Comments Add Comment

पाकिस्तानको कोरोना ग्राफ किन यति फरक ?

११ भदौ, काठमाडौं । कमजोर स्वास्थ्य व्यवस्था, घना बस्ती र एकै ठाउँमा धेरै जना बस्न बाध्य गरीब परिवारजस्ता समस्या पाकिस्तानलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न चुनौतीको रुपमा थिए ।

जुन महिनासम्म पाकिस्तानमा अस्पतालमा बेडको कमी भएको, आईसीयू भरिएको, बेड खोज्दै बिरामीका परिवार भौंतारिइरहेकोलगायतका समाचार आउन थालेका थिए ।

अगष्ट महिनामा भने पाकिस्तानको कोरोना ग्राफमा सुधार देखिन थालेको थियो । आँकडा हेर्ने हो भने बुधबारसम्म पाकिस्तानमा कोरोना भाइरसका दुई लाख ९४ हजार संक्रमित फेला परेका छन् । जसमा दुई लाख ७८ हजार संक्रमित निको भइसकेका छन् । पाकिस्तानको सरकारी वेबसाइटका अनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ६ हजार २६७ पुगेको छ ।

अर्कोतर्फ भारतमा भने कोरोना भाइरसको संक्रमण दिनानुदिन बढिरहेको छ । बुधबारसम्म भारतमा कोरोना भाइरसका ३२ लाख संक्रमित फेला परिसकेका छन् । जसमध्ये सक्रिय संक्रमितको संख्या सात लाखभन्दा धेरै छ । मृत्यु हुनेको संख्या पनि ५९ हजार नाघिसकेको छ ।

यो तथ्यांकको आधारमा कोरोना महामारी नियन्त्रणमा दक्षिण एसियामा भारतको तुलनामा पाकिस्तानको अवस्था राम्रो छ ।

यद्यपि के यो आँकडाले वास्तविक चित्रलाई देखाएको छ त ? यो तथ्यांकको आधारमा निष्कर्षमा पुग्न सकिन्छ त ?

पाकिस्तानमा कोरोना परीक्षण

पाकिस्तानमा कोरोना भाइरसको परीक्षणको संख्या निकै कम छ र प्रतिदिन यो संख्या बढाउनुुको संख्या घटाउने काम भइरहेको छ । त्यसैले पनि पाकिस्तानमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्यामा कमी आइरहेको छ ।

अस्पतालमा पनि उपचार गराउन आउने संक्रमितको संख्या पनि घटिरहेको छ ।

पाकिस्तानमा अहिलेसम्म अधिकतम दैनिक ३० हजारको परीक्षण भएको थियो । तर, जुनको अन्तिम साताबाट भने यो संख्यामा कमी आउन थाल्यो । अहिले पाकिस्तानमा लक्षण नदेखिएका मानिसको परीक्षण गर्न छाडिएको छ । पाकिस्तानमा प्रति १० लाख मानिसमा एक हजार चार सयको परीक्षण भएको छ । जबकी यो संख्या भारतमा तीन हजार सात सय छ ।

संक्रामक रोग विशेषज्ञ शाहिद जमिल विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले २० परीक्षणमा एक संक्रमितमात्र फेला परे कोरोना भाइरस नियन्त्रणमा रहेको मान्ने बताउँछन् ।

पाकिस्तानमा औसतमा आठ जनाको परीक्षण गर्दा एक संक्रमित फेला परिरहेका छन् । पाकिस्तानमा अहिलेसम्म २० लाख परीक्षण गरिएको छ । जबकी भारतमा अहिलेसम्म तीन करोड ७६ लाख परीक्षण गरिएको छ । जमिलका अनुसार पाकिस्तानमा कोरोना ग्राफ नियन्त्रणमा आएको देखिनुमा यो मुख्य कारण हो ।

मृत्युको तथ्यांकमा प्रश्न

बीबीसी उर्दूले पाएको तथ्यांक अनुसार पाकिस्तानका दुई सहर कराँची र लाहोरमा अन्येष्टि गर्न ल्याइने शवको संख्या गत जुन महिनामा उल्लेख्य संख्यामा बढेको थियो । यद्यपि यो संख्यालाई प्रत्यक्षरुपमा कोरोना भाइरससँग जोडेर हेर्न भने सकिँदैन ।

लाहोरको सबैभन्दा ठूलो अन्त्येष्टि गर्ने स्थान मियानी साहेबमा जुन सन् २०२० मा एक हजार १७६ शवको अन्त्येष्टि गरिएको थियो । अघिल्लो वर्षको सोही महिनामा यहाँ केवल ६९६ शवको अन्त्येष्टि गरिएको थियो । जबकी यहाँ केवल ४८ मात्र कोरोना संक्रमितको शवको अन्त्येष्टि गरिएको बताइएको छ ।

जानकारहरुका अनुसार मृत्युका कारण भने धेरै हुन सक्छन् । धेरै मृत्यु भएकामध्ये केही मानिसको मृत्यु पहिचान नभई कोरोनाकै कारण भएको हुन सक्छ । तर, कोरोना भाइरसको महामारीको कारण पर्याप्त उपचार तथा स्याहार नपाएको कारण पनि मृत्यु हुनेको संख्या बढेको हुन सक्छ । तर, कोरोनाबाट मृत्यु हुनेको संख्या भने आधिकारिक तथ्यांकभन्दा बढी हुन सक्ने देखिन्छ ।

त्यसो त भारतमा पनि कोरोना भाइरसबाट भएको मृत्युको संख्याको विषयमा सन्देह व्यक्त गरिँदै आएको छ । पछिल्लो समय राज्य सरकार र केन्द्र सरकारको तथ्यांक एक आपसमा मेल नखाएको देखिएको छ ।

पाकिस्तानका महामारी रोग विशेषज्ञ डा. राणा जावेद असगर मृत्यु हुनेको संख्या कम हुनुमा युवा जनसंख्यालाई प्रमुख कारण मान्छन् । उनका अनुसार पाकिस्तानको जनसंख्याको औसत उमेर २२ वर्ष छ ।

यो उमेर बेलायत तथा अन्य मुलुकको तुलनामा निकै कम हो । बेलायतको जनसंख्याको औसत उमेर ४१ वर्ष छ । कोरोना भाइरसको कारण मृत्यु हुनेमा वृद्धको संख्या बढी हुने गरेको देखिने गरेको छ ।

भारतसँगको तुलना

दक्षिण एसियामासबैभन्दा धेरै प्रभावित बनेको भारतसँगको तुलनामा पनि पाकिस्तानको अवस्था राम्रो छ । भारतले अन्य मुलुकको तुलनामा समग्र संक्रमितको मृत्युदर निकै कम रहेको दाबी गर्दै आएको छ ।

तर जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार पाकिस्तानमा एक लाख मानिसमा मृत्यु हुनेको संख्या दुई दशमलव ९७ छ । भारतमा भने यो संख्या चार दशलमव ३२ छ ।

असगरका अनुसार सानो सामाजिक परिवृत्त, मौसम र अन्य रोगको संक्रमण कम हुनुजस्ता कारणले कोरोना भाइरसको संक्रमण पाकिस्तानमा कम घातक साबित भएको हो । यद्यपि अन्य कारणहरु पनि हुन सक्छन्, जुन विषयमा वैज्ञानिकहरुले थप अनुसन्धान गर्नु जरुरी देखिएको छ ।

पाकिस्तानले चालेका कदम

पाकिस्तानले मुलुकमा पूर्ण लकडाउनको घोषणा गरेन । कोरोना संक्रमण बढी देखिएका सहरमा स्मार्ट लकडाउन गरिएको छ । तर, यसको पालना गर्ने वा नगर्ने भन्ने कुराको जिम्मा सर्वसाधारणमा नै छाडिएको थियो ।

पाँच महिना बन्द राखेपछि अगष्ट ९ बाट पाकिस्तानमा अन्तर्राष्ट्रिय विमानस्थल पनि खुलेका छन् । विद्यालय र कलेज बन्द छन् तर सिनेमा हेर्न जानमा कुनै रोकतोक छैन । होटल र रेष्टुरेन्ट पनि खुलिसकेका छन् ।

लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिनका सामाजिक संक्रामक रोग विशेषज्ञ डा. मिशाल खानले पाकिस्तानका नागरिकमा कोरोनाको विषयमा बढी सचेतना रहेको कारण पनि कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सहज भएको बताइन् । यद्यपि यसले समग्र पाकिस्तानको वास्तविक तथ्यांक भने देखाउँदैन ।

खानका अनुसार जनसंख्याको वितरण, जलवायु र सामाजिक कारणले पश्चिमी मुलुकको तुलनामा पाकिस्तानमा कोरोना भाइरसको संक्रमण कम भएको मान्न सकिन्छ । तर, भारतको तुलनामा पनि पाकिस्तानमा कोरोनाको असर कम देखिनुको कारण भने स्पष्ट छैन ।

भारतको पब्लिक हेल्थ फाउण्डेशनका डा. श्रीनाथ रेड्डी भारतमा जनघनत्व धेरै स्थानमा पाकिस्तानको भन्दा बढी रहेको बताउँछन् । अहिले पनि भारतको दिल्ली र मुम्बईजस्ता सहरमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या घट्दै गएको देखिएको छ । यद्यपि अझै पनि चिन्ताको विषय सकिएको छैन ।

डा. असगरका अनुसार भारत पाकिस्तानको तथ्यांकको तुलना गर्ने समय भने अझै भइसकेको छैन । उनी पाकिस्तानमा अझै पनि कोरोना भाइरसको संक्रमण उच्च विन्दुमा नपुगेको बताउँछन् । पाकिस्तानको कराँची सहरमा १७ दशमलव ५ प्रतिशत मानिस संक्रमित भइसकेको एक सर्वेक्षणले देखाएको छ । यसको अर्थ यो सहरमा अझै धेरै मानिसहरु संक्रमित हुन सक्ने देखिन्छन् ।

पछिल्लो समय पाकिस्तानको सहरी क्षेत्रबाट मानिसहरु ग्रामीण क्षेत्रमा फर्किरहेका छन् । यसबाट ग्रामीण क्षेत्रमा कोरोना संक्रमण बढ्न सक्ने आशंका गरिएको छ ।

त्यसका लागि पाकिस्तानले कन्ट्याक्ट ट्रेसिङलाई अझ बढाउनुपर्ने डा. असगर बताउँछन् । पाकिस्तानमा कोरोना भाइरसको असर कम देखिएको छ, यसको अर्थ पाकिस्तान कोरोना भाइरसको खतराबाट बाहिर आएको भन्ने नहुने असगरको भनाइ छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment