Comments Add Comment

कोरोना संक्रमणको १२ ‘हटस्पट’

१६ भदौ, काठमाडौं । १६ साउनमा १९ हजार ७७१ रहेको देशभरिको नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या भदौ १५ मा ४० हजार ५२९ पुगेको छ ।

पछिल्लो एक महिनामा नेपालमा २० हजार ७५८ जना संक्रमित थपिएका छन् ।

अचम्म के छ भने यो एक महिनामा थपिएकामध्ये दुई तिहाई भन्दा बढी संक्रमित १२ वटा जिल्लाका छन् । १३ हजार ८२३ अर्थात ६६.५९ प्रतिशत संक्रमित काठमाडौं, ललितपुर, चितवन, रुपन्देही, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, मोरङ र सुनसरीका छन् ।

१२ वटै जिल्लामा प्रतिजिल्ला सक्रिय संक्रमितको संख्या ५०० नाघेको छ । त्यसमध्ये काठमाडौं, पर्सा, सर्लाही र रौतहटमा त संक्रिय संक्रमितको संख्या त्यसको दोब्बर अर्थात् १००० भन्दा बढी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अवैतनिक जनस्वास्थ्य विज्ञ सुरेश तिवारी भन्छन्, ‘यो १२ वटा जिल्ला कोरोना संक्रमण आउट ब्रेक भएको छ । संक्रमणको हटस्टप बनेका जिल्लाहरूमा संंक्रमणको चरण समुदाय स्तरमा पुगेको छ ।’

जनस्वास्थ्य विज्ञ तिवारीले मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा समुदायमा संक्रमण पुगेको पाँच संकेत प्रस्तुत गरेका छन् ।

  •  महिलाहरूमा संक्रमणको दर एक महिना अगाडिसम्म करिव ८ प्रतिशत थियो । त्यो दर सोमबारसम्म ३९ प्रतिशत पुगेको छ । औसतमा २२/२३ प्रतिशत छ ।
  • ज्येष्ठ नागरिक संक्रमित दर पनि बढ्दो छ । यो एकबाट बढेर ४ प्रतिशत पुगेको छ ।
  • पहिला अधिकांश संक्रमित भारत वा तेस्रो मुलुकबाट आएकाहरू थिए । अहिले लगभग ९६ प्रतिशतभन्दा बढी संक्रमित स्थानीय केस देखिएको छ ।
  • मृत्यु दर पनि विस्तारै ज्येष्ठ नागरिक र दीर्घरोगीतिर गएको छ ।
  • पीसीआर टेष्टमध्ये संक्रमण दर ५ प्रतिशतबाट बढेर ८/९ प्रतिशत पुगेको छ ।

गत साउन दोस्रो साता वीरगञ्जमा संक्रमणसँगै मृत्युदर बढ्दा नै जनस्वास्थ्य विज्ञहरूले समुदायस्तरमा संक्रमण फैलिएको संकेत देखिएको भन्दै ध्यानाकर्षण गराएका थिए । वीरगञ्जमा कोरोना संक्रमितहरूको उपचारमा जुटेका स्वास्थ्यकर्मीहरूले पनि त्यही भन्दै आएका थिए । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ‘क्लस्टर केस’ भनिरह्यो ।

त्यसपछि सप्तरीको राजविराज, मोरङको विराटनगरमा संक्रमणको दरसँग मृत्युका घटना देखिए । मंगलबार आइपुग्दा १२ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० नाघेको छ भने अरु थुप्रै जिल्ला त्यसको निकट पुगेका देखिन्छन् ।

प्रदेश १ को मोरङ र सुनसरीबाहेक झापामा पनि समुदाय स्तरमा संक्रमणको संकेत देखिएको छ । प्रदेश २ को सिराहा र सप्तरी, प्रदेश ३ को भक्तपुर र मकवानपुर, गण्डकी प्रदेशको नवलपरासी, प्रदेश ५ को कपिलवस्तु, पाल्पा, गुल्मी, प्युठान, दाङ र बाँके, कर्णाली प्रदेशको सुर्खेत र दैलेख तथा सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा र बझाङमा पनि संक्रमितको संख्या ४०० नाघेको छ । ती जिल्लाहरूमा पनि समुदायस्तरमा संक्रमण फैलिने जोखिम रहेको जनस्वाथ्यका जानकारहरू बताउँछन् ।

जनस्वास्थ्य विज्ञ डा. तिवारीका अनुसार स्वास्थ्य मन्त्रालयको छलफलहरूमा समुदाय संक्रमणको तहमा पुगेको तथ्यहरू समेत पेश गरिएको छ । उनले भने, हामीले गएको आइतबारदेखि नै यो प्रमाण दिइरहेका छौं । अब सरकारले पनि भन्नुपर्छ भनेर नै मैले एउटा विज्ञका रुपमा आफ्नो धारणा राखेको हुँ ।’

तर स्वास्थ्य मन्त्रालयले अवैतनिक विज्ञकै तर्कलाई स्वीकार गरेको छैन । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम अहिलेसम्म मन्त्रालयले संक्रमणलाई ‘क्लस्टर केस’ नै भनेको छ ।

‘अहिलेसम्म स्वास्थ्य मन्त्रालयले समुदायमा संक्रमण भयो भने भनेको छैन’ प्रा.डा. गौतमले अनलाइनखबरसँग भने, ‘हामी अध्ययन गर्दैछौ, अध्ययनले त्यो निष्कर्ष निकाल्यो भने हामी पनि समुदायमा संक्रमण भयो भनौंला ।’

अब के गर्नुपर्छ ?

जनस्वास्थ्य विज्ञ तिवारी भने डब्ल्युएचओलाई पर्खिनुको सट्टा तथ्यलाई स्वीकारेर अगाडि बढ्नुपर्ने बताउँछन् ।

‘कुनै समय डब्ल्यूएचओले मास्क लगाउनुपर्दैन भनेको थियो, तर मास्क लगाउँदा जोगिने रहेछ भन्ने त प्रमाणित भयो’ उनले भने, ‘त्यसैले हामीले तथ्यलाई स्वीकार गरेर अघि बढ्नुपर्छ ।’

त्यसैले अब समुदाय संक्रमणलाई १२ जिल्लाबाट बढ्न नदिने रणनीति बनाउनुपर्ने उनको राय छ । ‘परीक्षणलाई वैज्ञानिक बनाउनुपर्छ । लक्षण भएका, संक्रमितको पहिलो सम्पर्कमा आएका र श्वासप्रश्वासमा गम्भीर समस्या भएकाहरुको परीक्षणलाई जोड दिनुपर्छ’ उनले भने ।

सर्वसाधारणले जनस्वास्थ्यका मापदण्डहरु एसएमएस अर्थात साबुन पानीले हात धुने, मास्क लगाउने र भौतिक दूरी कायम गर्नेलाई कडाइका साथ पालना गर्नुपर्ने उनको सुझाव छ ।

सरकारले तीब्र गतिमा आइसोलेसन सेन्टर विस्तार गर्नुपर्छ । डा. तिवारी भन्छन्, ‘काठमाडौंमा १० हजार र प्रत्येक प्रदेशमा ५/५ हजार अटाउने आइसोलेसन केन्द्र बनाउनुपर्छ ।’

लक्षण नभएका मात्र होइन, सामान्य लक्षण भएका संक्रमितहरूलाई अक्सिजन र स्वास्थ्यकर्मीहरू भएको आइसोलेसन सेन्टरमा राख्न सके अस्पताल भर्ना हुने संक्रमितको संख्या घटाउन मद्दत पुग्ने उनको कथन छ । कोरोना भाइरसले जुन गतिमा चेन बनाएको छ, त्यही गतिमा रोकथाम तथा नियन्त्रणको प्रयास नभएका कारण कोरोना संक्रमण बढ्दै गएको उनले बताए ।

साथै भेन्टिलेटरभन्दा आईसीयू शय्या विस्तारलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । तर त्यसअनुसार काम नभएको स्वीकार गर्दै जनश्वास्थ्य विज्ञ डा. तिवारी भन्छन्, ‘कताकता राम्रोसँग समन्वय नसकेको हो कि जस्तो देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment