Comments Add Comment

‘सम्धी विवाद’ले राष्ट्रिय वाणिज्य बैंक अध्यक्षको नियुक्ति अन्योलमा !

कोइराला बैठकमै गएनन्

१४ भदौ, काठमाडौं । प्रस्तावित व्यक्ति तीव्र विवादमा मुछिएपछि राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष नियुक्ति प्रक्रिया लम्बिएको छ । सरकारले डा. उपेन्द्र कोइरालालाई बैंकको अध्यक्ष बनाउने गरी सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो ।

नातावादका आधारमा नियुक्ति गरिएको भनेर व्यापक विरोध भएपछि कोइरालाका सम्धी उपप्रधानमन्त्री ईश्वर पोखरेलले नै केही दिन नियुक्त रोक्न आग्रह गरेको अर्थमन्त्रालय श्रोतले बतायो ।

सञ्चालक समितिको बैठकबाट एक जना सदस्यलाई अध्यक्ष चयन गर्नुपर्ने प्रावधान छ । डा. कोइरालालाई अध्यक्ष चयन गर्न गत बुधबार बैंकको सञ्चालक समिति भर्चुअल बैठक डाकिएको थियो । तर, भर्चुअल बैठकले अध्यक्ष छान्न नमिल्ने कुरा उठेपछि बिहीबार साँझलाई बैठक सारियो ।

बिहीबार बसेको सञ्चालक समिति बैठकमा कोइराला उपस्थित भएनन् । आफू अध्यक्ष चयन नहुने थाहा पाएपछि उनी बैठकमा नगएको बैंक सञ्चालक समिति स्रोतले बताएको छ । बैंकको सञ्चालक चयन भइसकेकाले उनी अध्यक्ष नभए पनि सञ्चालकको हैसियतमा बैठकमा सहभागी हुनुपर्ने थियो ।

यो पनि पढ्नुहोस ईश्वर पोखरेलका सम्धी राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष !

बैंकका एक सञ्चालकका अनुसार कोइरालालाई बैठकमा उपस्थित हुनका लागि इमेल र टेलिफोनमार्फत जानकारी पनि गराइएको थियो । तर उनले बैंकका केहि सञ्चालकलाई आफू अध्यक्ष हुने पक्का नभई नआउने बताएका थिए ।

‘म धेरै ठाउँमा ठूला-ठूला नियुक्ति खाइसकेको मान्छे, अब एउटा बैंकको सञ्चालक मात्रै बनेर आउँदिन, बरु नियुक्ति नै चाहिँदैन भनेर खबर पठाउनु भएको रहेछ,’ एक सञ्चालकले भने ।

कोइराला नआएपछि बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) लगायतका केही समसामायिक विषयमा छलफल भएको उनले जानकारी दिए ।

स्रोतका अनुसार अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको भनेर तत्कालै नियुक्ति नगर्न बैंकमा खबर पठाएका थिए । बिहीबार साझ बसेको बैठकमा अध्यक्ष नियुक्ति नभए पनि ज्येष्ठ सदस्य भएकाले कोइरालालाई नै बैठकको अध्यक्षता गराउने तयारी गरिएको थियो ।

कोइराला उपस्थित नभएपछि धनीराम शर्माले बैठकको अध्यक्षता गरेका थिए । धनीराम शर्मा अर्थमन्त्रालयका सहसचिव हुन् । उनी अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक समिति सदस्य रहेका छन् ।

कोइरालाले योभन्दा अगाडि थुप्रै राजनीतिक नियुक्ती खाइसकेका छन् । २०५१ सालमा तत्कालिन नेकपा एमालेको सरकार हुँदा उनी खाद्य संस्थानको महाप्रवन्ध नियुक्त भएका थिए । खाद्य संस्थानपछि उनले महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुखको नियुक्ति पाए ।

त्यसपछि पनि उनी खाली बस्नु परेन । एमाले सरकार बन्ने वित्तिकै उनले नियुक्ति पाइहाल्थे । पोखरेल वाणिज्य तथा आपुर्ति मन्त्री बनेका बेला कोइराला नेपाल आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भए । २०६२/६३ पछि कोइराला उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा नियुक्त भए । त्यसबेला उनी निकै विवादित भएका थिए । गुणस्तरहीन उत्तर पुस्तिका खरिद गरेर भ्रष्टाचार गरेको भनेर विवाद उत्पन्न भएको थियो । यो विषयमा सार्वजनिक लेखा समितिले छानविन गरेपछि उनले राजीनामा दिएका थिए ।

विवादमा मुछिए पनि कोइरालाले नियुक्ति भने पाइरहे । मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपति हुँदा उनीविरुद्ध आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्‍यो । विश्वविद्यालयमा उनीविरुद्ध आन्दोलन नै भएको थियो । अनियमितता भएको भन्दै विश्वविद्यालयमा विद्यार्थीहरुले २ महिनासम्म तालाबन्दी गरेका थिए ।

अब के हुन्छ ?

यसअघि बैंकका अध्यक्ष निर्मलहरी अधिकारी थिए । उनलाई सरकारले राजश्व बोर्डको सदस्यमा नियुक्त गरेपछि बैंकको अध्यक्ष पद रिक्त छ । सोही रिक्त ठाउँमा खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै कोइरालालाई सञ्चालक नियुक्त गरेका हुन् ।

स्रोतका अनुसार सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री खतिवडाले बैंकका सीईओ तथा सञ्चालकहरुलाई कोइरालालाई नै अध्यक्ष चयन गर्न मौखिक निर्देशन दिएको श्रोत बताउँछ । सोहीअनुसार तयारी भए पनि अर्थमन्त्रालयकै एक अधिकारीले यो कुरा बाहिर ल्याएका थिए ।

अर्थमन्त्रालय श्रोतका अनुसार तत्कालै कोइरालालाई अध्यक्ष चयन नगरिने भएको छ । तर विवाद केही मत्थर भएमा वा राष्ट्रिय बहसको विषय अन्तै मोडिएको बेला सुटुक्क कोइरालालाई अध्यक्ष चयन गर्न अर्थमन्त्री खतिवडाले बैंकका सञ्चालकहरुलाई भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment