Comments Add Comment

पर्सामा सबै ठाउँमा निषेधाज्ञा जरुरी देखिएन : प्रजिअ तामाङ

११ भदौ, वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञाको मोडलमा परिवर्तन गरिने बताएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा जरुरी देखिए पनि जिल्लाभर आवश्यकता नभएकाले परिमार्जन गर्नुपर्ने बताए ।

बिहीबार पत्रकारसँगको कुराकानीमा प्रजिअ तामाङले वीरगञ्जको पश्चिमतर्फ विन्दबासिनी कटेपछि निषेधाज्ञा आवश्यक छ वा छैन भन्ने विषयमा सरोकारवालासँग छलफल भइरहेको बताए ।

‘पर्सामा सबै ठाउँमा निषेधाज्ञा जरुरी देखिएन, मोडिफाई गर्न जरुरी छ । संक्रमण फैलिएको ठाउँमा नो मुभमेन्ट जोन बनाउन सकिन्छ’ उनले भने ‘निषेधाज्ञा आवश्यकता पनि हो । मोडिफाई गरेर जाने सोच बनाएका छौं, त्यसका लागि सरोकारवालासँग छलफल गरिरहेका छौं ।’

कोरोना संक्रमितको संख्या एक्कासी चुलिन थालेपछि वीरगञ्ज महानगरपालिकामा साउन १० गतेदेखि र जिल्लामा साउन १९ गतेदेखि नै निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको म्याद भदौ १३ गतेसम्म छ ।

निषेधाज्ञामा दैनिक रुपमा आवश्यक पर्ने वस्तुको आपूर्ति बेलुकाको समयमा गर्न दिएको र खानै नपाएका मानिसहरुका लागि राहतको प्रबन्ध मिलाउने तयारी पनि जिल्लामा गरिएको उनले बताए ।

‘अति विपन्न खानै नपाउने अवस्थामा पुगेका मानिसका लागि लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरपालिकाको समन्वयमा राहत उपलब्ध गराउने तयारी गरेका छौं’ प्रजिअ तामाङले भने ‘हातमुख जोड्न गाह्रो भएको वर्गलाई भोकै पर्न दिँदैनौं ।’

उद्योग कलकारखानाको अनुगमन नगरी सञ्चालन गर्न नदिने बताउँदै प्रजिअ तामाङले उद्योगले आवश्यकता अनुसार क्वारेन्टिन र आइसोलेसन सेन्टरको व्यवस्था मिलाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment