Comments Add Comment

पोखराकी ३२ वर्षीया महिलाको मृत्युको कारण ‘क्रिटिकल कोभिड’

११ भदौ, पोखरा । पोखरा–१२ कि ३२ वर्षीया महिला श्वासप्रसासमा समस्या भएपछि साउन ३२ गते कास्की सेवा हस्पिटलमा उपचारका लागि पुगिन् ।

भदौ १ गते हस्पिटलमा उपचाररत तनहुाको ब्यास-१ की ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि भएको भोलिपल्टै उनको मृत्यु भयो । त्यसपछि उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको स्वाब लिने क्रममा ३२ वर्षीया महिलाको परीक्षण गरिएको थियो ।

७ गते रिपोर्टआउँदा उनमा संक्रमण पुष्टि भयो । त्यसपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा सारियो ।

उनको उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको छ । उनको मृत्युको कारण क्रिटिकल कोभिड नै भएको उपचारमा संलग्न डा. अर्जुन अधिकारीले बताए ।

‘अन्य केसभन्दा यो अलि फरक छ । उनको मृत्यु क्रिटिकल कोभिडकै कारण भएको देखिन्छ,’ प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले भने, ‘विश्व स्वास्थ्य संगठनका प्रतिनिधि पनि आउनुभएको छ । यसको अध्ययन भइरहेको छ ।’

महिला कास्की सेवा अस्पताल पुग्नुभन्दा पहिले पोखराकै साइ अर्चना अस्पतालमा उपचार गरी फर्किएकी थिइन् । त्यहाँ ४ दिन उपचार गरेर घर फर्किएकी उनलाई शुक्रबार फेरि स्वास्थ्य प्रश्वासमा समस्या भएपछि साइ अर्चनामै पुगेकी थिइन् ।

साइ अर्चनाले उनलाई मणिपालमा रिफर गर्‍यो । मणिपालले इमर्जेन्सीमा राखेर सोधपुछ गरेपछि बेड छैन भनेर कास्की सेवा हस्पिटलमा पठाएको थियो ।

कास्की सेवामा आईसीयूमा राखेर उपचार हुँदै गर्दा स्वास्थ्य बिग्रदो अवस्थामा गएको र परीक्षणपछि कोरोना संक्रमण देखिएको हस्पिटलका निर्देशक डा.पदम खड्काले बताए । ‘उहाँमा दीर्घ रोग थिएन । श्वासप्रश्वास र ज्वरोको समस्याले पछिल्लो समय औषधि खाएको देखिएको छ,’ डा. खड्काले भने ।

गण्डकी प्रदेशमा यसअघि मृत्यु भएका संक्रमित दीर्घ रोगी थिए । तर उनी दीर्घ रोगी नभएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक आचार्यले पनि बताए ।

पोखरा–१२ का वडाध्यक्ष रामबहादुर कार्कीका अनुसार उनी ८/१० वर्षदेखि पोखरा–१२ को चापापानीमा बस्दै आएकी थिइन् । दीर्घ रोग नभए पनि पछिल्लो समय बिरामी भएर अस्पताल गइरहनुपर्ने समस्या थाहा पाएको कार्कीले बताए ।

उनको पोखरा–३२ मा शव व्यवस्थापन गर्ने तयारी भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ, जसमा पोखरामा ३ जना छन् । गण्डकी प्रदेशभरि मृतकको संख्या ९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment