Comments Add Comment

कोरोनाको डरले अर्थमन्त्री क्याबिनेट बैठकमा अनुपस्थित

१५ भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा उपस्थित भएनन् । दिनभर अर्थ मन्त्रालयमै रहेका मन्त्री खतिवडा बालुवाटारको बैठकमा नदेखिएपछि कतिपय मन्त्रीले खासखुस गरे, उहाँलाई कोरोना पो लागेछ कि क्या हो !

मन्त्री खतिवडालाई कोरोना लागेको चाहिँ होइन, कोरोनाको डर मात्रै लागेको हो । बैठकमा उपस्थित अरु मन्त्रीबाट आफूलाई कोरोना संक्रमण होला कि भन्ने डरका कारण मन्त्री खतिवडा बालुवाटार नगएका हुन् ।

मन्त्री खतिवडा बैठकमा नआउनुको कारणबारे अर्का एक मन्त्रीले अनलाइनखबरसँग भने, ‘आइसोलेसनमा बस्नुभएका ईश्वर पोखरेल र बादल पनि हिजो साँझको बैठकमा आउनुभएको थियो, त्यसैले कोरोना सल्कने डरले गर्दा उहाँ नआउनुभएको बुझियो ।’

तर, क्याबिनेट बैठकमा सहभागी नभए पनि अर्थमन्त्री खतिवडा अर्थमन्त्रालयमा भने नियमित उपस्थित भएर काम गरिरहेकै छन् । सोमबार पनि उनी सधैंझै बिहान ८ बने नै अर्थमन्त्रालय पुगेका छन् । हरेक दिन उनी बिहानदेखि साँझसम्म मन्त्रालयको काममा खट्छन् ।

मन्त्री खतिवडा स्वास्थ्यको हिसाबले कोरोनाको उच्च जोखिम भएका व्यक्ति हुन् । उनी मुटुका बिरामी हुन् । सुगर र प्रेसरको बिरामी भएका कारण उनले स्वास्थ्यमा विशेष सतर्कता अपनाउँदै आएका छन् ।

भदौ २० मा कार्यकाल सकिँदै

त्यसो त मन्त्री खतिवडाको पदावधिसमेत अबको पाँच दिनपछि अर्थात् भदौ २० गते सकिँदैछ । उनी सांसद पदमा नरहेरै मन्त्री बनेको २० गते ६ महिना पुग्ने भएकाले त्यसपछि स्वतः मन्त्री पदबाट बाहिरिनुपर्ने हुन्छ ।

सांसद नरहेको व्यक्ति संविधानअनुसार ६ महिनाभन्दा बढी मन्त्री बन्न पाउँदैन । यसवीचमा राष्ट्रियसभाका पूर्वसांसद खतिवडालाई फेरि राष्ट्रियसभामा मनोनित गरेर अर्थमन्त्रीमा निरन्तरता दिने प्रधानमन्त्री ओलीको ईच्छा रहेको अनौपचारिक चर्चा पनि छ ।

तर, नेकपाभित्रको अर्को पंक्तिचाहिँ अर्थमन्त्री बहालवाला सांसदबाटै बनाउनुपर्ने पक्षमा देखिन्छ । यसका लागि विष्णु पौडेल र सुरेन्द्र पाण्डे लगायतलाई नेकपाभित्र नयाँ अर्थमन्त्रीको दाबेदारका रुपमा हेरिँदै आएको छ ।

यो पनि पढ्नुहोस कोरोनाबाट जोगिएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment