहभागी नगराएको भनी प्रदेश १ सरकार, विराटनगर महानगरपालिका, कोशी अस्पतालसहित आठवटा निकायलाई विपक्षी बनाई रिट दायर गरेकी थिइन् ।

उच्च अदालतले कोरोना संक्रमणको उपचारबाट कसैलाई वञ्चित नगर्न र कोरोना रोकथाम, नियन्त्रण र उपचार प्रक्रिया प्रभावकारी बनाउन पनि आदेश दिएको छ ।

अस्पताल भर्ना भएदेखि मृत्यु हुँदासम्ममा को को चिकित्सक वा स्वास्थ्यकर्मीले के कति समयको अन्तरालमा के कस्तो उपचार सेवा प्रदान गरेको हो सो को सम्पूर्ण विवरण देखिने उपचार तालिका ७ दिनभित्र दिन पनि उच्च अदालतले आदेश दिएको छ ।

अदालतले होम आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य स्थितिको अद्यावधिक जानकारी लिई आवश्यक उपचार सेवा प्रदान गर्ने संयन्त्र र सूचना प्रणाली स्थापना गर्न र चिकित्सकहले सम्पर्क र परामर्श गरेको अभिलेख राख्न पनि आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment