Comments Add Comment

कोरोना संक्रमण बढेसँगै दक्षिण कोरियामा विद्यालय बन्द गर्न निर्देशन

९ भदौ, काठमाडौं । दक्षिण कोरिया सरकारले कोरोना भाइरसको संक्रमण बढेसँगै राजधानी सहर सोलका सबै विद्यालय तथा बाल सदन बन्द गर्न निर्देशन दिएको छ ।

ग्रेटर सोल क्षेत्रमा पछिल्लो दुई सातामा संक्रमित करिब दुई सय कर्मचारी र विद्यार्थी भेटिएका छन् । शिक्षा मन्त्रालयका अनुसार ११ सेप्टेम्बरसम्ममा रिमोट लर्निङ कार्यक्रम मात्र सञ्चालन हुनेछ । स्वास्थ्य विभागका अधिकारीले पनि देशव्यापी संक्रमण फैलिन सक्ने चेतावनी दिइसकेका छन् । ग्रटेर सोल क्षेत्रमा करिब साढे दुई करोड विद्यार्थी छन् ।

अब विद्यार्थीहरुको पढाइ अनलाइनबाट हुनेछ । हाइस्कुलको अन्तिम वर्षका विद्यार्थीहरुको पढाइ भने अनलाइनबाट हुनेछैन । यो वर्षका विद्यार्थीहरुले आगामी डिसेम्बरमा  परीक्षा दिनेछन् ।

कोरिया टाइम्सका अनुसार ६० भन्दा कम विद्यार्थी भएका र विशेष शिक्षा दिँदै आएका शैक्षिक संस्था बन्द हुने वा नहुने निर्धारण उनीहरुमा नै निर्भर रहनेछ । दक्षिण कोरियाका अधिकांश विद्यालय संक्रमण घटेसँगै मे २० र जुन १ मा खुला गरिएको थियो ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसको कारण ३१० जनाको मृत्यु भइसकेको छ । साथै समग्रमा १७ हजार ९४५ जना मानिसहरु कोरोना भाइरसको कारण संक्रमित भइसकेका छन् । दक्षिण कोरियालाई कोरोना भाइरसको महामारी नियन्त्रणमा सफल मुलकमध्येको एक मानिँदै आएको छ ।

यद्यपि पछिल्लो साता विशेषगरी ग्रेटर सोल क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढेको पाइएको छ । मंगलबार मात्र कोरोना भाइरसका २८० नयाँ संक्रमित थपिएका छन् । दक्षिण कोरियामा मंगलबार लगातार १२ औं दिन कोरोना भाइरसका नयाँ संक्रमितको संख्या बढेको हो । अन्यथा यो मुलुकमा दैनिक ३० भन्दा कम नयाँ संक्रमित देखिँदै आएका थिए ।

धेरै संक्रमित दक्षिणी क्षेत्रमा रहेको प्रोटेस्टेन्ट चर्चसँग सम्बन्ध रहेका मानिसहरु छन् । यो चर्चका सदस्यहरुले एक सातापहिला सोलमा ठूलो र्‍याली निकालेका थिए । सोलका सरकारी अधिकारीहरुले पहिलोपटक घरभित्रै बस्ने र बाहिर निस्किँदा मास्क लगाउने निर्देशन दिएका छन् ।

सबै चर्च, नाइट क्लब र बार बन्द गरिएको छ । सरकारले संक्रमण निरन्तर बढेको खण्डमा भौतिक दुरीको नियममा अझै कडाइ गर्न सकिने चेतावनी दिएको छ । यसको अर्थ दक्षिण कोरियामा महामारी शुरु भएपछि पहिलोपटक धेरै व्यवसायहरु बन्द हुनेछन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment