Comments Add Comment

सुदूरपश्चिममा बढ्दो सवारी दुर्घटना, यस्ता छन् ५ कारण

१३ भदौ, डोटी । सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना बर्सेनि बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा सुदूरपश्चिम प्रदेशमा दुई सय ८४ सडक दुर्घटना भएका छन् । यो संख्या आर्थिक बर्ष ०७५/०७६ भन्दा ५१ ले बढी हो ।

आर्थिक वर्ष ०७४/०७५ मा एक ६४ सवारी दुर्घटना भएका थिए । सो वर्ष सवारी दुर्घटनाकै कारण एक सय ६६ जनाले ज्यान गुमाउनु परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जानकारी दिएको छ ।

यस्तै आर्थिक वर्ष ०७५/०७६ दुई सय ३४ सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा दुई सय २३ जनाले ज्यान गुमाएका थिए । चैत ११ गतेबाट सरकारले लकडाउन गरेको भएपनि गत आर्थिक वर्षमा दुई सय ८५ दुर्घटनामा एक सय ४३ जनाले ज्यान गुमाएका छन् ।

प्रहरीको त्रिवर्षीय चार्ट हेर्दा सवारी दुर्घटनाबाट पाँच सय ७४ जना गम्भिर र पाँच सय ९३ जना सामान्य घाइते भएका छन् । आर्थिक बर्ष ०७४/०७५ मा गम्भिर एक सय ३३, सामान्य दुई सय चार, आर्थिक वर्ष ०७५/०७६ मा गम्भिर एक सय ८७ र सामान्य दुई सय २५ तथा आर्थिक बर्ष ०७६/०७७ मा गम्भिर दुई सय ५४ र सामान्य एक सय ६४ जना घाइते भएका छन् ।

दुर्घटना बढ्नुका ५ कारण

बर्सेनि सडक दुर्घटना हुनुमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पाँचवटा मुख्य कारण देखाएको छ । ‘पहिलो कारण सवारी चालकको लापरवाही नै हो,’ प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक मुकेश कुमार सिंह भन्छन्, ‘ट्राफिक नियम उल्लंघन गर्ने, जथाभावी ढोका खोलेर हिँड्ने, जथाभावी ओभरटेक गर्ने, तीव्र गतिमा सवारी हाँक्ने गर्दा दुर्घटना हुन्छन् ।’ चालक निदाउँदा, मादकपदार्थ सेवन गरेर सवारी चलाउँदा समेत सवारी दुर्घटना हुने सिंहले बताए ।

सवारी दुर्घटना हुनुमा अर्कोे कारण यात्रुहरुको कमजोरी पनि रहेको प्रहरीको भनाइ छ । चलिरहेको गाडीबाट झरिदिने, चढिदिने, झुण्डिएर यात्रा गर्ने, छतमा यात्रा गर्ने, शरीर बाहिर निकालेर यात्रा गर्ने र बाटो काट्दा सावधानी नअपनाउने कारणले पनि दुर्घटना बढेको प्रहरी बरिष्ठ उपरीक्षक सिंहले वताए ।

सवारी साधनकै कारण पनि दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ । सवारी साधनमा यान्त्रिक गडबडी, क्षमताभन्दा बढी लोड, सवारी साधनहरु पुराना भएर ब्रेक नलाग्नु, गुड्दागुड्दै टायर खुस्किनु, टायर पञ्चर हुनु, गाडीको लाइट राम्रो नहुनु जस्ता समस्याहरु रहेका छन् ।

दुर्घटना हुनुको चौथो कारण मौसम भएको प्रहरीको बुझाइ छ । हुस्सु, कुहिरो, आँधिबेरी, वर्षा, बाढी पहिरो, हिउँ आदि कारणले पनि सवारी दुर्घटना हुने गरेको सिंह बताउँछन् ।

सडकको अवस्थाकै कारण पनि सवारी दुर्घटना हुने गरेको प्रहरीको बुझाइ छ । प्रहरी वरिष्ठ उपरीक्षक सिंह भन्छन्, ‘सडकमा खाल्डाखुल्टी छन्, निर्माण सामग्रीहरु पनि सडकमै राखिएका हुन्छन् ।’ सडकको सतह चिप्लो हुनु, मोडमा विपरीत दिशाबाट आएको साधन नदेखिएर एक आपसमा ठोक्किनु, सडकमा ग्रेडिङ्ग नमिल्नु पनि सवारी दुर्घटनाको कारण भएको सिंहले बताए । कच्ची बाटो भएका कारण पनि सडक दुर्घटनामा बढोत्तरी आएको सिंहको भनाइ छ । पछिल्लो समयमा छाडा चौपाया पनि दुर्घटना कारण बनेका छन् ।

बर्सेनि सवारी साधनको संख्यामा बढ्दा पनि सवारी दुर्घटनामा वृद्धि भएको बताउँछन् शैलेश्वरी सार्वजनिक यातायतका अध्यक्ष गणेशबहादुर मलासी । उनले थपे, ‘सवारी संख्याको चाप बढ्दै जान्छ अनि दुर्घटना पनि बढ्दै जान्छ ।’ उनले अनुभव नभएका चालकले गाडी चलाउँदा, मदिरा सेवन गरेर गाडी चलाउँदा दुर्घटना हुने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment