+
+
Shares

पुस्तकालयमा यत्तिकै राखिएको किताब जब सक्कली म्याग्ना कार्टा भएको पत्ता लाग्यो…

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते १४:०८

अमेरिकाको हार्वर्ड ल कलेज पुस्तकालयमा ८० वर्षदेखि राखिएको एउटा पुस्तक ७ सय वर्षअघि प्रकाशित भएको महाअधिकारपत्र अर्थात् म्याग्ना कार्टाको सक्कल प्रति भएको पत्ता लागेको छ ।

दशकौंसम्म प्रतिलिपि ठानेर पुस्तकालयको पुस्तक कुञ्जिकामा अभिलेखीकृत सो दस्तावेज सन् १३०० मा बेलायतका राजा एडवर्ड प्रथमले जारी गरेको म्याग्ना कार्टाको दुर्लभ मूल प्रति भएको पुष्टि भएको हो।

सो कागजात हार्वर्डले सन् १९४६ मा लन्डनका पुस्तक व्यापारी Sweet & Maxwell बाट केवल २७ डलर ५० सेन्टमा खरिद गरेको थियो। त्यसअघि उक्त दस्तावेज पुस्तक व्यापारीहरूले लिलामीका क्रममा पहिलो विश्वयुद्धका एकजना पाइलटबाट ४२ पाउण्डमा खरीद गरेका थिए ।

हार्वर्ड पुस्तकालयले उक्त पुस्तकलाई सन् १३२७ मा राजा एडवर्ड तेस्रोको पालामा तयार पारिएको म्याग्ना कार्टाको प्रतिलिपि भनेर सूचीकृत गरिएको थियो ।

तर, हालै, किंग्स कलेज लण्डनका इतिहासविद् प्रा. डेविड कार्पेन्टरले हार्वर्डको वेबसाइटमा स्क्यान गरिएका संस्करणहरू अध्ययन गर्दै जाँदा सो दस्तावेज फगत प्रतिलिपि नभई सन् १३०० मा जारी गरिएको मूल म्याग्ना कार्टा हुनसक्ने निष्कर्षमा पुगे। त्यसपछि उनले University of East Anglia का प्राध्यापक निकोलस भिन्सेन्टसँग मिलेर विस्तृत अध्ययन गरे। अन्ततः उक्त अनुसन्धान र परीक्षणबाट सो दस्तावजेको प्रामाणिकता पुष्टि भयो।

यो खोजसँगै हार्वर्डसँग रहेको सो म्याग्ना कार्टा अब विश्वमा रहेका २५ वटा मूल प्रतिमध्ये एक बनेको छ। सन् १३०० को यो संस्करण अन्तिमपटक राजाको छापसहित एकल कागजमा जारी गरिएको थियो। यसअघि सन् २००७ मा म्याग्ना कार्टाको एउटा प्रति २ करोड १३ लाख डलरमा बिक्री भएको थियो।

प्रा. कार्पेन्टरले भनेका छन्ः हार्वर्डजस्तो संस्थाले यस्तो महत्वपूर्ण दस्तावेज दशकौँसम्म ‘सामान्य प्रतिलिपि’ ठानेर राख्नु अचम्मको कुरा हो।

उनले हार्वर्डको म्याग्ना कार्टालाई ‘स्वतन्त्रताको ऐतिहासिक आधारशिला बनेको कागजात’ भन्दै विशेष महत्व दिनुपर्ने बताएका छन्। हार्वर्डले हालसम्म उक्त दस्तावेज बिक्री गर्ने योजना नराखेको जनाएको छ।

स्मरण रहोस् म्याग्ना कार्टा पहिलोपटक सन् १२१५ मा राजा जोनले जारी गरेका थिए, जसले सर्वसाधारण नागरिकलाई कानुनी संरक्षण प्रदान गर्ने व्यवस्था राखेको थियो। यो दस्तावेज आजको आधुनिक लोकतान्त्रिक संविधानको आधारशिला मानिन्छ ।

हालसम्म १२१५ मा जारी म्याग्ना कार्टाका केवल चार सक्कल प्रति मात्रै बाँकी छन् भने सन् १३०० मा राजा एडबर्ड प्रथमले जारी गरेका म्याग्ना कार्टाका सातवटा सक्कल प्रति फेला परिसकेका छन् ।

A librarian is examining the results of imaging technology used on the faded Magna Carta copy. Pic: AP

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?