Comments Add Comment

युवा नेतृत्वलाई चाबी बुझाउनुअघि !

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइको हालै एक पत्रिकाको प्रकाशित लेखमा संसारका ठूला ठूला वैज्ञानिक तथा दार्शनिकहरुले २० देखि ३० वर्षकै उमेरमा ठूला उपलब्धिहरु हासिल गरिसकेको उदाहरण दिई समयको मागअनुसारको योजनासहित युवाहरुलाई राजनैतिक नेतृत्वको लागि अग्रसर हुन प्रेरित गर्ने लेख लेख्नुभएको थियो ।

कुन उमेर समूहकालाई युवा मान्ने भन्ने कुनै विश्वव्यापी मान्यता छैन। त्यसैले विभिन्न देशहरुले आ-आफ्नै कानुन अनुसार उमेर निर्धारण गरेका हुन्छन् । संयुक्त राष्ट्र संघले गरेको जनसंख्याको बर्गीकरणमा १५ वर्षदेखि २४ वर्ष उमेर समूहकालाई युवा मानेको छ। अधिकांश देशहरुमा बालबालिकाले आत्मनिर्भर हुन शुरु गरेदेखि १५ देखि १८ वर्षबाट सुरु भएर ३० वर्षसम्म र कुनै कुनै देशमा ३५ वर्ष सम्मको उमेर समुहका युवा युवतीलाई युवा समुहमा राखेका छन्।

नेपालको वर्तमान कानुन अनुसार ४० वर्षसम्मका व्यक्तिलाई युवाको संज्ञा दिइएको छ। नेपालको कानुन, सत्तामा रहनेहरुको आवश्यकता र चाहना अनुसार कुनै पनि वेला परिवर्तन हुन सक्ने हुनाले यसलाई पनि परिवर्तनीय भनेर बुझ्नुपर्ने हुन्छ। त्यही कानुन बनाउने राजनैतिक दलहरुको युवाहरुप्रतिको बुझाइ र युवाहरुलाई प्रदान गरेको अवसरलाई आधार मान्ने हो भने युवा शब्दमा झनै विरोधाभास छ। किनकि ५० को वरिपरिकाले विद्यार्थी नेता भएर शैक्षिक सुधारको उल्टो लडिरहेको र ६० को नजिक पुगिसकेकाले युवा पुस्ताको नेताका रुपमा भूमिका खोजिरहेको हामीले देखिराखेकै छौं ।

युवाहरुको सृजनात्मक क्षमता उमेर पुगीसकेकाहरु भन्दा धेरै हुन्छ भन्ने कुरा नकार्न सकिँदैन। कतिपय प्रविधिका कुराहरु नक्कल पनि गर्नुपर्ने हुन सक्छ र त्यसमा पनि उमेर पुगेकाहरुभन्दा युवाहरुनै धेरै अगाडि हुन्छन्र। सामान्यतया शारीरिकरुपमा पनि युवाहरु नै बलिया र तन्दुरुस्त हुने हुँदा धेरै ठाउँमा युवाहरुको सहभागिता र नेतृत्वसमेत भयो भने पक्कै पनि उमेर पुगेकाहरुको भन्दा अझै राम्रो कार्यसम्पादनको आशा गर्न सकिन्छ।

नेपालमा भएका ठूला ठूला परिवर्तनमध्ये कतिपय परिवर्तनहरुको लागि डा भट्टराई आफैले पनि सहभागी र नेतृत्व समेत गर्नुभएको छ। सायद तपाईं पनि उर्जाशील उमेरमै देशको परिवर्तनको लागि राजनीतिमा होमिनुभयो, धेरै वर्ष बिताउनुभयो, केही परिवर्तनहरु पनि भए र अझै पनि परिवर्तनको कुरा गर्न छोड्नुभएको छैन। तपाईं आफैले गरेका परिवर्तन पनि तपाईं आफ्नै कालमा एक्स्पायर्ड (मिति पुगिसकेको ) भैसकेको कुरा तपाइले गरेका नयाँ नयाँ अभ्यासले प्रष्ट पार्दछ।

हामी सानै हुँदाखेरी डा बाबुराम भट्टराईको विद्धताको कुरा सुनिन्थ्यो। धेरै पढेको र जानेको मान्छेले जनयुद्ध हुँदै देशको प्रधानमन्त्रीसमेत भएको देख्न पाउँदा हामी धेरै उत्साहित र आशावादी थियौं । तर, हामीले सोचेजस्तो परिवर्तन पाउन सकिएन। सायद तपाईंलाई आफ्नै अनुभवले पनि सिकाएको हुनुपर्छ कि कोही व्यक्तिविशेषको एकल जोडबल र पहलमा परिवर्तन सहज छैन। सरकारको नेतृत्वले चाहँदा चाहदै पनि कार्यसम्पादन गर्न बाधा पुर्याउने तत्वहरु के के हुन् र तिनलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा तपाईंको आफ्नै भोगाईबाट पनि अबको पुस्ताले सिक्न पाए हुन्थ्यो।

तपाईंहरुले बोलीतथा लेखमा निरन्तर प्रयोग गर्ने अग्रगामी, छलाङ्ग, युगान्तकारी रुपान्तरण , प्रतिगामी, प्रतिक्रान्ति लगायतका आकर्षक शब्दावलीहरु निरन्तर सुन्न र पढ्न पाइयो । तर तिनको अर्थको केही अनुभव गर्न पाइएन । अझै पनि तिनै शब्दहरु दोहोराइ रहनुहुन्छ र हामी सुनिरहन्छौं। तपाईंहरुका शब्दजालले हामीलाई निरन्तर फ़साइरहनुभयो र हामी पनि सुनिरहन बाहेक केही गर्न सकिएन।

जातीयता लगायतका विभिन्न मुद्दा र आफ्नो एजेन्डामा स्थिरतापूर्वक टिक्न नसकेको कुरालाई आधार बनाएर तपाईंबाट धेरै आशा राखेका जनताहरुमा तपाइप्रति बितृष्णा भएको कुरा तपाईंका बिचारमा आउने प्रतिक्रियाबाट केही सामान्यीकरण गर्न सकिन्छ। तर, जसले जेसुकै भने पनि तपाईंका समकालीन सत्ता सम्हालिसकेकाहरुमध्ये जीवनशैली र दुरदर्शी योजना निर्माणलाई आधार मान्ने हो भने तपाईं झै पनि अरुभन्दा फरक र केही बढी आशा गरिएको नेता हो।

सम्भावना नदेखेर हो वा नचाहेर नै हो, आजभोलिका तपाईंका बिचारहरुमा आफू सत्तालुप्त नभएको र राज्य संचालनको जिम्मा युवापुस्तामा हस्तान्तरण हुनुपर्ने आशय भेटिन्छ। तर, तपाईंले प्रस्तुत गर्नुभएका युवाहरुले हाँकेका विभिन्न देशको उदाहरणलाई हाम्रो देशमा सामान्यीकरण गर्ने कुरा सहजै स्वीकार गर्न सकिँदैन। हाम्रो देशका युवाको नैतिकता, अनुशाशन, र पृष्ठभूमि न्युजिल्याण्ड र फिनल्याण्डका युवाहरुको जस्तो भए मात्र उनीहरुबाट त्यहीअनुसारको आशा गर्न सकिन्थ्यो।

मार्क्स, लेनिन, स्टालिन, प्लेटो, सोक्रेटस, एरिस्टोटल, आइन्स्टाइन, न्युटन, हाम्रै देशमा जन्मेका बुद्धलगायत अन्य धेरै दिवंगतहरु हामीले अनुकरण गर्नयोग्य जीवन बिताएका इतिहासका पात्रहरु हुन्। पक्कै पनि हामीले इतिहासबाट धेरै कुरा सिक्न सकिन्छ। इतिहासको ज्ञानले हामीलाई देश र विश्वकै भविष्य बनाउन मार्गनिर्देशन गर्दछ । तर, धेरै वर्ष पुराना र कितावमा पढिएका कुराहरुले भन्दा प्रत्यक्ष ठोकिने तपाईंहरुका जीवनशैली र क्रियाकलापले अहिलेका युवाहरुलाई अझ बढी प्रभाव पारिरहेको हुन्छ।

अहिले नेपालमा भएका लगभग सबै पार्टीका माथिल्लो तहका नेताहरु उमेरको हिसाबले जीवनको उत्तरार्धमा हुनुहुन्छ। त्यसैले युवा पुस्ताले राज्य संचालनको जिम्मेवारी लिए हुन्थ्यो भन्ने आशा राख्नु स्वाभाविक हो । तर, बर्तमान राजनैतिक अभ्यासअनुसार तिनै दलका कम उमेरका नेताले बाहेक अन्य युवाले त्यो अवसर पाउने सम्भावना देखिँदैन र तिनै दलले हुर्काएका युवानेताहरूबाट केही फरक आशा गर्न नासिकेने धेरै तथ्यहरु भेटाउन सकिन्छ।

सबै राजनैतिक दलहरुले हुर्काएका र संरक्षण गरेका युवाहरु लगभग उस्तै उस्तै पृष्ठभूमिबाट आएका हुन्। जनयुद्धपछि मूलधारमा आएको माओबादीका युवा जमातको व्यवहारलाई अन्य दलले जंगली भनेर संज्ञा दिन्थे। तर, शहरमै रहने अन्य दलका जवानहरु पनि नारा जुलुस र तोडफोडमा झन् बढी उग्र थिए जस्तो लाग्छ। प्रायजसो युवा राजनीतिकर्मीहरुको ब्यबहार हेर्ने हो भने सायद कुनै पनि दलहरुले आफ्ना युवा समर्थकलाई अनुशाशित र परिश्रमी हुन प्रेरित गर्दैनन्। सायद उर्जाशील युवाहरु अनुशासित भए र सृजनात्मक हुन लागे भने यी दलहरु शक्तिविहीन जस्ता देखिन्छन्।

अब सरकार सञ्चालनको जिम्मेवारी लिने सम्भावना भएका सबै युवा नेताहरु, राष्ट्रिय मुद्धा भन्दा पनि दलीय तथा निजी स्वार्थमै तल्लिन रहनुपर्ने, क्षमता भएकालाई भन्दा पनि आफू समर्थकलाई मात्र अवसर दिने, सम्भव भए सम्मका सबै सुविधाहरु आफैंले उपभोग गर्ने, आफ्नो दल समर्थित ठूला भ्रस्टाचारीहरुलाई राजनैतिक संरक्षण गर्ने, आफूलाई समर्थन गर्ने अपराधीहरुलाई कानुनी कठघरामा उभिनुनपर्ने र झुक्किएर परिहाले पनि सहजै उन्मुक्ति दिलाउने जस्ता कुराहरुमा राम्रोसँग प्रशिक्षित छन्, जुन कुरा न्युजिल्यान्ड तथा फिनल्याण्डजस्ता देशका युवाहरुले सिक्न पाएका छैनन्।

त्यस्तै, हाम्रो राजनैतिक दलका नेताहरुले विभिन्न कुतर्कहरु गरेर भए पनि आफ्नो गल्ति तथा कमजोरी स्वीकार नगर्ने चलन बसाएका छन् । आफ्ना विभिन्न अमानवीय अपराधहरुलाई समयको माग भनेर जवाफ दिए पुगिहाल्छ। अधिकांश राजनीतिकर्मीहरुले आफ्नो दलको गलत कामको पनि बचाउ गर्ने तर विपक्षीको राम्रो कामलाई पनि नकारात्मक नै पुष्टि गराएर छोड्ने र आफ्ना समर्थकलाई त्यहीअनुसार प्रतिक्रिया दिने भनेर सिकाइएको हुन्छ । तर, डा भट्टराईले उदाहरण दिएका देशका युवाहरुलाई आफ्नो गल्ती स्वीकार गर्न कुनै अप्ठेरो लाग्दैन र उनीहरुलाई शत्रुलाई पनि सम्मान गर्नुपर्छ भनेर सिकाइएको हुन्छ।

अहिलेका नेताहरुलाई हेर्ने हो भने, जेल बसाई, भूमिगत जीवनकाल, राजनीतिमा क्रियाशील रहेको समय, गुट निर्माणमा चातुर्य आदि कुराहरु नेतृत्वमा पुग्ने मुख्य आधारहरु हुन् । पछिल्ला युवा नेताहरु आफ्नो विद्धार्थी कालमा गरेका तोडफोड, ठूला दलको समर्थनको आन्दोलनमा जनाएको सहभागिता, वाक क्षमता, माथिल्लो तहका नेताहरुसँगको पहुँच जस्ता कुराहरु नेतृत्व गर्ने अवसर प्राप्त गर्ने आधारभूत विशेषताहरु हुन्।

कतिपय रोगहरु जस्तै आनीबानीहरु पनि सरुवा हुन्छन्। त्यस्तै संगतले पनि मानिसको सिकाई र व्यवहारमा प्रभाव पारिरहेको हुन्छ। यिनै कुराहरुलाई पनि आधार मान्ने हो भने पनि अबको राजनीतिमा आउन सक्ने सम्भावित युवाहरु क-कसको पछि लागिरहेका हुन्छन् र क-कसको संगत गर्छन् भन्ने कुरा तपाईंहरुलाई थाहै छ।

त्यसैगरी तपाईंहरुले अभ्यास गरेको राजनीतिक अभ्यास अनुसार, गुण्डागर्दी गर्न नसक्ने, प्रशस्त पैशा खर्च गर्न नसक्ने, नीति नियम तथा पद्धति अनुसार चल्नुपर्ने मान्यता राख्ने अनुशाससित व्यक्तिहरुले राजनीतिमा सफलता प्राप्त गर्नु असम्भव नै देखिन्छ। यसको विपरीत जे पनि गर्न सक्नेहरुकै प्रशिक्षणबाट तपाईंले भनेजस्तो २०३० भित्रमा देश तथा विश्वकै दिगो विकासमा योगदान पुर्याउन सक्ने युवा शक्ति हाम्रो देशमा पनि तयार गर्न सकिने सम्भावनामा ढुक्क हुन सक्ने अवस्था छैन।

नयाँ जगबाट राजनीतिमा युवाहरुको आगमन भइरहेको छ र तिनीहरुमा प्रष्ट धरातल नभएको पनि होला । तर, विचारमा स्पष्टता भन्दा पनि गम्भीर कुरा धेरैजसोमा सामाजिक एवं सम्बेगात्मक हिसाबले परिपक्वता नै नभएको जस्तो आभाष हुन्छ। कुनै विषयवस्तुलाई गम्भीर विश्लेषण नगरीकन छुद्र शब्दहरु प्रयोग गरेर चिच्याउने युवाहरुले देश परिवर्तन गरिहाल्छन् कि भनेर विश्वास गरिहाल्नु पनि बेकार हुन सक्छ। केही समयअघि साझा पार्टीबाट अलग हुनुभएका पूर्वाधार विज्ञ डा.सूर्यराज आचार्यले पनि यस्तै आसय ब्यक्त गर्नुभएको थियो।

त्यसैले युवालाई जिम्मेवारी दिनुअगावै आफ्नो पुस्ता र आफैले गरेका गल्तीहरु स्वीकारेर युवाहरुलाई सभ्य र अनुशाशित हुन उत्प्रेरणा जगाउनु जरुरि छ। उर्जाशील युवालाई ध्वंसात्मक कुराका लागि उत्तेजित नगराई अनुशासित भएर सृजनात्मकतातिर समर्पित हुन आग्रह गर्नुहोस । सबै दलहरुले युवाहरुलाई आफ्नो लौरीका रुपमा प्रयोग नगर्नुहोस। सेवाभावले राजनीतिमा आउन चाहने युवाहरुलाई राजनैतिक धरातलको निर्माण तथा अध्यनमा लाग्न दिनुस। राजनैतिक धारातल नभएका तर कुनै क्षेत्रमा विज्ञता तथा अनुभव संगालेकालाई अवसर दिन राजनैतिक धरातल नखोजिकन काम गर्ने स्थान दिनुस र ढुक्क भएर काम गर्ने बातावरण बनाइदिनुस।

उदाहरणका लागि केही समय अगाडि एउटा टेलिभिजन अन्तर्वार्तामा पूर्वाधारबिद डा सूर्यराज आचार्यले आफूलाई अवसर दिए ६ महिनामै देशको पूर्वाधार क्षेत्रको नक्साङ्कन गर्ने सक्ने भिजन र क्षमता आफूसंग भएको कुरा ब्यक्त गर्नु भएको थियो। तपाईंहरुले वर्षौसम्म नयाँ नयाँ वाद र राजनैतिक धरातल निर्माण गर्ने क्रममा देश र जनतालाई प्रयोगशालाका रुपमा प्रयोग गर्ने हुन्छ र कसै कसैले ३/४ पटकसम्म देशको कार्यकारी पदमा असफल भइसकेर पनि अझै अवसर पाए गर्छु भन्न कुनै संकोच लाग्दैन भने सूर्यराज र त्यस्तै विभिन्न क्षेत्रका विज्ञहरुलाई उनीहरुको राजनैतिक धरातलको जाँचबुझ नगरी सबन्धित क्षेत्रमा उनीहरुले मागेको समय अवधिसम्म काम गर्न दिँदा देशले सर्वस्व गुमाउँछ जस्तो लाग्दैन।

यदि २०३० सम्म दिगो विकासमा योगदान पुर्याउन सक्ने र देश हाँक्न सक्ने सक्षम युवा तयार गर्ने हो भने कम्तिमा पनि २०२५ सम्ममा सबै युवालाई विभिन्न दलका नेताहरुको पुच्छर नभएसम्म नेतृत्वका लागि अगाडि बढ्न असम्भव हुने परिपाटीलाई पुरै विस्थापित गरी अधिकतम नागरिकको हित हुने विषयमा स्वविवेकले निर्णय गर्न सक्ने अनुशासित, सभ्य र सुसंस्कृत बनाउने लक्ष्य राखेर त्यहीअनुसारको प्रशिक्षण र अभ्यास गर्ने हो कि?

तपाईं ठूलो मान्छे भए पनि कहिलेकाहीँ झिना मसिना मान्छेहरुको पनि कुरा सुन्ने भएकोले, आफ्ना समकालीन नेताहरुको तुलनामा बढी नै अध्ययनशील पनि रहेकाले तथा युवा नेतृत्व सम्बन्धी चासो ब्यक्त गरिरहने हुँदा हामी आवाज नसुनिने नागरिकका कुराहरु तपाईंका समकालीन राजनीतिक दलहरुसमक्ष राखी युवाहरुलाई नेतृत्वको चाबी हस्तान्तरण गर्नुभन्दा अगाडि नै उनीहरुको मस्तिष्कमा सुसंस्कारको बिउ रोप्ने पहल गरेको देख्न पाउनु मेरो मात्र नभएर देश समृद्ध भएको देख्न चाहने आम नागरिकको अपेक्षा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment