Comments Add Comment

विप्लव समूहकी नेतृ उमा भुजेलसहित दुई नेता रिहा

उमा भुजेल । फाइल तस्वीर

१५ भदौ, सप्तरी । सप्तरी प्रहरीद्वारा पक्राउ गरिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी नेतृ उमा भुजेल र नेता सुमनसिंह पौडेल अदालतको आदेशमा रिहा भएका छन् ।

पुनः पक्राउ गर्न प्रहरीहरु अदालत परिसरमा पुगे पनि उनीहरु प्रहरीको आँखा छलेर उम्किन सफल भएका छन् ।

सप्तरी जिल्ला अदालतले न्यायाधीश चन्द्रमणी ज्ञवाली र सप्तरी जिल्ला बार एशोसिएसनका अध्यक्ष डोमन साहको रोहबरमा आइतबार साँझ रिहा गरेको हो ।

यी दुवैको हकमा प्रतिमा भुजेलले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उक्त रिटको आधारमा सर्वाेच्च अदालतले सम्बन्धित जिल्लामा उपस्थित गराई जिल्ला न्यायाधीशको रोहबरमा थुनामुक्त गरी सोको जानकारी गराउन सप्तरी जिल्ला अदालतलाई आदेश दिएपछि यहाँबाट दुवैलाई रिहा भएका हुन् ।

यसअघि सुनसरीमा पक्राउ परेका यी दुवै गत भदौ २ गते सुनसरी जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका थिए । रिहा भएलगत्तै सुनसरी प्रहरीले पक्राउ गरी सप्तरी प्रहरीको जिम्मा लगाएको थियो । सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरले दवैबिरुद्ध अभद्र व्यवहारको आरोपमा मुद्दा दायर गरेको थियो ।

यसरी छक्याए प्रहरीलाई 

नेतृ भुजेल र नेता पौडेललाई पुनः पक्राउ गर्न अदालत परिसरमा प्रहरी परिचालित थियो । तर, प्रहरीलाई झुक्याएर दुवै जना अदालतबाट उम्किएका छन् ।

जिल्ला अदालतको गेट अगाडि प्रहरी निरीक्षकको नेतृत्वमा दुवैलाई पुनः नियन्त्रणमा लिन प्रहरी परिचालित भए पनि दुवै जना अदालतको पछाडितिरको गेटबाट भागेका थिए । विप्लव नेतृत्वका दुवै नेता बेपत्ता भएपछि प्रहरीले पत्ता लगाउन सकृयता देखाएको छ ।

उनीहरुलाई फेला नपारेपछि प्रहरीले अदालतका कोठा–कोठामा पसेर खोजेको थियो ।

जिल्ला बारका अध्यक्ष डोमन साहले प्रहरीको यो कदमलाई स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप भन्दै बिरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment