Comments Add Comment

रौतहटका सीमाबाट अवैध रकम ओसारपसार, दुई दिनमा ३४ लाख बरामद

अवैध रकमसहित पक्राउ परेका ईशनाथ २ औरैयाका मनोज कुमार साहलाई सार्वजनिक गर्दै प्रहरी

१२ भदौ, रौतहट । लकडाउनका बेला नेपाल-भारत सीमा नाका अहिले बन्द छ । तर यही अवधिमा नेपाल-भारत सीमाबाट अवैध रकम ओसारपसारको क्रम बढेको छ ।

सशस्त्र प्रहरी बलले विगत दुई दिनमा रौतहटको ईशनाथ नगरपालिका–९ लवतनाबाट श्रोत नखुलेको ३४ लाख ९१ हजार ९ सय ६० रुपैयाँ बरामद गरेको छ ।

आज बिहान लवतनाबाट ईशनाथ २ औरैयाका मनोज कुमार साहलाई श्रोत नखुलेको ६ लाख ४० हजारसहित पक्राउ गरेको छ । उनले हेलमिटभित्र सो रकम लुकाएका थिए ।

मनोज कुमार साहले हेल्मेटभित्र लुकाएर राखेको अवैध रकम

बिहीवार २८ लाख ५१ हजार ९ सय ६० रुपैयाँसहित भारतीय मोटरसाइकलमा सवार राजपुर ९ बैरियाका दिलिप कुमार साहलाई पक्राउ गरेको थियो ।

सीमा क्षेत्रमा कसरी आउँछ लाखौं रुपैयाँ ?

सीमा नाका बन्द रहेको अवस्थामा नेपाल-भारततर्फ करोडौं रुपैयाँ थन्किएको छ । नेपालसँगको कारोबार भएको सीमा क्षेत्रको बजार र आवतजावत बन्द भएका कारण सो रकम स्थीर अवस्थामा छ ।

रौतहटसँग सीमा जोडिएको भारत बिहारको बैरगनियामा मात्रै ५ करोडभन्दा बढी नेपाली रुपैयाँ जम्मा रहेको श्रोत बताउँछ । भारतीय व्यापारीहरुसँग रहेको सो रकम उनीहरु नेपालमा पठाएर नेपालमा थन्किएको भारतीय रुपैयाँ फिर्ता लग्न खोजीरहेका छन् ।

रौतहटको ईशनाथ, गौर र राजदेवी नगरपालिकाका नाकाहरु यस कामको लागि प्रयोग भइरहेको छ । ईशनाथको औरैया, मठिया, महुलिया, लवतना, गौरको महादेवपट्टी र राजदेवीको बेलबिछवा नाका यस कामको लागि प्रयोग भइरहेको छ ।

श्रोत नखुलेको रकम कहिले कति बरामद ?

  • ८ जेठमा रौतहटको ईशनाथ नगरपालिकाको परोहा डुमरीयाबाट नेपाल प्रहरीले १० लाख १० हजार रुपैयाँ बरामद गरेको थियो ।
  • रौतहटको गौर ४ टिकुलियाबाट ईशनाथ नगरपालिका ४ का धर्मेन्द्र साहलाई प्रहरीले नगद ८ लाखसहित पक्राउ गरेको थियो ।
  • १८ असारमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित गौर–२ महादेवपट्टिबाट गौर–२ का २३ वर्षीय अविनाश गुप्ता पक्राउ परेका थिए ।
  • श्रावण ६ गते ईशनाथ नगरपालिका ४ स्थित प्रहरी चौकी मठिया अगाडि ईशनाथ ४ का १९ वर्षीय पवन कुमार सिन्हाको साथबाट श्रोत नखुलेको ११ लाख रुपैयाँ नेपाल प्रहरीले बरामद गरेको थियो ।
  • भदौ ३ गते प्रहरीले गौर नगरपालिका वडा नं. ३ महादेवपट्टीबाट श्रोत नखुलेको ६ लाख ४० हजार रकमसहित २ भारतीय महिलालाई पक्राउ गरेको थियो ।
  • ११ भदौमा रौतहटको ईशनाथ नगरपालिकाको लवतनाबाट प्रहरीले श्रोत नखुलेको २८ लाख ५१ हजार ९ सय ६० रुपैयाँ बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment