
१० भदौ, सुर्खेत । बाढीले बाटो अवरुद्घ भएर समयमा उपचार हुन नसक्दा कालीकोटमा सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ । रास्कोट नगरपालिका–२, सिप्खानाकी २८ वर्षीया शिरा सार्की र उनका नाबालक छोराको मृत्यु भएको हो ।
घरमै सुत्केरी भएकी शीराको रक्तश्राब नरोकिएपछि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनका जेठाजु हरिसिंह सार्कीले बताए ।
उनका अनुसार शीरालाई भदौ ४ गते राति ११ बजे सुत्केरी ब्यथा लागेको थियो । १२ बजे घरमै छोरा जन्माइन् तर सालनाल नखसेपछि र रक्तश्राब नरोकिएपछि बर्थिङ सेन्टरमा लगिएको थियो ।
तर गाडीमा ५ मिनेटमै पुगिने बर्थिङ सेन्टर पुगिने भए पनि सडक पहिरोले बगाएकाले स्ट्रेचरमा लैजाँदा आधा घण्टा भन्दा बढी समय लाग्यो ।
शीरालाई राति २ बजेमात्र प्रसुति गृह पुर्याइयो । तर स्वास्थ्यकर्मीले धेरै रक्तश्राब भएको भन्दै उपचार हुन नसक्ने बताए । त्यहाँ सुत्केरीको उपचार हुन नसकेपछि एक घण्टाको दुरीमा रहेको सामुदायिक अस्पताल लैजाँदै गर्दा शीराको बाटोमै मृत्यु भएको जेठाजु हरिसिंहले बताए ।
‘समयमै स्वास्थ्य चौकीमा पुर्याउन सकिएको भए सुत्केरीको मृत्यु हुन्थेन होला,’ उनले भने, ‘बाटोमै ढिला हुँदा धेरै रगत बगिसकेको रहेछ । स्वास्थ्यकर्मीले पनि सक्दिन भने ।’
आमाको मृत्यु भएपछि दूध खान नपाएर नाबालक बच्चाको समेत एकदिन पछि मृत्यु भएको हरिसिंहले जनाए ।
पाँच वर्षअघि निर्माण गरिएको उक्त सडक बर्षेनी वर्षायाममा अवरुद्ध हुँदै आएको छ । ‘ठाउँ ठाउँमा बाटो नबिग्रिएको भए दुई/तीन घण्टामै सदरमुकाम पुगिन्छ,’ उनले भने, ‘तर बाटो बिग्रेकाले समयमा पु¥याउन सकिएन ।’
प्रतिक्रिया 4