Comments Add Comment

उच्च जोखिम समूहमा परीक्षण गर्दा बुढानीलकण्ठमा भेटिए ४० संक्रमित

१४ भदौ, काठमाडौं । उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दा बुढानीलकण्ठ नगरपालिका अछुत रहन सक्ने कुरै भएन । कहिले निजी सवारी साधनलाई एम्बुलेन्स बनाएर सेवा दिइरहेका युवक त कहिले व्यापार गर्दै आएका व्यक्तिको परिवारमा संक्रमण पुष्टि भयो ।

संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङले मात्र नपुग्ने निष्कर्ष निकाल्यो । र, संक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा आएकाहरुसँगै उच्च जोखिममा रहेकाहरुको पहिचान गरेर परीक्षण गर्ने तयारी गर्‍यो ।

भदौ ९ गते कन्ट्याक्ट ट्रेसिङमा परेका १८३ जना र उच्च जोखिममा रहेका समूहका ३३१ जनाको स्वाब संकलन भयो । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कन्ट्याक्ट ट्रेसिङमा परेकामध्ये ३२ र उच्च जोखिम समूह भनेर पहिचान गरेकामध्ये ४० जनामा संक्रमण पुष्टि भएको छ ।

शाखाका प्रमुख कुमार दाहाल भन्छन्, ‘उच्च जोखिम समूहमा ककसको परीक्षण गर्ने भनेर मापदण्ड बनाएका थियौं । त्यसअनुसार वडाध्यक्षहरुले बोलाउनुभयो र परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको छ ।’

उच्च जोखिम समूहमा वडा नम्बर १, २ र ३ का तरकारी बेच्ने, डेरी, खाद्यान्न र किराना पसल सञ्चालक, पेट्रोल पम्पमा काम गर्नेहरुलाई राखिएको थियो । यसरी समुदायमा गरिएको परीक्षण निकै प्रभावकारी देखिएकाले अब अरु वडाहरुमा पनि विस्तार गर्ने सोच बनाएको दाहालले बताए ।

हालसम्म नगरपालिकामा २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ६५ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

मेयर उद्धव खरेलका अनुसार लक्षण नभएका कतिपय संक्रमित होम आइसोलेसनमा छन् । तर कतिपय घरमा बस्ने अवस्था नभएकालाई राख्न आइसोलेसन सेन्टर बन्दैछ । ‘२०० बेडको क्वारेन्टिन त छ, तर यहाँ राख्नसक्ने अवस्था रहेन’ उनले भने, ‘अब एउटा निजी स्कुलमा राख्न खोज्दैछौं ।’

नगरपालिकाकै भवनमा समेत २०/२५ बेडको आइसोलेसन बनाउने तयारी भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment