Comments Add Comment

सातवटा अस्पतालले फर्काए, घर पुगेपछि मृत्यु

मृतक महिलाको घर ।

१४ भदौ, विराटनगर । कोरोना संक्रमणको जोखिम देखाउँदै विराटनगरका अस्पताल उपचार गर्न पन्छिँदा उदयपुरकी एक महिलाको मृत्यु भएको छ ।

शनिबार साँझ भात सर्किएर बेहोस भएकी उदयपुरको चौदण्डीगढी नगरपालिका– ६ की ६५ वर्षीया डम्बरकुमारी बस्नेतको विराटनगरका अस्पतालले भर्ना नगर्दा आइतबार बिहान मृत्यु भएको हो ।

छिमेकी डिल्लीराम खतिवडाका अनुसार शनिबार साँझ खाना खाने क्रममा भात सर्किएपछि महिला बेहोस भएकी थिइन् । लगत्तै आफन्तले बेल्टारमा रहेको प्राथमिक स्वास्थ्य चौकी लगे । स्वास्थ्य चौकीले अवस्था गम्भीर भएकाले विराटनगर रिफर गर्‍यो ।

राति नौ बजे एम्बुलेन्समा राखेर विराटनगर ल्याइएको थियो । ‘राति ११ बजेतिर विराटनगर पुगियो । अस्पताल घुम्दाघुम्दै २ बज्यो’ एम्बुलेन्स चालक दीपक खत्री भन्छन्, ‘कुनै अस्पतालले भर्ना गर्न नमानेपछि घर नै फर्कायौं ।’

बस्नेतलाई सुरुमा विराटनगरको विराट नर्सिङ होम लगिएको थियो । तर एम्बुलेन्समै बिरामी हेरेका स्वास्थ्यकर्मीले आईसीयू छैन भन्दै फर्काइदिए । ‘अस्पतालले बिरामी हेरेपछि आईसीयू छैन् भन्दै फर्कादिए’ उनले भने ‘ विराटनगरका अस्पताल घुमिरह्यौं ।’

विराटनगरका सातवटा अस्पतालले भर्ना गर्न मानेनन् । त्यसपछि गोल्डेन अस्पताल पुगे, तर भर्ना नगरेपछि विराट मेडिकल कलेज लगे । बुढीगंगा गाउँपालिका २ मा रहेको मेडिकल कलेजले भर्ना नगरेपछि फेरि विराटनगर फर्किए । विराटनगरको म्याक्स अस्पताल, मोरङ सहकारी अस्पताल, न्यूरो अस्पताल र ग्रिन क्रस अस्पताल लगेका थिए ।

इमर्जेन्सी विभाग बन्द भन्दै नोबेलले बिरामी नल्याउन भन्यो । कोशी अस्पतालमा भेन्टिलेटर नभएकाले आफन्त लगेनन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले समेत बिरामीलाई नल्याउनू भनेको चालक खत्री बताउँछन् । एकपछि अर्को अस्पतालले भर्ना  नलिएपछि आफन्तले हार माने र राति साढे २ बजे घर फर्किए ।

घर पुगेको केही घण्टापछि उनको मृत्यु भएको हो ।

बुधबार पनि विराटनगरका अस्पतालहरुले भर्ना गर्न नमान्दा मोरङ पथरी शनिश्चरे नगरपालिका २ कि ६२ वर्षीया सानकुमारी राईको मृत्यु भएको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला पनि निजी अस्पतालले मनपरी गरिरहेको बताउँछन् । ‘निजी अस्पतालहरुलाई सोमबार छलफलका लागि बोलाएको छु’ उनले भने, ‘कानुनी व्यवस्थाबारे सम्झाउँछौं । अटेर गरे कारवाही गर्छाैं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment