+
+

नेपालमा पुस्तकालय : इतिहास र वर्तमान

किशोर पौडेल किशोर पौडेल
२०७७ भदौ १६ गते ११:५९

संस्कृत भाषाको पुस्तक+आलयको संयोजनबाट ‘पुस्तकालय’को संरचना भएको पाइन्छ जसको अर्थ पुस्तकहरूको घर भन्ने हुन्छ भने अंग्रेजी भाषाको Library ल्याटिन भाषाको Liber बाट आएको र जसको अर्थ पनि पुस्तक हुन्छ ।

पुस्तकालयमा पुस्तकको मात्र संकलन रहने परम्परागत अवधारणामा व्यापकता आई हाल पुस्तकालयमा पुस्तकका अतिरिक्त सूचना प्रदान गर्ने सामग्रीहरूको संग्रह रहेको पाइन्छ । नेपालमा पुस्तकालयको इतिहास धेरै लामो नभएता पनि पछिल्लो समयमा यसको महत्त्व भने बढिरहेको देखिन्छ ।

मानव सभ्यताको थालनी सँगसँगै मानवमा चेतनाको उद्भव भएकोले नै मानवलाई चेतनशील प्राणी मानिन्छ । भाषाको सुरुवात नभएको तत्कालीन समयमा सूचना आदानप्रदान गर्न सांकेतिक रुप र त्यसलाई लिपिबद्ध गर्न माटो, ढुंगा, जनावरको छाला, रुखविरुवाका पात र बोक्रा आदिमा विभिन्न चित्रात्मक संकेतको प्रयोग गर्न थालियो ।

घुमन्ते फिरन्ते जीवनबाट जब मानिस स्थायी बसोबास गरी सामाजिक प्राणीको रुपमा रहन थाल्यो तत्पश्चातका सामग्रीहरूलाई भने धार्मिक प्रतिष्ठानहरूमा भविष्यको प्रयोजनको लागि भनेर संरक्षण गर्न थालिएता पनि तत्कालिन समयमा त्यसलाई पुस्तकालयको रुपमा नामाकरण गरिएन । चेतनाको विस्तार तथा विज्ञानको तीव्रतर विकासले कागज (सन् १०५, चीन) तथा प्रेसको आविष्कार (सन् १४४०, जर्मन) पश्चात शिक्षा आर्जनको आवश्यकता र सोको संरक्षणको क्षेत्रमा गुणात्मक परिवर्तन भएको पाइन्छ ।

किशोर पौडेल

पछिल्लो शताब्दीमा सूचना प्रविधिको क्षेत्रमा भएको उल्लेखनिय प्रगतिले गर्दा हिजोको क्ले–ट्याब्लेट (माटोमा चित्रात्मक संकेत दिने समय) देखि आजको ई–ट्याब्लेट (सूचना प्रविधिको समय) सम्मको अवस्थालाई तुलना गर्दा पुस्तकालयको परिभाषामा नै परिवर्तन भएको पाइन्छ ।

हिजोको चार दिवारभित्रको स्थायी प्रकृतिको पुस्तकालयको मात्र अस्तित्व रहन्छ भन्ने धारणामा आमूल परिवर्तन आई आज पर्खालविनाको पुस्तकालय (डिजिटल/भर्चुअल लाइब्रेरी) र घुम्ती पुस्तकालय (सवारी साधनमा पुस्तक राखी डुलाइने प्रविधि, मोबाइल लाइब्रेरी) को अस्तित्वले गर्दा प्रयोगकर्ताले चाहेको निमेषमा आफ्नै हातमा सूचना उपलब्ध हुन सक्ने समयको विकास भएको छ ।

नेपालको पुस्तकालयको इतिहास

परापूर्वकालमा गुरुकुल शिक्षाका साथसाथै मन्दिर, विहार, गुठी तथा गुम्बाहरूमा शिक्षा दिने प्रचलन रहेको र सोही स्थानहरूमा ताम्रपत्र, भोजपत्र, शिलालेख जस्ता हस्तलिखित सामग्रीहरूको संग्रह गर्ने गरेको इतिहास पाइन्छ । मल्लकालीन (नेपालको एकीकरणपूर्वको बाइसे चौबिसे राज्यकालीन) समयको राजधानी भक्तपुरमा ‘सकोठा’ नामक पुस्तकालयको अस्तित्व रहेको पाइन्छ । एकीकरण पश्चात पृथ्वीनारायण शाह (१७७९–१८३१) ले विभिन्न राज्यबाट प्राप्त भएका बहुमूल्य हस्तलिखित पाण्डुलिपिहरूलाई वि.सं. १८२७ तिर काठमाडौंको हनुमानढोका दरबारमा संकलन गरी राख्न लगाए ।

पृथ्वीनारायण शाहका पनाति गीर्वाणयुद्धविक्रम शाह (१८५४–१८७३) को समयमा बल्ल नेपालमा एउटा पुस्तकालय सम्बन्धी नियम बनाई वि.सं. १८६९ भाद्र १५ गते ‘पुस्तक चिताई तहबिल’ नामक नेपालको प्रथम औपचारिक पुस्तकालयको स्थापना भएको मानिन्छ (निरौला, यादवचन्द्र) । राजेन्द्र विरविक्रम शाह (१८७०–१९३८) ले पनि वि.सं. १८९८ (सन् १८४१ ) तिर उक्त पुस्तकालयमा पुस्तकहरू थप्दै गएकाले शाह राजाहरू शिक्षाप्रति उदार भएको देखाउदँछ (कार्की, मधुसुदन) । तत्कालीन समयमा उक्त पुस्तकालयमा राजघरानाका सदस्य तथा उच्च विदेशी पाहुनाहरूको मात्र पहुँच रहन्थ्यो ।

राणाकालीन समयमा पनि शिक्षा तथा पुस्तकालयको क्षेत्रमा केही कार्य भएको देखिएता पनि त्यसले समाजमा उल्लेख्य परिवर्तन भने ल्याउन सकेको थिएन । जंगबहादुर राणाले हनुमानढोकामा रहेका सामग्रीहरूलाई थापाथली स्कुलमा स्थानान्तरण गरी ‘मुन्सिखाना’ र ‘जैसिकोठा’मा विभाजन गरी राखेका थिए । वि.सं. १९१० (सन् १८५४) मा दरबार स्कुलको स्थापना पश्चात विर शमशेरले थापाथली जैसिकोठामा रहेका सामग्रीहरूलाई दरबार स्कुलमा स्थानान्तरण गर्न लगाए । उनले वि.सं. १९५७ (सन् १९००) मा ‘विर लाइब्रेरी’को स्थापना गर्न लगाई व्यवस्थित रुपमा पुस्तकहरुको संग्रह गर्न लगाए भने देव शमशेरले सन् १९२८ मा उक्त पुस्तकालयलाई सर्वसाधारणको लागि खुल्ला गराएका थिए ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीले आफ्नो निजी निवासलाई ट्रष्ट मातहत रहने गरी नेपाल सरकारलाई हस्तान्तरण गरी सोही भवनमा पुस्तकालय निर्माण कार्य अगाडि बढाइ त्यसको निरीक्षण गर्न जानु र पुस्तकालयमा प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि हुनु पछिल्लो समयका सुखद र सकारात्मक पक्ष हुन्

सन् १९१८ मा स्थापित त्रिचन्द्र कलेजमा पनि पुस्तकालयको व्यवस्था गरियो । त्यस्तै वि.सं. १९७७ (सन् १९२०) को “मकै पर्व”, वि.सं. १९८६ (सन् १९३०) को “लाइब्रेरी पर्व” का घटनाहरू घटिनु र डेनियल राइटले “नेपालमा स्कुल र कलेजको विषयलाई आयरल्याण्डमा सर्पलाई गर्ने जस्तो व्यवहार गरिन्छ” भनेर उल्लेख गरिनुले तत्कालीन राणाशासकको शिक्षा र पुस्तकालयप्रतिको धारणा प्रष्ट बुझिन्छ ।

राणाशासनको बेलामा व्यक्तिगत प्रयोजनका लागि भनेर स्थापित पुस्तकालयहरुको अत्यन्तै ठूलो महत्व रहेको पाइन्छ । चन्द्र शमशेरका छोरा केशर शमशेर (१८९२–१९६४) ले वि.सं. १९६५ (सन् १९०८) बाट, राणा प्रधानमन्त्रीका राजगुरु हेमराज पाण्डेले सन् १९१० तिरबाट र सिंह शमसेर ज.ब.रा ले पनि सोहीताकाबाट पुस्तकहरुको संकलन गर्न थालेका थिए । तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले सन् १९५२ र १९६० मा केशर पुस्तकालयको भ्रमण गरेका थिए । सिंह शमशेरको पुस्तकालय पछि त्रि.वि. पुस्तकालयलाई हस्तान्तरण गरियो र हाल त्रि.वि. पुस्तकालयभित्र सिंह कलेक्सनको नाममा परिचित छ ।

वि.सं. १९६६ मा राममणि आदीले भंसारहिटी टंगाल ग्रैहीधारामा शान्ति निकेतन पुस्तकालयको स्थापना, जनस्तरबाट वि.सं. १९८३–८४ तिर पाल्पामा पुस्तक पढ्ने दलानको स्थापना र वि.सं. २००१–२००२ तिर सार्वजनिक पुस्तकालयको रुपमा धवल पुस्तकालयको स्थापना गरेको पाइन्छ । धवल पुस्तकालयमा तत्कालीन राजा महेन्द्र र महाकवि देवकोटाले समेत भ्रमण गरेकाले यस पुस्तकालयको महत्व प्रष्ट झल्किन्छ ।

त्यसैगरी सन् १९४३ मा सर्वोच्च अदालत लाइब्रेरीको स्थापना, सन् १९४६–४७ तिर विराटनगरमा आदर्श पुस्तकालय, बुटवलमा महाविर लाइब्रेरी, काठमाडौंमा प्रदिप्त पुस्तकालय, धरानमा सामुदायिक विद्या भवन पुस्तकालय, सर्लाहीमा मनोहर मोहन पुस्तकालय, बाग्लुङमा विद्यामन्दिर पुस्तकालयसहित केही दर्जन पुस्तकालयको मात्र स्थापना भएको पाइन्छ जसमध्ये पनि धेरैजसो जनस्तरबाट स्वतस्फूर्त रुपमा स्थापना गरिएका थिए ।

वि.सं. २००७ सालको परिवर्तन पश्चात नेपालमा पुस्तकालयको संख्यामा उल्लेख्य वृद्धि भएको पाइन्छ । सन् १९५१ मा भारतीय दूतावासको सहयोगमा नेपाल-भारत मैत्री पुस्तकालयको स्थापना र सन् १९५२ मा अमेरिका र बेलायती दूतावासको सहयोगमा मिसन पुस्तकालयहरूको स्थापना भए ।

गुरुजु पुस्तकालयलाई नेपाल सरकारले खरिद गरी नेपाल राष्ट्रिय पुस्तकालय (वि.सं. २०१३) को स्थापना, साहित्यिक कृतिको संरक्षणको लागि मदन पुरस्कार पुस्तकालय (वि.सं. २०१३) को स्थापना, शैक्षिक पुस्तकालयको रुपमा त्रि.वि. पुस्तकालय (वि.सं. २०१६) लगायत अन्य थप दशवटा विश्वविद्यालयका पुस्तकालयहरू, सयौं कलेज र हजारौं स्कुलमा पुस्तकालयहरू थपिए ।

व्यक्तिगत प्रयोगका लागि स्थापित केशर पुस्तकालय वि.सं. २०२५ (सन् १९६८) मा नेपाल सरकारलाई हस्तान्तरण गरिनु र डिल्लीरमण कल्याणी स्मृति पुस्तकालय सर्वसाधारणको लागि खुल्ला गरिनु यो समयका उपलब्धिमूलक कार्य रहे । सामुदायिक पुस्तकालयको रुपमा काठमाडौंमा, काठमाडौं भ्यालि सार्वजनिक पुस्तकालय (वि.सं. २०६२), ललितपुरमा AWON (Active Women of Nepal) Library (सन् १९५६), काभ्रेको पनौतीमा ज्ञानविकास सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, चितवनमा झुवानी सामुदायिक पुस्तकालय (सन् २००१) जस्ता नमुना पुस्तकालयको स्थापना हुनुले समुदाय स्तरमा पुस्तकालयको महत्व तथा प्रयोग बढेको देखिन्छ ।

विशेष पुस्तकालयको रुपमा नेपाल राष्ट्र बैंक पुस्तकालय (सन् १९५७), केन्द्रीय कानून पुस्तकालय (सन् १९९३) लगायत विभिन्न मन्त्रालय र संस्थान भित्रका सोही संस्थाका कर्मचारी, प्रयोगकर्ता र सोही क्षेत्रमा रुचिकर व्यक्तिलाई लाभान्वित गरेको पाइन्छ । त्यस्तै यो समयमा देशका विभिन्न भागमा हजारौं संख्यामा पुस्तकालयहरूको स्थापना भएको पाइन्छ र ती पुस्तकालयमा सर्वसाधारण जनताको समेत सहज पहुँच भएको हुनाले प्रयोगकर्ताले पुस्तकालयबाट उल्लेख्य फाइदा लिएको देखिन्छ ।

विश्वमा पुस्तकालयको व्यापकता

विश्वका विकसित राष्ट्रहरूमा पुस्तकालयलाई अत्यन्त महत्व दिएको पाइन्छ । उनीहरू विकसित हुनुमा पुस्तकालयको प्रत्यक्ष तथा परोक्ष योगदानसमेत रहेको देखिन्छ । विश्वको ठूलो पुस्तकालय अमेरिकाको लाइब्रेरी अफ कंग्रेस (सन् १८००) मा ४७० भन्दा बढिीभाषाका १७ करोडभन्दा बढी पुस्तकादि सामग्री रहेका छन् भने ३१०० भन्दा बढीलाई रोजगार प्रदान गरी वार्षिक लाखौंलाई प्रत्यक्ष र करौडौंलाई वेबपेज वा इन्टरनेट मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यहाँका प्राय राजनीतिज्ञदेखि राष्ट्रपतिसम्मले बेला-बेलामा पुस्तकालयको भ्रमण गरिरहेको सुन्न पाइन्छ । ब्रिटिस लाइब्रेरी, लण्डन, विव्लियोथिक नेसनल, फ्रान्स, सांघाई लाइब्रेरी, चीन तथा भारतको राष्ट्रिय पुस्तकालयमा समेत करोडौंको संख्यामा पुस्तकादि सामग्रीहरूको संकलन रहेको पाइन्छ । विकसित देशमा ठूला ठूला पुस्तकालय रहनु, धेरै संख्यामा सामग्रीहरूको संकलन रहनु, प्रयोगकर्ताको संख्या उच्च रहनु, राजनीतिज्ञ, कर्मचारी, विद्यार्थीदेखि बालबालिकासम्मको पुस्तकालयमा पहुँच रहनुले उनीहरूमा पुस्तकालय एउटा संस्कारका साथै जीवनको एक अभिन्न पाटोको रुपमा विकसित हुँदै गएको पाइन्छ ।

स्तम्भकार स्वयं मलेसियाको Sunway University Library, फिलिपिन्सको National Library of the Philippines लगायत सिंगापुर र थाइल्याण्डका केही पुस्तकालयको भ्रमण गर्दा त्यहाँको पठन संस्कृति, राज्यले पुस्तकालयलाई हेर्ने नजर र पाठकको सक्रिय उपस्थिति देख्दा नेपाली पुस्तकालय बल्ल शैशवास्थामै रहेको अनुभूति गरेको थियो । सन् १८८७ बाट कोलम्बिया विश्वविद्यालयले पुस्तकालयलाई छुट्टै विधाको रुपमा स्विकार गरि पठनपाठन शुरु गर्नु, सन् १९२९ बाट छिमेकी राष्ट्र भारतका विश्वविद्यालयमा र नेपालमा त्रि.वि.ले पनि सन् १९९५ (वि.सं. २०५२) बाट स्नातक र सन् २००२ (वि.सं. २०५९) बाट स्नातकोत्तर तहको पठनपाठन शुरु गरेपश्चात पुस्तकालय क्षेत्रमा दक्ष जनशक्तिको उत्पादन तथा प्रवेश भएको पाइन्छ ।

पुस्तकालय विज्ञानका चर्चित व्यक्तित्व मेलबिल डिबे, एस.आर. रंगनाथन आदिले पुस्तकालय विज्ञानलाई छुट्टै विधाको रुपमा स्थापित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ ।

पुस्तकालय क्षेत्रमा देखिएका सुधार

त्रि.वि. ले सन् १९९० को दशकबाट र काठमाडौं विश्वविद्यालय पुस्तकालयले सन् २००५ बाट इन्टरनेट सेवा र कम्प्युटर सूचीकरणको थालनी गरेपछि नै नेपालका पुस्तकालयहरू अटोमेसन प्रविधिमा अगाडि बढेको देखिन्छ ।

‘रामको जन्मभूमि चितवनको माडिस्थित अयोध्यापुरी नै हो २०७८ को दशैंसम्ममा भव्य मन्दिर बनाउनू’ भनेर निर्देशन दिन सक्ने प्रधानमन्त्रीले २०७८ को पुस्तकालय दिवससम्म राष्ट्रिय पुस्तकालय निर्माण गर्नुस् भनेर निर्देशन दिन किन नसक्ने ?

सन् २०१३ बाट अमेरिकन लाइब्रेरीले घुम्ती सेवाको रुपमा मोबाइल लाइब्रेरी (बुकबस, बुकटुक) को प्रचलन ल्याउनु, जम्मा १२०० वटा पुस्तकबाट पुस्तकालयको थालनी गरेको त्रि.वि पुस्तकालयमा ४ लाखभन्दा बढी पुस्तक पुग्नु, गाउँगाउँमा पुस्तकालयहरू खुल्नु, रुम टु रिड, रिड नेपाल जस्ता संस्थाले पुस्तकालयको स्थापनमा सहयोग गर्नु, HealthNet Nepal ले पुस्तकालय अटोमेसनमा टेवा पुर्याउनु, पुस्तकालयसँग सम्बन्धित विभिन्न संघ संस्था (नेपाल पुस्तकालय संघ–१९८०, तुलसा–१९९९, भक्तपुर पुस्तकालय संघ–२००७, लिमिसेक–१९९८, लिसा–२००७ आदि) को स्थापना र क्रियाशिलता बढ्नु, ठूला र स्थापित पुस्तकालयहरूले डिजिटल सेवा प्रदान गर्न थाल्नु, पुस्तकालय क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका, कमलमणि दीक्षित, शान्ति मिश्र, इन्दिरा दली लगायतका व्यक्ति र रिड नेपाल, युनेस्को जस्ता संस्थालाई नेपाल पुस्तकालय संघबाट पुरस्कृत गरी हौसला प्रदान गरिनु, केशर पुस्तकालयको शतवार्षिकी २०६५ मा हुलाक टिकट प्रकाशन गरी राज्यस्तरबाट पुस्तकालयप्रति सम्मान देखाइनु, प्रधानमन्त्री के.पी. शर्मा ओलीले आफ्नो निजी निवासलाई ट्रष्ट मातहत रहने गरी नेपाल सरकारलाई हस्तान्तरण गरी सोही भवनमा पुस्तकालय निर्माण कार्य अगाडि बढाइ त्यसको निरीक्षण गर्न जानु र पुस्तकालयमा प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि हुनु पछिल्लो समयका सुखद र सकारात्मक पक्ष हुन् ।

केही पनि नहुनुभन्दा केही हुनु पक्कै पनि राम्रो भए तापनि यत्तिमा मात्रै सन्तुष्ट हुने आधार भने पक्कै छैन ।

पुस्तकालय दिवस

विश्वका विभिन्न देशमा पुस्तकालय क्षेत्रमा योगदान गरेका व्यक्तिको सम्झना अथवा देशमा स्थापना भएको पहिलो पुस्तकालयको सन्दर्भ पारेर पुस्तकालय दिवस मान्ने प्रचलन पाइन्छ । भारतमा एस.आर रंगनाथनलाई पुस्तकालय विज्ञानका पिताका रुपमा चिनिन्छ र उनैको जन्मदिन अगस्ट १२ लाई पुस्तकालय दिवसको रुपमा मनाइन्छ ।

त्यस्तै स्पेनमा २४ अक्टुबर, पाकिस्तानमा २० फेब्रुअरी, बेलायतमा ८ फेब्रुअरी, रसियामा मे २७ लाई पुस्तकालय दिवसको रुपमा मान्ने आ–आफ्नै प्रचलन रहेको छ । नेपालमा भने वि.सं. १८६९ भाद्र १५ गतेका दिन ‘पुस्तक चिताई तहबिल’ मा लालमोहर जारी (प्रथम औपचारिक पुस्तकालयको स्थापना) गरेको दिनको सम्झनामा भाद्र १५ लाई पुस्तकालय दिवसका रुपमा मनाउन थालियो । त्रि.वि. पुस्तकालय तथा सूचना विज्ञान विभागमा अध्ययनरत विद्यार्थीहरुको संगठन (LISSA) को पहलकदमी र TULSSAA, NLA, TUCL आदिको सक्रिय सहभागितामा स्वतन्त्ररुपमा पुस्तकालय दिवस मनाउने प्रचलनको थालनी वि.सं. २०६५ बाट गरियो । वि.सं. २०६८ बाट नेपाल सरकारले औपचारीक रुपमा मान्यता दिई सरकारीरुपमा नै मनाउन थालियो ।

जम्मा १९ वर्षको जीवन बाँचेका गीर्वाणयुद्धविक्रम शाहले पहिलो पुस्तकालय सम्बन्धी नियम बनाई पुस्तकालयको स्थापना गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरी पुस्तकालयको क्षेत्रमा अजेय रहने कार्य गरेकाले उनको सम्झना स्वरुप सोही भाद्र १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउने प्रचलनको थालनी झण्डै दुई शताब्दीपछिबाट सुरु गरेतापनि यसलाई सह्रानीय कार्य मान्नुपर्दछ । ‘सबैका लागि पुस्तकालय’ भन्ने नाराबाट सुरु भएको पहिलो पुस्तकालय दिवसले १२ औं संस्करण पार गरी ‘समाज रुपान्तरणका लागि पुस्तकालय’ को नारासहित १३ औं पुस्तकालय दिवस विविध कार्यक्रम सहित मनाइरहेको छ ।

पुस्तकालय दिवसको (अ) सान्दर्भिकता

नेपालमा पुस्तकालय दिवसको आवश्यकता महसुस गरी भाद्र १५ लाई सरकारी दिवसको रुपमा मान्यता दिलाई सरकारी भित्तेपात्रोमा उल्लेख गराउन सक्नु, हरेक विद्यालयमा पुस्तकालयको व्यवस्था गर्न पहल गराउनु पुस्तकालय दिवसका मुख्य उपलब्धी हुन् ।

त्यस्तै पुस्तकालय अभियन्तालाई सम्मान, पुस्तकालयकर्मीहरुको सम्मेलन, स्मारिका प्रकाशन लगायत विविध कार्यक्रमहरु संचालन गराई देशव्यापी रुपमा पुस्तकालयप्रति सचेतना जगाउनु पनि यसका उपलब्धी हुन् भने देशको गहना र पहिचानका रुपमा रहने राष्ट्रिय पुस्तकालय निर्माणको लागि स्थान (जमल) छनोट भई बजेट समेत छुट्टयाए पश्चात अकस्मात स्थगित गरी विवाद सिर्जना गरिँदा, वि.सं. २०७२ को महाभुकम्पले क्षतिग्रस्त भएका पुस्तकालयमा स्थान अभावको कारणले पुस्तकादि सामग्रीहरूको उचित संरक्षण हुन नसकी इतिहास मेटिने सम्भावना रहँदा, पुस्तकालय सम्बन्धी नीतिको अभाव हुँदा त्यसको लागि उचित पहल गर्न नसक्नु यसका कमजोरी हुन् ।

त्यस्तै राज्यस्तरबाट पुस्तकालयलाई त्यति महत्व नदिइनुले भोलिका देशका कर्णाधारले फराकिलो रुपमा ज्ञानको उपभोग गर्न पाउने सम्भावना नरहनु, आधुनिक युग सुहाउँदो भर्चुअल तथा डिजिटल लाइब्रेरीको अवधारणामा अगाडि बढ्न नसक्नु, प्रयोगकर्तामा पुस्तकालय संस्कारको विकास नहुनु यस क्षेत्रका चुनौती हुन् ।

तसर्थ पुस्तकालय दिवसले यी समस्याहरुको समाधानका लागि सरकार, नियामक निकाय, सरोकार निकायलाई दबाव सिर्जना गरी प्रयोगकर्तामा पुस्तकालय संस्कारको वृद्धि गराई पुस्तकालयकर्मीको मात्र दिवसको रुपमा भन्दा समग्र पुस्तकप्रेमी तथा पाठकको उत्सवको रुपमा वृद्धि गर्न सकेमा मात्र यसको सान्दर्भिकता पुष्टि हुनेछ ।

र, अन्त्यमा ‘रामको जन्मभूमि चितवनको माडिस्थित अयोध्यापुरी नै हो २०७८ को दशैंसम्ममा भव्य मन्दिर बनाउनू’ भनेर निर्देशन दिन सक्ने प्रधानमन्त्रीले २०७८ को पुस्तकालय दिवससम्म राष्ट्रिय पुस्तकालय निर्माण गर्नुस् भनेर निर्देशन दिन किन नसक्ने ?

लेखकको बारेमा
किशोर पौडेल

डेढ दशकदेखि प्रकाशन क्षेत्रमा आबद्ध लेखक त्रिवि पुस्तकालय तथा सूचना विज्ञान विभागमा अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?