Comments Add Comment

मेसी बार्सिलोनामै रहे बार्तामेउ अध्यक्ष पद छाड्न तयार

१२ भदौ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउले कप्तान लिओनल मेसीले क्लब छाड्ने निर्णय बदलेमा आफूले क्लब छाड्ने बताएका छन् । मेसी क्लबमा रहने अवस्था आए बार्तामेउले आफू पद छाड्ने संकेत गरेको स्पानिस अनलाइन मार्काले जनाएको छ ।

अर्जेन्टिनी स्टार मेसीले मंगलबार क्लबलाई पत्र लेख्दै आफूले क्लब छाड्न चाहेको जानकारी दिएका थिए । उनले अध्यक्ष बार्तामेउलाई पत्र लेख्दै आफ्नो सम्झौतामा रहेको प्रावधान अनुसार अनुबन्ध तोड्न आग्रह गरेका थिए । मेसीले क्लब छाड्ने पाउने समयसीमा पार गरेको र अझै एक वर्ष सम्झौताको अवधि बाँकी रहेपनि क्लब छाड्न चाहेका थिए । जसले गर्दा क्लबका अध्यक्ष बार्तामेउलाई थप दबाब परेको छ ।

टीभी थ्रीले रिपोर्ट गरेअनुसार यदि मेसीले सार्वजनिक रुपमा आफू क्याटलोनिया क्लबमा रहने घोषणा गरेमा बार्तामेउले अध्यक्ष पदबाट राजीनामा दिने मार्काले पुष्टि गरेको छ । यसले दबाब अब मेसीमा सरेको छ । यस विषयमा मेसीले कुनै प्रतिक्रिया दिइसकेका छैनन् ।

बार्सिलोनाका स्पोर्टिङ डिरेक्टर रोमा प्लान्सले पनि यसअघि पत्रकार सम्मेलनमा मेसीलाई केन्द्रमा राखेर आफूहरु टिम बनाउन तयार भएको बताएका थिए । साथै उनले मेसीलाई क्लबमा राख्न प्रयास गरिरहेको पनि बताएका थिए ।

पछिल्लो समय क्लबको खराब प्रदर्शन, साथी खेलाडीहरुबारे क्लबको निर्णय र बार्तामेउमाथि बढेको अविश्वासको कारण मेसी क्लब छाड्ने मनस्थितिमा पुगेका हुन् ।

च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हारपछि बार्सिलोनाको कमजोरी छताछुल्ल भएको थियो । यस्तै खेलाडीको सम्झौताको विषयमा पनि क्लबसँग मेसीको मतभेद रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment