Comments Add Comment

नेसनल मेडिकल कलेजमा ५ सय शय्याको आइसोलेसन केन्द्र बनाइने

१४ भदौ, काठमाडौं । काठमाडौंको घट्टेकुलोस्थित नेसनल मेडिकल कलेजको भवनमा ५ सय बेडको आइसोलेसन केन्द्र बनाउने तयारी भएको छ ।

बढीमा एक साताभित्र ५ सय शय्याको आइसोलेसन सेन्टर खोज्ने जिम्मा पाएको जीवनराम श्रेष्ठ, कृष्ण राई लगायतको टोलीले नेसनल अस्पतालमा कोरोना संक्रमितलाई छनोट गरेको र त्यस अनुसार तयारी अन्तिम चरणमा पुर्‍याएको समितिका सदस्य श्रेष्ठले जानकारी दिए ।

टोलीले नेसनल अस्पताल चयन गरेसँगै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहितको टोलीले अस्पतालको निरीक्षण समेत गरिसकेको काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सांसद समेत रहेका श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार नेसनल मेडिकल कलेजसँग सम्झौता गर्ने काम अन्तिम चरणमा पुगेको छ । केन्द्र सरकारले आइसोलेसनको व्यवस्थापन गर्ने अधिकार प्रदेश सरकारलाई दिए पनि काठमाडौं उपत्यकाको हकमा त्यो अधिकार नदिइसकेकोले प्रक्रियागत झण्झट मिलाउनको लागि केही समय लागेको श्रेष्ठले बताए ।

त्यो निर्णय अब बस्ने मन्त्रिपरिषद् बैठकले संशोधन गरेपछि सम्झौता हुनेछ । सम्झौतापछि सो अस्पतालमा ५ सय जनासम्म कोरोना संक्रमितलाई राखिनेछ ।

श्रेष्ठले यसरी राखिने आइसोलेसन सेन्टरमा केन्द्र सरकारले होम आइसोलेसनमा बस्ने भनेर तोकेको लक्षण नदेखिएका बिरामीलाई मात्रै राखिने बताएका छन् । ‘केन्द्र सरकारले लक्षण नदेखिएका कोरोना संक्रमितलाई होम आइसोलेसनमा बस्नको लागि आग्रह गर्‍यो । हामीले त्यसमा जोखिम देखेर होम आइसोलेसनमा बस्न भनिएका कोरोना संक्रमितलाई राख्नको लागि आइसोलेसन सेन्टर तयार पारेका हौं’ अनलाइनखबरसँग उनले भने ‘हामी ५ सय शय्याको आइसोलेसन सेन्टरका लागि नेसनल अस्पतालसँग केही दिनमा नै सम्झौता गर्नेछौं ।’

त्यस्तै, सोही समितिले थप ५ हजार जनाको लागि पनि आइसोलेसन सेन्टर तयार पार्ने तयारी गरेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार विभिन्न स्थानमा रहेको होटललाई आइसोलेसन सेन्टर बनाउने गरी सम्झौता हुन लागेको छ । उनले होटलको नाम भने बताउन चाहेनन् ।

गत भदौ ९ गते स्वास्थ्य  तथा जनस‌ंख्यामन्त्री भानुभक्त ढकाल, स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार खेम कार्की, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र केन्द्र तथा प्रदेश सभाका केही सांसद सहभागी बैठकले कोरोना भाइरसको रोकथाम एवं व्यवस्थापनको लागि काम गर्न एक समिति गठन गरेको थियो ।

प्रतिनिधि सभाका सांसद कृष्ण राईको संयोजकत्वमा जीवनराम श्रेष्ठ, दीपक निरौला, डा. खेम कार्की सम्मिलित समिति गठन भएका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment