Comments Add Comment

रक्तदान कार्यक्रममा सहभागी वडाध्यक्षलाई कोरोना

१७ भदौ, काठमाडौं । रक्तदान र बाटो समितिको बैठकमा सहभागी नागार्जुन नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष राजेन्द्र बुढाथोकीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुढाथोकीलाई कोरोना पुष्टि भएपछि नगरपालिकाले सूचना जारी गरी वडाध्यक्षसँग सम्पर्कमा आएका नगरवासीलाई होम क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ ।

नागार्जुन नगरपालिका वडा नं. ६ मा अवस्थित फिटवेल गार्मेन्टले यही भदौ १६ गते (मंगलबार) रक्तदान कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा वडाध्यक्ष बुढाथोकीसहित नगरपालिकाका जनप्रतिनिधिहरु पनि सहभागी थिए । कार्यक्रममा करिब ८० जना सहभागी रहेको बताइन्छ ।

रक्तदान कार्यक्रम गरिएकै दिन साँझ ६ बजे वडा अध्यक्ष बुढाथोकीको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनको भदौ १४ गते आएको पीसीआर रिपोर्ट भने नेगेटिभ थियो ।

नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीले अनलाइनखबरसँग भनिन्, ‘१४ गते रिपोर्ट नेगेटिभ आएकाले उहाँ पनि बिभिन्न कार्यक्रममा सहभागी हुनुभयो । हामी पनि बैठक, छलफलमा सहभागी भयौं । १६ गते रिपोर्ट पोजेटिभ आएपछि हामी सबै क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।’

उनले भनिन्, ‘तीन–चार दिन अगाडि कार्यपालिकाको बैठक बसेर घरमा बस्न नमिल्ने संक्रमितहरुलाई राख्न हरेक वडामा १५ बेडको होल्डिङ सेन्टर बनाउने निर्णय गरेका थियौं । मेरै संयोजकत्वमा समिति बनेको छ । अब त्यो काम पनि प्रभावित हुने हो कि भन्ने चिन्ता छ ।’

नगरपालिकाका अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको काममा खटिँदै आएका वडाअध्यक्ष बुढाथोकी अहिले होम आइसोलेसनमा बसेका छन् ।

साथै नगरपालिका प्रमुख मोहनबहादुर बस्नेत पनि होम क्वारेन्टिनमा बसेका छन् । नगरप्रमुख बस्नेत वडाअध्यक्ष बुढाथोकीसँगै मोटरसाइकल चढेर रक्तदान र बाटो समितिको बैठकमा सहभागी हुन गएका थिए ।

नगरपालिकाले जारी गरेको सूचनामा नगरप्रमुख र वडाअध्यक्षसँग भेटघाट गर्ने सबै नगरबासीहरुलाई आ–आफ्नै घरमा क्वारेण्टिनमा सुरक्षित रहन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment